काठमाडौँमा भारी वर्षा,अझै केही दिन जारी रहने



काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ ।

बिहान ९ बजेसम्मको मौसमी विवरणअनुसार  काठमाडौँमा सबैभन्दा बढी ४१ मिलिमिटर वर्षा भएको छ ।

त्यसैगरी धनकुटामा ३७, पोखरामा १४, ताप्लेजुङमा १२ र विराटनगरमा ५ मिलिमिटर वर्षा भएको छ ।

पूर्वी उत्तर प्रदेशमा न्यून चापीय प्रणाली बढेको र पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रवेशका कारण काठमाडौँ उपत्यकासहित देशका मध्य र पश्चिमी पहाडी भेगमा बदलीसँगै वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

उहाँका अनुसार पूर्वी न्यूनचापीय प्रणालीको प्रभावले खासगरी मध्य र पूर्वी भेगमा बढी असर परेको छ, ती क्षेत्रमा आज अपराह्न र साँझ बदलीसँगै वर्षा हुनेछ । उक्त प्रणालीका साथै सतही रुपमा बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको पनि समिश्रणले बदलीसँगै वर्षा गराएको मौसमविद् रिमालले बताए।

त्यस्तै पश्चिमी न्यूनचापीय प्रणाली देशको पश्चिमी भेगबाट प्रवेश गरेका कारण पश्चिमी पहाडी भेगमा दिउँसो बदली र वर्षा हुने जनाइएको छ ।

“आज देशका मध्य, पूर्वी र पश्चिमी पहाडी भेगमा वर्षा हुने देखिन्छ, ठूलो पानी पर्दैन, धुम्म हुने अस्थायी प्रकृतिको वर्षा गराउनेछ” – मौसमविद् रिमालले भने ।

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा मौसम बदली रहे पनि हवाई उड्डयनमा कुनै असर नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले भिजिविलिटी चार किलोमिटर रहेको छ । आज काठमाडौँको न्यूनतम १७ र अधिकतम तापक्रम २६ डिग्रिसेल्सियस रहेको छ ।


क्लिकमान्डु