अब १० लाख रुपैयाँ नभए आयात व्यवसाय गर्न नपाइने



काठमाडौं । के तपाई आयायतको व्यापार गरिरहनु भएको छ । छ भने तपाईंसँग न्यूनतम १० लाख रुपैयाँ पुँजी हुनैपर्छ ।

भन्सार विभागले आगामी साउन १ गतेदेखि लागू हुनेगरी न्यूनतम १० लाख रुपैयाँ पुँजी भएको व्यक्तिले मात्रै साउनबाट आयात व्यवसाय गर्न पाउने छन् ।

‘निकासी पैठारी संकेत नम्बर प्रदान गर्ने सम्बन्धी कार्यविधी २०७३’ लागू गर्दै वैदेशिक व्यापारमा नयाँ व्यवस्था गर्न लागेको हो । यो व्यवस्था लागू भएपछि आयात-निर्यात गर्न चाहनेले अनिवार्य रुपमा ‘आयात निर्यात कोड (एक्जिम कोड) लिनुपर्ने छ ।

यो कोड लिनका लागि आयात गर्ने व्यवसायीले न्यूनतम १० लाख रुपैयाँ चुक्ता पुँजी राख्नुपर्ने व्यवस्था गर्न लागिएको हो । तर निर्यात मात्रै गर्ने व्यवसायीले भने कति पनि चुक्ता पुँजी राख्नु पर्ने छैन ।
एक्जिम कोड कार्यान्वयनमा आएपछि तेस्रो मुलुकबाट नेपाल आउने सामान ल्याउन भारतीय बन्दरगाहामा अहिले लाग्दै आएको समय ३ देखि ५ दिनले छोटिने छ ।

तर, यसका लागि नेपालमा कार्यान्वयनमा आएको व्यवस्था र भारतीय आइई कोडबीच सामन्जस्यताका लागि दुई मुलुकबीच सम्झौता हुनुपर्ने विभागले जनाएको छ ।

एक पटकमा ५० हजार रुपैयाँसम्मको वस्तु आयात गर्ने व्यवसायीले यो कोड लिनु नपर्ने विभागले जनाएको छ ।

यो व्यवस्था कार्यान्वयनमा आइसकेपछि भविष्यमा व्यवसायीलाई कुनै समस्या नहुने भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले बताए । यसले तेस्रो देशबाट सामान आयात गर्दा लाग्ने समय र लागत दुवै घटाउने उनले जानकारी दिए ।


पुष्प दुलाल