बाढी पिडितले ३ वर्ष पछि पाउने भए पहिलो किस्ताको अनुदान



बर्दिया । बर्दिया र बाँकेमा २०७१ को बाढीबाट प्रभावित परिवारका लागि घर निर्माण गर्न अनुदान दिन थालिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय नेपालगन्जले बाढी प्रभावित परिवारको आवास निर्माण कार्यक्रमअन्तर्गत अनुदान वितरण प्रक्रिया अघि बढाएको हो ।

कार्यक्रम अनुसार जग्गा नभएका पीडितलाई ३ लाख ५० हजार रुपैयाँ र जग्गा भएकालाई ३ लाख रुपैयाँ अनुदान दिइनेछ । उनीहरूका लागि पहिलो किस्ताको ५० हजार रुपैयाँ निकासा भइसकेको डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बर्दियामा ३ हजार ५ सय ७५ र बाँकेमा १ हजार ६ सय ५२ परिवारका लागि अनुदान रकम वितरण गर्न थालिएको हो ।

०७१ साउन २९ र ३० गते आएको बाढीले बाँकेमा १५ जनाको मृत्यु भएको थियो । जिल्ला दैवी प्रकोप उद्धार समितिको सिफारिसका आधारमा बाँकेमा बाढीबाट क्षति भएका ३ हजार २ सय १२ मध्ये १ हजार ६ सय ५२ घर पूर्णरूपमा क्षति भएको डिभिजनको तथ्याङ्कमा उल्लेख छ । बर्दियामा ३ हजार ८५९ घर पूर्णरूपमा क्षति भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जानकारी दिएको छ ।

उनीहरूलाई भूकम्पपीडितसरह आवास निर्माण गर्ने सरकारले घोषणा गरेको थियो । पीडितले योजनाअनुसार काम सकेपछि किस्तामा रकम दिइने डिभिजनका इन्जिनियर होमनाथ भुसालले बताए । उनका अनुसार बाढीपीडितको खातामा रकम जम्मा गरिनेछ ।

गुलरियाको रामपुर टप्पु, बर्दियाको बनियाभार र बासगढीको चेपाङका १ सय ६२ घर बगाएपछि उनीहरू अस्थायी टहरामा बस्दै आएका छन् । घरजग्गा बगाएका गुलरियाको रामपुर टप्पुका ४३, बनियाभारका ९८ र बासगढी चेपाङका २१ घर अझै अस्थायी रूपमा टहरोमा बस्न बाध्य छन् ।

पुनस्थापनामा ढिलाइ हुँदा कष्टकर जीवन बिताउनुपरेको बाढीपीडितले बताएका छन् ।


पुष्प दुलाल