१५ दिनभित्र राष्ट्र बैंकबाट ५५ कर्मचारी बाहिरिँदै



काठमाडौं । राष्ट्रको ढुकुटी व्यवस्थापन गर्ने नेपाल राष्ट्र बैंकबाट तत्कालै ५५ जना कर्मचारी बाहिरिँदै छन् । सेवाको अवधि सकिएकाले ५५ कर्मचारीहरुले १५ दिनभित्र अवकास पाउने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

नेपाल राष्ट्र बैंक ६२ वर्षमा प्रवेस गरेको अवसरमा आयोजित कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले यस्तो जानकारी दिए ।

शिवाकोटीका अनुसार हाल राष्ट्र बैंकमा ११ सय ९१ जना कर्मचारी कार्यरत छन् । जसमध्ये ५५ जना १५ दिनभित्र अवकास हुँदैछन् । तर, पूर्वकर्मचारी अर्थात् राष्ट्र बैंकबाट पेन्सन खाने कर्मचारीको संख्या भने २४ सय ६८ छ ।

‘५५ जनाले अवकास पाएपछि बहालवाला कर्मचारीको संख्या ११ सय ३६ र पेन्सन खाने कर्मचारीहरुको संख्या २५ सय २३ पुग्नेछ,’ उनले भने ।

उत्कृष्ट १ सय ७५ कर्मचारी सम्मानित

वार्षिकोत्सवका अवसरमा राष्ट्र बैंकले वर्षभरी उत्कृष्ट काम गर्ने १ सय ७५ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । गभर्नर डा. चिरञ्जीबी नेपालले कर्मचारीहरुलाई सम्मानपत्र प्रदान गरे । सो अवसमा गभर्नर नेपालले राष्ट्र बैंकले गरिरहेका कामहरु र प्राप्त भएका उपलब्धिहरुको जानकारी गराए ।

उनले वित्तीय क्षेत्र संवेदनशील भएकाले संस्थागत सुशासनमा विशेष जोड दिन सरोकारवाला सबैलाई आग्रह गरे ।

वार्षिकोत्सव समारोहमा राष्ट्र बैंकको ५ वर्षे रणनीति योजना साउनदेखि लागु हुने क्रममा रहेको जानकारी जानकारी गराइयो ।

मौद्रिक नीति तयार गरी लागू गर्ने राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकारसमेत हो । वित्तीय स्थायित्व र मूल्यवृद्धि नियन्त्रण गर्नु राष्ट्र बैंकको मुख्य काम हो ।

कार्यक्रममा पूर्वगभर्नर भेषबहादुर थापा, कर्मचारी युनियनका प्रतिनिधि, नेपाल बैंकर्स संघका अध्यक्ष शनिल शाह लगायतले बोलेका थिए । वक्ताहरुले वित्तीय क्षेत्रको संस्थागत सुशासनमा जोड दिन राष्ट्र बैंकको उच्च व्यवस्थापनलाई सुझाब दिए ।


पुष्प दुलाल