बाफियाले बैंकका यी सीइओको जागिर धरापमा



काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले सोमबार राजिनामा दिएका छन् । बैंकर्स संघका उपाध्यक्षसमेत रहेका महर्जनले दुई कार्यकाल पुग्न ३ महिना बाँकी रहँदा राजिनामा दिएका हुन् ।

आइतबार राष्ट्रपति विद्यादेबी भण्डारीबाट लालमोहर लागेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को कारण देखाउँदै सञ्चालक समितिले आगामी कार्यकालका लागि निरन्तरता नदिने भनेपछि महर्जन सिभिल बैंकबाट बाहिरिएका हुन् ।

कैलाश विकास बैंकको नजीरले सीइओहरु २ कार्यकालय भन्दा बढी बस्न नपाउने देखिएको छ ।

‘राष्ट्रपतिज्यूले लालमोहर लगाएको बाफियाले बैंक प्रमुख कार्यकारी अधिकृतले एकै संस्थामा २ कार्यकाल मात्रै बस्न पाउने व्यवस्था गरेको छ, बाफियाको पालना गर्न मैले बैंक छाडेको हुँ,’ महर्जनले क्लिकमाण्डूसँग भने ।

प्रमुख कार्यकारी अधिकृतको कार्यकारी भूमिकाबाट बाहिरिए पनि आगामी ३ महिना बैंकमै काम गर्ने महर्जनले बताए ।

‘बैंक छाड्ने बेलामा सीइओ कार्यकारी भूमिकामा बस्नु हुँदैन भनेर कर्जा प्रवाह, कर्मचारी सुरुवा–बढुवालगायतजस्ता महत्वपूर्ण जिम्मेवारीबाट म पन्छिएको मात्रै हो,’ उनले भने,– ‘निस्क्रिय सीइओको रुपमा अझै ३ महिना म बैंकमै रहन्छु ।’

राष्ट्रपतिबाट लालमोहर लागेको बाफियाका कारण सीइओ महर्जनजस्तै आधा दर्जन वाणिज्य बैंकका सीइओहरुको जागिर जाने भएको छ ।

बैंकर संघका अध्यक्षसमेत रहेका मेगा बैंकका सीइओ अनिल शाहको पनि जागिर जाने भएको छ । त्यसैगरी, बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका हिमालयन बैंकका सीइओ अशोक राणा र सिटिजन बैंकका सीइओ राजनसिंह भण्डारीको पनि जागिर जाने भएको छ ।

त्यस्तै, बैंक अफ काठमाण्डूका सीइओ अजय श्रेष्ठ, सिदार्थ बैंकका सीइओ सुरेन्द्र भण्डारी, प्राइम बैंकका सीइओ नारायणदास मानन्धरको पनि २ कार्यकालका कारण जागिर जाने भएको छ ।
राष्ट्रपतिबाट लालमोहर लागेको बाफियामा एउटा बैंक तथा वित्तीय संस्थामा दुई कार्यकाल मात्र सीइओको रुपमा काम गर्न पाइने उल्लेख छ ।

बाफिया लालमोहर लागेपछि दुई कार्यकाल गणना हुने भएपनि उच्च अदालत पाटनले कैलाश विकास बैंकको हकमा राष्ट्र बैंकले ल्याएको निर्देशिका अनुसार दुई कार्यकालपछि अध्यक्ष बन्न नपाइने फैसला गरेको छ । जसको कारण कैलाशबाट राजेन्द्र गिरीले अध्यक्ष पद छाडेका छन् भने सीइओ कृष्णराज लामिछानेले पनि राजिनामा दिने घोषणा गरेका छन् ।

कैलाश विकास बैंकको नजीरले सीइओहरु २ कार्यकालय भन्दा बढी बस्न नपाउने देखिएको छ ।

उच्च अदालतले राष्ट्र बैंकको निर्देशिका अनुसार फैसला गरेको छ । उच्च अदालतको फैसला विरुद्द सर्बोच्च अदालतमा रिट दायर भएर सर्बोच्चले उच्च अदालतको फैसला उल्टाएमा मात्र यो व्यवस्था कार्यान्वयनमा आउँदैन । त्यो भएन भने उच्च अदालतले दिएको फैसला कानून सरह हुने छ ।

अदालतले अहिलेको अवस्थामा भूतप्रवाही आधारले कानूनको व्याख्या गरेको हुँदा दुई कार्यकाल सीईओ बनेका बैंकरको जागिर अहिले खाइरहेको बैंकबाट जाने भएको हो ।

ससद्ले संवैधानिक पदमा रहेको व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको संचालक बन्नपनि रोक लगाएको छ । संसद्बाट बाफिया पारित भएपछि प्राइमका अध्यक्ष प्राइमबाट उमेश श्रेष्ठ र जनता बैंकबाट उदय नेपाली श्रेष्ठले राजिनामा दिएका थिए । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले पनि अध्यक्षबाट राजिनामा दिन लागेका छन् ।

अहिले वाणिज्य बैंकमा सांसद् रहेका संचालकमा एनसीसी बैंकमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत रमाछापुच्छ्रे बैंकमा विरेन्द्र महतो संचालक रहेका छन् ।

बाफियामा व्यवस्था भएको सीईओ दुई कार्यकाल बस्न नपाइने व्यवस्थाको कारण केही विकास बैंक र फाइनान्स कम्पनीमा पनि सीईओ रहेकाले राजिनामा दिनुपर्ने हुन्छ ।

यस्तै वाणिज्य बैंक र बीमा कम्पनीमा संचालक रहेका केही व्यवसायीले पनि दुईमध्ये एकको संचालक पद रोज्नुपर्ने हुन्छ । बाफियामा एउटै व्यक्ति बैंक तथा वित्तीय संस्थाको संचालक र बीमामा संचालक बन्न रोक लगाएको छ । जसमा नाम चलेका व्यवसायीमा प्रभु देवीप्रकाश भट्टचन, कुसुम लामा छन् ।

मनोज कुमार केडिया, मोतिलाल दुगड र मालचन्द्र दुगड लगायतका छन् । विकास बैैंक र फाइनान्स कम्पनीमा संचालक रहेका व्यक्ति जोड्दा यो संख्या अझै बढी हुन्छ ।

यो पनि पढ्नुहोस्- कुन बैंकका सीइओ कसको प्रोडक्ट ?


पुष्प दुलाल