चुनावी माहोल तात्दा, नेप्से भने सेलायो, कसले कमाए ? कसले गुमाए ?



काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । नेप्से २४.२ अंकले झरेर १६२८.९८ अंकमा आयपुगेको छ । कारोबार रकम पनि ६९ करोड २४ लाख रुपैंयाँमा सिमित भएको छ ।

देशमा चुनावी माहौल बन्दै गर्दा नेप्सेमा केहिहप्ता उछाल आएको थियो । र, कारोबार रकम समेत केहीदिन त २ अर्ब नाघेको थियो । बिगत ६/७ हप्ता देखि नेप्सेको कारोबार रकम अर्ब माथि नै थियो ।

तर, चुनाव नजिकिंदै जाँदा भने नेप्सेमा सुस्तता छाएको छ । पछिल्ला केही दिनको राजनीतिमा केही उतारचढाव आए पनि चुनावलाई भने असर नपार्ने भइसकेको छ ।

मानिसहरुमा चुनाव लागिसकेको कारण सेयर बजारमा केहि सुस्तता आएको हुनसक्छ । चुनाव सकिएसँगै ठूलो मात्रामा सरकारी खर्च हुने र त्यसले ब्याजदर लाई घटाउँदा सेयर बजारमा सकारात्मक असर पार्नसक्छ । तर, हाललाई भने नेप्से केही सुस्ताउने नै देखिन्छ ।

आइतबार १४१ कम्पनीको ९ लाख ९९ हजार कित्ता सेयर कारोबार भएको छ । उपसूचकहरुमा उत्पादन ५.२६ र अन्य ०.२९ अंकले बढेका छन् भने अरु सबै घटेका छन् । बैकिङ २७.९५, होटेल २३.७८, बिकास बैंक २२.४४, जलबिद्युत ३१.९१, बित्त १०.८६ र बीमा ११२.३ अंकले घटेका छन् ।

आइतबार ५ सबैभन्दा बढी कारोबार हुने कम्पनीमा एसबिआइ बैंक, इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एनसिसि बैंक र नेपाल लाइफ रहेका छन् । उनीहरुको क्रमशः ६ करोड २१ लाख, ३ करोड १४ लाख, २ करोड ५३ लाख, २ करोड ३४ लाख र २ करोड ३३ लाख रुपैंयाँको कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी १० प्रतिशतले साहारा बिकास बैंकको सेयर मुल्य बढेको छ । त्यसपछि दोस्रोमा ८ प्रतिशतले मेरो माइक्रोफाइनान्सको सेयर मुल्य बढेको छ । अन्य कम्पनीको सेयर मुल्य भने २ प्रतिशत भन्दा कमले नै बढेका छन् ।

आइतबार नयाँ नेपाल लघुबित्तको सेयर मुल्य झण्डै १० प्रतिशतले घटेको छ । यसैगरी किसान माइक्रोफाइनान्स र सिन्धु बिकास बैंकका लगानीकर्ताले पनि क्रमशः ८ र ६ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल