नयाँ बाफिया प्रभावः सिभिल बैंकको अध्यक्षबाट इच्छाराजको राजिनामा



काठमाडौं । स्थापनाकाल देखि नै सिभिल बैंकको अध्यक्ष रहेका इच्छाराज तामाङले पदबाट राजिनामा दिएका छन् ।

राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) -०७३ प्रमाणिकरण गरेपछि तामाङले बैंकको अध्यक्ष पदबाट राजिनामा दिएका हुन् ।

बाफियामा संबैधानिक पद धारण गरेको व्यक्ति बैंकको अध्यक्ष तथा सञ्चालक पदमा बस्न नपाइने व्यवस्था गरिएको छ । घरजग्गा व्यवसायीसमेत रहेका तामाङ एमालेको समानुपातिक कोटाबाट सांसद छन् ।

सांसदहरु बैंकको सञ्चालक बन्दा कन्फ्लिट अफ इन्ट्रेस्ट भएको भन्दै बाफियामा यस्तो व्यवस्था गरिएको हो । तामाङ लगायतका बैंकका सञ्चालक रहेका आधा दर्जन सांसदहरुले संसदको अर्थ समितिमा यो व्यवस्थाको कडा आलोचना गरेका थिए ।

उनीहरुकै कारण बाफिया पारित हुन ढिलाइ भएको थियो ।

तर, बैंक सञ्चालक रहेका सांसदहरुको कडा आपत्ति हुँदा हुँदै पनि संसदको पूर्ण सदनले संवैधानिक पद धारण गरेको व्यक्ति बैंकको सञ्चालक बन्न नपाउने व्यवस्थासहितको व्यवस्था पारित गरिदियो ।

सांसद पनि संबैधानिक पद हो, जसकारण उनीहरुले पद छाड्नु पर्यो ।

तामाङले छाडेपछि सिभिल बैंकको सञ्चालक समिति अध्यक्षमा अम्बिर बोगटी नियुक्त भएका छन् ।

नवनियुक्त अध्यक्ष बोगटीलाई बैंकमा विशेष कार्यक्रम गरेर स्वागत गरिएको छ भने तामाङलाई विदाइ पनि गरिएको छ ।

केहीदिन अघि सिभिल बैंकको सञ्चालक समितिले बाफियाकै कारण देखाउँदै प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनलाई अर्को कार्यकालका लागि नियुक्तिको नविकरण गरेको थिएन ।

बाफियामा बैंकका प्रमुख कार्यकारी अधिकृत २ कार्यकाल अर्थात ८ वर्षभन्दा बढी एउटै बैैंकमा बस्न नपाउने व्यवस्था छ ।

महर्जन बैंकबाट बाहिरिएपछि म्यानेजम्यान्टको सेकेन्ड म्यान रहेका गोबिन्द गुरुङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ ।


पुष्प दुलाल