चिलिमेको नाफा घट्यो, जलविद्युत कम्पनीले बढायो



काठमाडौं । चिलिमे जलबिद्युत कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ६९ करोड ९४ लाख रुपैंयाँ खुद नाफा गरेको छ । कम्पनीको नाफा गत बर्षको सोही अबधिको भन्दा थोरैले घटेको छ । गत बर्ष कम्पनीले ७० करोड ४६ लाख रुपैंयाँ नाफा गरेको थियो ।

अपरिष्कृत बित्तीय बिवरणका अनुसार कम्पनीले बिद्युत बिक्रीबाट गत बर्षको ८२ करोड ७१ लाख रुपैंयाँको तुलनामा थोरैले बढाएर ८४ करोड ६५ लाख रुपैंयाँ पुर्याएको छ ।

कम्पनीको जगेडा कोष पनि ४ अर्ब २७ करोडबाट बढेर ४ अर्ब ६६ करोड रुपैंयाँ पुगेको छ ।

कम्पनीको हाल प्रतिसेयर आम्दानी २७.०४ रुपैंयाँ छ भने मुल्य आम्दानी अनुपात ३३ गुणा छ । कम्पनीको नेटवर्थ २३५.४० प्रति सेयर रहेको छ ।

जलविद्युत लगानी तथा विकासको नाफा करिब ३४ करोड
जलविद्युत लगानी तथा विकास कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा करिब ३४ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत चैत मसान्तसम्ममा कम्पनीले ३३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको हो । गत बर्षको सोही अबधिमा कम्पनीले २४ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

१० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको जलविद्युत लगानी तथा विकास कम्पनीको आम्दानीको मुख्य स्रोत बैंक तथा वित्तीय संस्थाहरुमा राखिएको निक्षेपबाट प्राप्त हुने ब्याज नै हो । यो बर्ष ब्याजदर बढेका कारण कम्पनीको नाफा बढेको देखिएको छ ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकमा निक्षेप राखेवापत ४८ करोड ५६ लाख रुपैयाँ ब्याज आम्दानी भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४.५२ छ भने प्रतिसेयर नेटवर्थ १०८.३८ रुपैयाँ छ ।


क्लिकमान्डु