जथाभावी बाटो काट्ने तीन हजार ३४८ जना कारबाहीमा, ४ लाख २४ हजार जरिवाना उठ्यो



काठमाडौं । ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु आज एक दिन कारबाहीमा परेका छन् ।

जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा गरेअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले जानकारी दिए ।

‘कारबाहीमा परेकामध्ये दुई हजार १२० जनाले रु २०० का दरले जरिवाना तिरे भने बाँकी एक हजार २२८ जनाले ट्राफिक प्रहरीले दिने जनचेतना कक्षामा सहभागी भए ।’ उनले भने ।

यसरी कारबाहीमा परेकाबाट रु चार लाख २४ हजारभन्दा बढी रकम राजस्वमा जम्मा भएको छ । जरिवाना रकम नतिर्नेलाई तीन घन्टा नियन्त्रणमा लिएर आधा घन्टाको सचेतना कक्षा दिइएको थियो ।

सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४२ प्रतिशत पैदल यात्रु रहेको विवरणका आधारमा त्यसलाई व्यवस्थित गर्न आजबाट अभियान सुरु गरिएको उहाँको भनाइ छ ।

प्रहरीले भोलिबाट नियमित रुपमा यसलाई कार्यान्वयन गर्ने भएको छ । उहाँले भन्नुभयो, “सडक दुर्घटनमा मृत्यु हुने ४२ प्रतिशत पैदल यात्रु रहेका छन्, उनीहरुका कारण सवारीमा रहेका थप चालक र यात्रुको समेत मृत्यु हुन्छ । यसरी ५० प्रतिशतभन्दा बढीको मृत्युका कारण पैदल यात्रु रहेकाले त्यो घटाउने हाम्रो उद्देश्य हो ।”

ट्राफिक प्रहरीले गत वैशाख १ गतेदेखि राजधानीमा सवारीको ‘हर्न’ बजाउन निषेध गरेको छ । राजधानीमा मात्रै बर्सेनि १५० जनाभन्दा बढीको सडक दुर्घटनामा मृत्यु हुन्छ । रासस


क्लिकमान्डु