७१ प्रतिशत मत खस्यो : निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले आज भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत मत खसेको जानकारी दिए । निर्वाचन सकिएपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मत खसेको बताएका छन् ।

आइतबार तीन प्रदेशका ३४ जिल्लामा २ सय ८१ वटा स्थानीय तहमा निर्वाचन भएको थियो ।

‘एक दुई मतदान केन्द्रमा भएका छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण भएको छ,’, यादवले भने, ‘स्थानीय तहको अवस्था हेरेर ब्यालेट बक्स गणना केन्द्रमा आइपुगेपछि मत गन्ने काम अघि बढाउन निर्देशन दिइसकेका छौँ ।’

उनले निर्वाचनका क्रममा तीनवटा मतदान केन्द्रको निर्वाचन स्थगित भएको पनि जानकारी दिए । यादवले दुर्गम स्थानका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याउने क्रम सुरु भएको बताए ।

आयोगले काभ्रेको नमोवुद्ध गाउँपालिका वडा नं ४ को एउटा मतदान केन्द्र, जाजरकोटको कालिका गाउँपालिकास्थित कालाचौर मतदान केन्द्र र दोलखाको मेलुङस्थित सप्तेश्वर मावि मतदान केन्द्रको मतदान भने स्थगित भएको जनाएको छ । छ ।


क्लिकमान्डु