बैंक सञ्चालकको संख्या घटाउन राष्ट्र बैंकको निर्देशन, २ सय बढीको पद गुम्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका २ सयभन्दा बढी सञ्चालकहरको पद गुम्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकले सोमबार परिपत्र गर्दै तत्काल साधारणसभा वा विषेश साधारणसभा बोलाएर बैंक सञ्चालकको संख्या घटाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकको यो निर्देशनसँगै ठूलो संख्यामा बैंकका सञ्चालकहरुको पद गुम्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुलाई साधारण वा विशेष साधारण सभा बोलाएर प्रबन्ध पत्र वा नियमावलीमा भएको सञ्चालकको संख्या सम्बन्धि प्रावधान संशोधन गर्न निर्देशन दिएको हो ।

महिना दिनअघि संसदबाट पारित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ले बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ र बढीमा ७ जना मात्रै सञ्चालक राख्न पाउने व्यवस्था गरेको छ ।

हाल १ सय १५ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा छन् । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले ७ देखि ९ संख्यामा सञ्चालक राख्न सक्ने व्यवस्था थियो । जसअनुसार अधिकांस बैंक तथा वित्तीय संस्थामा ९ जना सञ्चालक छन् ।

बाफिया अनुसार बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा ०.१ प्रतिशतभन्दा बढी सेयर लिएको सेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन पाउने छैनन् ।


पुष्प दुलाल