महासंघको चुनाबः रातभर बढाबढमा किनिए जिल्ला नगरका मतदाता



काठमाडौं । नेपालमा निर्वाचन भन्ने वित्तिकै पैसामा मतदाता किनबेचसँग जोडेर हेरिन्छ । राजनीतिक दलहरुले परिणाम आफ्नो हातमा पार्न मतदाता किनबेच गरेका खबरहरु प्रसस्तै सुन्न पाइन्छ ।

तर, धनाड्य वर्ग अर्थात उद्योगी/व्यवसायीहरुको चुनाबमा पनि राजनीतिक दलहरुले जस्तै मतदाता किन्ने प्रवृत्ति मौलाउँदै गएको छ ।

आगामी ३ वर्षे कार्यकालका लागि आज नेपाल उद्योग वाािण्ज्य महासंघको निर्वाचन भइरहेको छ । बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र किशोर प्रधानले प्यानल नै बनाएर चुनावी मैदानमा युद्ध गरिरहेका छन् ।

उनीहरुले युद्ध जित्ने अस्त्रकोरुपमा सोमबार रातभर मतदाता किनेका छन् । दुबै पक्षले जिल्ला तथा नगरबाट आएका मतदाताहरु किन्न ध्यान दिएको व्यवसायीहरु बताउँछन् ।

गोल्छा समूहले आफ्नो पक्षमा जिल्ला नगरका प्रतिनिधीलार्इ नगरकोटको रत्नागिरी होटल र छैमले रिर्सोटमा राखेका थिए भने प्रधान समूहले भने जिल्ला तथा नगरका प्रतिनिधीलार्इ गौशलामा रहेको आमादब्लम होटलमा राखेका थिए।

‘वस्तुगत र एसोसिएटमा पैसा भएकै उद्योगी/व्यवसायी हुन्छन्, उनीहरुको डिल स-सानो पैसा भन्दा अरु नै कुरामा हुन्छ,’ महासंघका एक नेताले क्लिकमाण्डूसँग भने,- ‘तर धेरै जिल्ला तथा नगरबाट आएका प्रतिनिधिहरु बिकिदिन्छन् । त्यसैले मतदाता किन्नेहरु पनि त्यतै सक्रिय हुन्छन् ।’

सोमबार रातभर जिल्ला तथा नगरका मतदाताहरुले दुबै पक्षसँग ‘नगद’ बढाबढमा बार्गेनिङ गरेका थिए । डेढ दर्जन जिल्ला तथा नगरका मतदाताहरुले यस्तो वार्गेनिङ गरेको मतदाता किनबेचमा संलग्न एक व्यापारीले जानकारी दिए ।

‘जहिल्यै पनि अन्तिम समयमा आएर बढाबढमा बार्गेनिङ हुन्छ । यो वर्ष प्रतिमतदाता ५ देखि  २०/२५ लाख रुपैयाँसम्ममा मतदाता किनबेच भएका छन्,’ एक व्यवसायीले भने ।

कहिलेदेखि सुरु भयो किनबेच संस्कृति ?

महासंघका पूर्वअध्यक्ष विनोद चौधरीका अनुसार ०५२ सालको चुनाबदेखि मतदाता किनबेच सुरु भएको हो । त्यसअघि महासंघमा यस्तै प्रवृत्ति छँदै थिएन ।

‘केही पिछडिएका जिल्लाका तर्फबाट मत दिने अधिकार बोकेर आएका प्रतिनिधिको किनबेच सुरु भयो,’ चौधरीले आत्मकथामा लेखेका छन् ।

त्यो चुनाबमा पदम ज्योति र विनोध चौधरी अध्यक्षका लागि प्रतिस्पर्धामा थिए । ०५२ सालको चुनाब महासंघको इतिहासमै सबैभन्दा बढी चर्चित र कुसंस्कार भित्र्याएको चुनाव हो । चुनावी परिणामलाई जसरी भएपनि आफ्नो बसमा पार्न त्यही चुनाबदेखि मतदाता किन्न थालिएको हो ।

पछिल्लो समय महासंघमा मतदाता किनबेच गर्ने प्रवृत्ति मौलाउँदै गरेको पूर्वअध्यक्ष सुरज बैद्य स्वीकार गर्छन् ।

‘अचेल भोट किन्ने चलन पनि छ, त्यसबाहेक तारे होटलका कार्यक्रम र दारु पाटी यस्तै यस्तैमा ठूलो धनराशी खर्च हुन थालेको छ।’ बैद्य भन्छन् ।

वरिष्ठ उपाध्यक्षमा जिल्ला तथा नगर समूहको ५० प्रतिशत मतभार छ। त्यसैले उनीहरुको वार्गेनिङ पावर बढेको हो। एशोसिएटको ३० प्रतिशत र वस्तुगत समूहको २० प्रतिशत मतभार रहेको छ। त्यसैले बढी म तभार भएको जिल्ला तथा नगरमै मतदाता किनबेच हुन्छ ।


पुष्प दुलाल