राष्ट्र बैंकले तलबमा प्रश्न गरेपछि जनता बैंकको सीइओ लम्सालले दिए राजिनामा



काठमाडौं । जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले पदबाट राजिनामा दिएका छन् । लम्सालले बिहीबारदेखि लागू हुनेगरी दिएको राजिनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

कार्यकाल २ वर्ष बाँकी भए पनि लम्सालले पदबाट राजिनामा दिएका हुन् ।

तत्कालीन सीइओ डा. रमेश भट्टराईले राजिनामा दिएपछि सञ्चालक समितिले ०७२ जेठ ११ गतेदेखि कार्यभार सम्हाल्नेगरी लम्साललाई सीइओमा नियुक्ति गरेको थियो ।

लम्सालले यसअघि प्रभु बैंक र सानिमा बैंकमा सीइओ भएर काम गरिसकेका छन् । लम्सालसँग २६ वर्ष बैंकिङ गरेको अनुभव छ ।

नेपालको वित्तीय बजार र प्रणालीलाई नजिकबाट चिनेको लम्साल व्यवस्थापनका विज्ञ मानिन्छन्।

‘अध्ययनका लागि अमेरिका जान लागेकाले पदबाट राजिनामा दिएको हुँ,’ लम्सालले क्लिकमाण्डूसँग भने ।

तर, लम्सालले लिएको तलब/भत्ता राष्ट्र बैंकले तोकेको मापदण्डभन्दा बढी भएको भन्दै राष्ट्र बैंकले प्रष्टिकरण लिँदै तलब घटाउन दबाब दिएपछि उनले पदबाट राजिनामा दिएका हुन् ।

राष्ट्र बैंकले बैंकहरुको ३ वर्षको औषत कर्मचारी खर्चको बढीमा ५ प्रतिशत वा संस्थाको गत वर्षको कूल सम्पत्तिको बढीमा ०.०२५ प्रतिशत मात्रै सीइओको तलब/भत्ता हुनुपर्ने व्यवस्था गरेको थियो ।

बैंकले गत आर्थिक वर्षमा २० करोड ५१ लाख, अघिल्लो आर्थिक वर्षमा २१ करोड ५१ लाख र त्यसअघिको आर्थिक वर्षमा १३ करोड ८० लाख गरी ३ वर्षमा ५५ करोड ६४ लाख रुपैयाँ कर्मचारी खर्च गरेको थियो ।

सीइओ लम्सालले गत वर्ष तलब/भत्ताबापत ६६ लाख, सञ्चय कोषबापत ६ लाख ६० हजार, दशैंभत्ता ५ लाख ५० हजार र अन्य भत्तामा ११ लाख ७ हजार गरी बैंकबाट ८९ लाख १७ हजार रुपैयाँ लिएका थिए ।

राष्ट्र बैंकले प्रष्टिकरण सोधेपछि सञ्चालक समितिले तलब घटाउन दबाब दिँदै आएको थियो ।

खाइपाइ आएको तलब घटाउन दबाब परेपछि लम्सालले पदबाट राजिनामा दिएका हुन् । लम्सालले जनता बैंकबाट तलब र भत्ताबापत मासिक साढे ५ लाख रुपैयाँ बुझ्दै आएका थिए ।

बैंकका सीइओहरुको लतब धेरै भएको भन्दै  डा. युवराज खतिवडा गभर्नर भएको पालामा राष्ट्र बैंकले सीइओहरुको तलब/भत्ता नियन्त्रण गर्ने नीति लिएको थियो ।

यो नीति लागू हुँदा खाईपाई आएको तलब र भत्तालाई भने उक्त व्यवस्था आकर्षित नहुने राष्ट्र बैंकको व्याख्या छ । तर, नयाँ सीइओहरुको हकमा भने यो मापदण्ड लागू हुँदै आएको छ ।

सीइओको तलब/भत्तासम्बन्धी निर्देशिका खुला बजार अर्थनीतिको बिपरित भएको भन्दै बैंकरहरुले तीब्र आलोचना गर्दै आएका छन् ।

सीइओको तलबभत्ता सम्बन्धी निर्देशिका पढ्न यहाँ क्लिक गर्नुहोस्


पुष्प दुलाल