इन्भेष्टमेन्ट बैंकले पायो एस डेभलपमेन्ट एक्वायरको अन्तिम स्वीकृति




काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक एक्वायर (प्राप्ति) गर्न अन्तिम स्वीकृति पाएको छ ।

नेपाल राष्ट्र बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले एस डेभलपमेन्टलाई एक्वायर गर्न इन्भेष्टमेन्ट बैंकलाई अन्तिम स्वीकृति दिएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

दुई बैंकका अध्यक्षबीच भएको एक्वायर सम्झौताअनुसार सेयर स्वाप रेसियो १ बराबर ०.४१ कायम गरिएको छ । यसको अर्थ अब एस डेभलपमेन्ट बैंकका सेयरधनीले १ सय कित्ता सेयरको बदला इन्भेष्टमेन्ट बैंकको ४१ कित्ता सेयर पाउनेछन् ।

इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७२ ७३ मा खूद नाफा मात्रै २ अर्ब ५४ करोड रुपैयाँ गरेको छ । बैंकको चुक्तापूँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । एस डेभलपमेन्ट बैंकको चुक्तापूँजी १ अर्ब बढी छ ।

अरु संस्थाले पनि पाए मर्जर र एक्वारको अनुमति

त्यसैगरी, मंगलबारको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले भिवोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बीनी फाइनान्स एण्ड लिजिङ कम्पनीलाई एक आपसमा मर्ज हुन अन्तिम स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरी, सिभिल बैंकलाई युनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्सलाई एक्वायर गर्ने अन्तिम स्वीकृति दिएको छ भने देब विकास बैंकलाई साझा विकास बैंक एक्वायर गर्ने सैद्दान्तिक सहमति दिएको छ ।

त्यस्तै, यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकलाई पनि मर्जरको अन्तिम स्वीकृति दिएको छ ।


पुष्प दुलाल