बजेटः कर्मचारीको तलब नबढ्ने, चुनाबपछि बढाउन समिति गठन गर्ने



काठमाडौं । बजेट आउनु भनेको सरकारी कर्मचारीका लागि खुसीको कुरो हो । किनभने सरकारले कर्मचारीमा आफ्नो लोकप्रियता कमाउनका लागि बजेटमार्फत तलब/भत्ता बढाउने गर्छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले पनि कर्मचारीहरुको तलब भत्ता बढाउने प्रयास गरेका थिए ।

तर, निर्वाचन आचारसंहिताको कारण देखाउँदै प्रतिपक्षी नेकपा एमालेले कुनैपनि हालतमा तलब बढाइनु हुँदैन भन्ने अडान राखेपछि अर्थमन्त्रीले बजेटमार्फत तलब/भत्ता बढाएका छैनन् ।

अर्थमन्त्री महराले आज संसदमा प्रस्तुत गर्ने बजेटमा निजामति कर्मचारीहरुको तलब/भत्ता बढाइएको छैन ।

तर, प्रतिपक्षी एमालेसँग कर्मचारीको तलब बढाउनका लागि समिति गठन गर्ने र समितिले गरेको सिफारिसका आधारमा चुनाबपछि बढाउन सक्ने सहमति भएको अर्थमन्त्री निकट स्रोतले जानकारी दियो ।

‘गत वर्ष १ प्रतिशतभन्दा कम आर्थिक वृद्धि हुँदा पनि एमालेले २५ प्रतिशतले तलब बढाएको थियो, सामान्यतः आर्थिक वृद्धिदर राम्रो भएको वर्ष कर्मचारीको तलब/भत्ता बढाइन्छ, तर, एमालेले मान्दै नमानेपछि बजेटमार्फत तलब बढाउन सकिएन,’ स्रोतले भन्यो ।

केही दिनअघि अर्थमन्त्री महरा एमालेका शिर्ष नेताहरुसँग कर्मचारीको तलब बढाउने प्रस्ताब लिएर गएका थिए । तर एमालेले कुनैपनि हालतमा स्वीकार्य छैन भनेपछि चुनाबपछि बढाउन सक्नेगरी समिति गठन गर्ने सहमति भएको स्रोतहरुको दाबी छ ।

कांग्रेस निकट निजामति कर्मचारी संघले ५ वर्षमा दोब्बर हुनेगरी स्वचालित प्रणालीमा तलब बढाउन माग गरेको छ ।


पुष्प दुलाल