राष्ट्रपति भण्डारी बैङ्ककतर्फ प्रस्थान



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमणका लागि आज बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गरिन् ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी श्रीलङ्का जान लागेकी हुन्। राष्ट्रपति भण्डारी आज बिहान १०ः१५ बजे बैङ्ककतर्फ प्रस्थान गरिन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सभामुख ओनसरी घर्ती, मन्त्रिगणलगायत उच्चअधिकारीले बिदाइ गरे ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई २१ तोपको सलामी पनि अर्पण गरेको थियो ।

बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् । आज श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु हुने सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काको दोस्रो ठूलो सहर क्यान्डीमा हुनेछ ।


क्लिकमान्डु