भूकम्प पीडित १० हजार सुकुम्बासीलाई ३ लाख अनुदान दिने निर्णय



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिले भूकम्प पीडित १० हजार सुकुम्बासीलाई घर बनाउन ३ लाख अनुदान दिने निर्णय गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल संयोजक रहेको कार्यकारी समितिले भूकम्प पीडित सुकुम्बासीलाई पनि अनुदान दिने निर्णय गरेको हो । कार्यकारी समितिको यो निर्णयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको निर्देशक समितिले पनि सहमति दिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा बनाइएको अनुदानसम्बन्धी मापदण्डमा सुकुम्बासीलाई अनुदान दिने व्यवस्था थिएन ।

‘प्रधानमन्त्रीज्यूसँगको सल्लाहमै प्राधिकरणका सीइओले यो निर्णय गर्नुभएको हो, अब बस्ने प्राधिकरणको निर्देशक समितिको बैठकले यसलाई औपचारिकरुपमा सहमति दिनेछ,’ प्राधिकरण स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

निर्देशक समितिको निर्णयपछि आवश्य परे मन्त्रिपरिपदको बैठकमा प्रस्ताब लगेर निर्णय गराउने प्रधानमन्त्री प्रचण्डले आश्वासन दिएको स्रोतले जानकारी दियो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा बनाइएको अनुदानसम्बन्धी मापदण्डमा सुकुम्बासीलाई अनुदान दिने व्यवस्था थिएन ।

डा. पोखरेल प्राधिकरणको सीइओ भएर आएपछि पुरानो मापदण्ड परिवर्तन गरेर सबै भूकम्प पीडितलाई अनुदान दिनुपर्ने जोड दिँदै आएका छन् ।

सुकुम्बासीसँग जग्गागो लालपुर्जा नहुने भएकाले पुरानो मापदण्डअनुसार उनीहरु अनुदान पाउन योग्य थिएनन् ।

‘अघिल्लो सरकारले सुकुम्बासीचाहीँ भूकम्प पीडित नै होइनन् भन्नेजस्तो व्यवहार गरेको थियो’ प्राधिकरण स्रोतले भन्यो,- ‘हामी सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्छौं । त्यसैले सुकुम्बासीलाई पनि अनुदान दिने निर्णय गरिएको हो ।’

प्राधिकरणले सुकुम्बासी नै भनेर भनेको छैन । तर, जग्गाको कागजात नमिलेका कारण अनुदान पाउन नसकेका लाभग्राही भनेर ७२ हजारको सूची तयार पारेको छ । त्यसमध्ये पनि बिभिन्न वर्गमा वर्गिकरण गरेर हेर्दा १० हजार सुकुम्बासीको अवस्था निकै दयनिय रहेको पाइएकाले प्राधिकरणको कार्यकारी समितिले अनुदान दिने निर्णय गरेको हो ।

के भन्छन् सीइओ पोखरेल ?

कानूनले जे जे नगर्नु भनेको छ त्यो मात्रै नगर्ने बाँकी सबै गर्न मिल्छ भन्ने आफ्नो बुझाइ रहेको प्राधिकरणका सीइओ डा. पोखरेलले बताए ।

‘सुकुम्बासीलाई अनुदान दिनेसम्बन्धी निर्णय भएको छ वा छैन भन्ने कुरा अहिले मैले भन्न मिल्दैन, जुन अहिले छलफलको विषयमा छ,’ उनले भने,- ‘तर, व्यक्तिगतरुपमा कुरा गर्ने हो भने दिनुपर्छ भन्ने मलाई लाग्छ ।’


पुष्प दुलाल