नयाँ कार्यक्रमबिनै पौने १३ खर्बको संघीय बजेट



काठडमाडौं । सरकारले पौने १३ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आज साढे ४ बजे संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् ।

निर्वाचन आचारसंहिताका कारण बजेटमा नयाँ कार्यक्रम नल्याइए पनि बजेटको आकार भने उल्लेख्य मात्रामा बढाइएको छ । सुरुमा राष्ट्रिय योजना आयोगले १२ खर्ब ६ अर्ब रुपैयाँको बजेटका लागि सिलिङ दिएको थियो ।

तर, पछि करिब १ खर्बजतिको फिस्कल स्पेस (बजेटका लागि आवश्यक पर्ने स्रोत जुटाउने ठाउँ) भेटिएकाले १३ खर्बसम्मको बजेट ल्याउन सक्ने बताएको थियो । गत वर्ष खर्च नभएको रकम बच्ने र आन्तरिक तथा बाह्य ऋणसमेत उठाउन सकिने सम्भावना देखाउँदै पौने १३ खर्ब रुपैयाँको बजेट तयार पारिएको हो ।

‘पौने १३ खर्ब रुपैयाँ बराबरको बजेट तयार पारेका छौं, नयाँ कार्यक्रमहरु केही छैनन्,’ बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका एक अधिकारीले क्लिकमाण्डूसँग भने- ‘ठ्याक्कै अंक भन्न मिल्दैन साढे १२ खर्ब भन्दामाथि र १३ खर्बभन्दा तलको बजेट छ ।’

नयाँ बजेट नेपालको पहिलो संघीय मोडलको बजेट हो । यसले स्थानीय तहलाई सीधै अनुदान दिएको छ । स्थानीय तहलाई दिने अनुदान चालू खर्चमा राखिने भएकाले बजेटमा विकास खर्चको आकार घटेको छ ।

‘स्थानीय तहलाई जाने बजेट पनि स्थानीय विकास खर्चका लागि हो, तर हामीले चालू खर्चको शीर्षकमा राखेका छौं, जसकारण चालू बजेट बढेर विकास बजेट कम भएको देखिए पनि यथार्थमा त्यो होइन,’ मन्त्रालय स्रोतले भन्यो ।

सरकारले चालू आर्थिक वर्षका लागि ३ खर्ब ११ अर्ब रुपैयाँको विकास बजेट ल्याएको थियो भने ६ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको चालू खर्च थियो । चालू आर्थिक वर्षको बजेट १० खर्ब ४८ अर्ब रुपैयाँको थियो ।

१२ खर्ब ७०÷८० अर्ब रुपैयाँको बजेट आउँदा पनि गत वर्षकै हाराहारीमा मात्रै विकास खर्च छुट्याइने स्रोतले बतायो । विकास खर्चका लागि छुट्याइएको बजेट केन्द्रिय सरकारले ठूला आयोजनाहरुमा खर्च गर्ने बजेट हो ।


पुष्प दुलाल