फर्मबाट उत्पादित बङ्गुरले बजार नपाउँदा किसान चिन्तित
लमजुङ । व्यावसायिकरुपले बङ्गुरपालन गर्दै आएका नारायणबहादुर थापाको तिन वर्षसम्म पनि लगानी उठेको छैन ।
उनको बङ्गुर फार्मबाट वार्षिक एकसय ५० भन्दा बढी बच्चा उत्पादन हुन्छ । उनले तीन वर्षअघि आठ लाखको लगानीमा बङ्गुरपालन व्यवसाय सुरु गरेका थिए ।
‘पहिलो वर्ष गाउँ/गाउँबाट बङ्गुरका बच्चा खरिदको निम्ती आउने गर्थे, अहिले बाहिरबाट सस्तोमा गाउँमै पु¥याइदिने रहेछ,’ थापाले भने ‘यसैकारण हामीले आफ्नो खर्च समाहित हुने गरी बिक्री गर्दा पनि बजार पाउन सकेनौँ ।’
बजार नपाउदा व्यवसाय छोड्ने कि निरन्तरता दिने भन्ने दोधारमा परेको उनले बताए ।
‘धेरै वर्ष विदेश बसेँ, बङ्गुरपालन व्यवसाय उत्कृष्ट लागेको थियो, यसैमा भविष्य देखेँ र सुरु गरे, पहिलो वर्ष राम्रो भएको थियो, पछिल्ला वर्ष भने निकै असहज भएको छ ।’ थापाले भने ।
आफूसहित दुईजना कर्मचारी राखेर फर्म सञ्चालन गर्नुपरेको तर आम्दानी नहुने भएपछि व्यवसायी सङ्कटमा परेको उनले बताए।
बङ्गुरपालनबाट आम्दानी हुने आशा राखेर व्यवसाय सुरु गरेका खुदीका प्रेमबहादुर गुरुङ पनि बजार नपाउदा चिन्तित भएका छन् । १५ लाख रुपैयाँ लगानी गरेर पि के बङ्गुर फार्म सञ्चालन गरेका गुरुङले चारवर्षसम्म पनि आफ्नो लगानी उठाउन नसकेको गुनासो गरे।
‘मासिक ७५ हजार रुपैयाँ भन्दा बढी खर्च हुन्छ,’ गुरुङले भने, ‘काम गर्ने कर्मचारी पनि राख्नुपरेको छ,तर आम्दानी छैन ।’
लाखौँ रुपैया खर्च गरेर सुरु गरेको व्यवसाय छोडे लगानी समेत डुब्ने खतरा छ भन्दै गुरुङले तर यसलाई धान्न धान्न मुस्किल भएको बताए । गुरुङको बङ्गुर फर्मबाट पनि वार्षिक दुई सयको हाराहारीमा बच्चा उत्पादन हुने गरेको छ तर उत्पादित बच्चाले बजार नपाउदा आफ्नो व्यवसाय सङ्कटमा परेको हो ।
पर्याप्त बजार नपाउदा यहाँका बङ्गुरपालक किसान चिन्तित भएका छन् । ठूलो लगानी गरेर व्यावसायिक बङ्गुरपालन गरेपनि बजार नपाउदा कृषक चिन्तित भएका हुन् ।
सस्तो मूल्यमा जिल्ला बाहिरबाट बच्चा निर्यात हुने र केही समुदायमा बाहेक बङ्गुर मासु खपत नहुने हुँदा सदरमुकामसहित जिल्लाका विभिन्न स्थानमा व्यवसायिक बङ्गुरपालन गरिएपनि बङ्गुर बच्चा तथा मासुको उचित खपत हुननसक्दा ती किसान निरुत्साहित भएका छन् ।
जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा लक्ष्मण ढकालले जिल्लामा पर्याप्त बङ्गुर उत्पादन भएर पनि खपत हुननसक्दा किसान मर्कामा परेको बताए। उनले व्यावसायिक किसानलाई मर्का नपर्नेगरी बङ्गुर बच्चाको मूल्य केही सहज बनाउनसके बाहिरी जिल्लाबाट बङ्गुर निर्यात गर्न नपर्ने बताए।
‘खरिदकर्ताले सकेसम्म सस्तो खोज्छन्, व्यवसायीलाई मर्का नपर्ने गरी मूल्य कायम गर्न सके व्यावसायिक बङ्गुरपालन उपयुक्त पेसा हो,’ डा ढकालले भने ।
जिल्लामा बङ्गुरको पर्याप्त खपत नभएको र जिल्ला बाहिर पनि निर्यात गर्न नसक्दा किसान निरुत्साहित हुँदै गएका छन् । जिल्ला बाहिरबाट आयत रोक्ने र व्यावसायिक प्रवद्र्धन गर्न सके आफूहरुलाई राहात मिल्ने व्यवसायी बताउछन् ।
जिल्ला पशुसेवा कार्यालयले व्यावसायिक बङ्गुरपालनको निम्ती चार लाख १५ हजार रुपैयाँ अनुदान दिएको छ । प्रति फार्म ८३ हजार रुपैयाँका दरले पाँचवटा फार्मका लागि अनुदान दिएको पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताए ।
बाहिरी जिल्लाबाट बच्चा आयात रोक्न, व्यावसायिक बङ्गुरपालनको निम्ती विशेष कार्यक्रम ल्याउन र जिल्ला बाहिर समेत निर्यातको व्यवस्था मिलाउने पहल गर्न जिल्ला पशुसेवा कार्यालयसँग सम्बद्ध व्यावसायीले अनुरोध गर्दै आएका छन् ।