प्रचण्डले भने- म पनि भरतपूरमा पुन मतदान होइन, मतगणना गर्नुपर्छ भन्ने पक्षमै हो



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू व्यक्तिगतरुपमा भरतपुर वडा नं. १९ मा पुन मतदान भन्दा मतगणना गर्नपर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।

मंगलबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै प्रचण्डले आफू व्यक्तिगतरुपमा मतगणना नै गर्नुपर्छ भन्ने पक्षमा रहेको तर निर्वाचन आयोगले पुन निर्वाचन गर्नुपर्छ भनेको उनले प्रष्ट पारे ।

‘म पनि तपाईं (केपी ओलीजी) ले भनेको कुरामा सहमत छु, तर तपाईं हामीभन्दा माथि विधि छ, प्रक्रिया छ,’ प्रचण्डले प्रश्न गरे,– ‘विधि र प्रक्रिया अनुसार काम अघि बढिरहेको छ, तपाईंहरु किन नानाथरी प्रचार गरिरहनुभएको छ ?’

एमाले अध्यक्ष ओलीको दम्भ बढी भएको भन्दै यस्तो दम्भ नदेखाउन प्रचण्डले आग्रह गरे ।

‘निर्वाचन आयोगको क्षेत्राधिकार मिचेर किन संसद अबरुद्ध गर्नुभो ?’ उनले प्रश्न गरे ।

भरतपुरमा मतपत्र च्यात्ने जो घटना भयो, त्यो दुखद छ गलत भएको प्रचण्डले बताए ।

‘मैले त्यो घटना सुन्नेवित्तिकै निर्वाचन आयोगलाई बोलाएर भनेको थिएँ कि तपाइहरुलाई जे मन लाग्छ त्यही गर्नुहोस्, मतपत्र च्यात्नु गलत हो भनेर,’ प्रचण्डले भने ।

भरतपुरमा मतपत्र च्यातिनुभन्दा ५/६ दिन अघि आफूले महानगरकी मेयरी उम्मेद्वार रहेकी आफ्नी छोरीलाई फोन गरेको सुनाए ।

‘देबी ज्ञवालीको मत अन्तर बढ्दै गएको थियो, करिब ४ हजार पुगेको थियो । मैले मेरी छोरी रेणु दाहाललाई भनेँ कि तिमी जिते पनि जित्छौं, र चुनाब हारे पनि तिमीले जितिसक्यौ,ढुक्कसँग बस्नु भनें ,’ प्रचण्डले भने,- ‘त्यसपछि मैले चितवनमा सम्पर्क गरेको थिइँन ।’

ओलीलाई इंकित गर्दै प्रचण्डले इमान मुखले बोलेर नभई व्यवहारमा देखाउनुपर्ने बताएका छन् ।

‘ओलीजी तपाई भन्नेलाई के लाज भो र ? गर्नेले पो लाज शरमका कुरा ख्याल गर्छन्,’ उनले भने ।

आफूले पहिलेदेखि नै कुन पार्टीले जित्छ या हार्छ भन्ने भन्दा पनि मुलुकले जित्छ कि जित्दैन भनेर सोच्न छाडिसकेको प्रचण्डले बताए ।


पुष्प दुलाल