नेपाली सेयर बजारका लगानीकर्ता साढे ७ लाख मात्रै



काठमाडौं । तपाईंलाई थाहा छ, नेपालको सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या कति छ ? थाहा होस् पनि कसरी कुनैपनि सरकारी निकायले अहिलेसम्म सेयर लगानीकर्ताहरुको संख्या यति भनेर तथ्यांक निकालेकै छैनन् ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डकै अधिकारीहरु पनि लगानीकर्ताहरुको कति छन् भनेर यकिन संख्या भन्न सक्दैनन् । उनीहरु १० लाखभन्दा बढी हुन सक्छन् मात्रै भन्छन् ।

अर्थ मन्त्रालयले सार्वजानिक गरेको आर्थिक सवेक्षणअनुसार ०७३ माघसम्ममा डिम्याट खाता खोल्नेहरुको संख्या ७ लाख ४६ हजार ६ सय ८० पुगेको छ ।

तर, नेपालमा सेयर बजारका लगानीकर्ताहरु कति छन् भनेर भन्न सक्ने एउटा आधार हो,– डिम्याट खाता खोल्नेहरुको संख्या । यो संख्याले लगानीकर्ताहरु कति रहेछन् भनेर बुझ्न सकिन्छ ।

अर्थ मन्त्रालयले सार्वजानिक गरेको आर्थिक सवेक्षणअनुसार ०७३ माघसम्ममा डिम्याट खाता खोल्नेहरुको संख्या ७ लाख ४६ हजार ६ सय ८० पुगेको छ ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा ३ लाख ५४ हजार ३ सय १ जनाले खोलेका छन् भने गत आर्थिक वर्ष ३ लाख ९२ हजार ९ सय ५९ जनाले खोलेका थिए ।

माघ यता डिम्याट खाता खोल्नेहरुको संख्या खासै धेरै छैन । अधिकतम भए १ लाख हुनसक्ने देखिन्छ ।

नेपाल धितोपत्र बोर्डले डिम्याट खाता खोलेपछि मात्रै सेयर किनबेच गर्न पाउने व्यवस्था गरेको छ ।

गत माघदेखि कुनैपनि सेयर किन्न वा बेच्न डिम्याट खाता अनिवार्य छ । जसअनुसार सेयर बजारमा चासो राख्ने लगानीकर्ताहरुले डिम्याट खाता खोलिसकेका छन् ।

डिम्याट खाता खोल्नेमध्ये पनि ५० प्रतिशतको हाराहारीमा मात्रै दोस्रो सेयरमा लगानी गर्ने विश्लेषण गरिन्छ । यसरी हेर्दा नेपालको सेयर बजारमा ३ देखि ४ लाख लगानीकर्ताहरु मात्रै सक्रिय छन् भनेर भन्न सकिन्छ ।

आर्थिक सर्वेक्षणका अनुसार हालसम्म १ अर्ब ६८ करोड ५७ लाख ८४ हजार ३ सय ९८ कित्ता सेयर डिम्याट अर्थात अभौतिकिकरण भइसकेको छ ।

चालू आर्थिक वर्षको ८ महिनामै ७५ करोड ५३ लाख ८४ हजार ७ सय ४३ कित्ता सेयर अभौतिक भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९३ करोड ३ लाख ९९ हजार ६ सय ५५ कित्ता सेयर अभौतिक भएका थिए ।

गत वर्षको तुलनामा चालू आवको ८ महिनामा अभौतिक भएको सेयरको संख्या ८१.१९ प्रतिशतले बढी हो ।


पुष्प दुलाल