बजार बढाउने हो भने ठीक छ, यही बाँडिचुडी गर्ने हो भने गलत हुन्छः बिजयबहादुर शाह




बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी कम्तिमा पनि ४ गुणाले बढाउने निर्णय गरेको छ । यस्तै नयाँ बीमा कम्पनीहरुलाई संचालनको अनुमति दिने पनि भनिएको छ । समितिको यो निर्णयले बीमा क्षेत्रमा तरंग पैदा गरिदिएको छ । पुँजी बृद्धिलाई खासै चिन्ताको दृष्टिले नहेरिए पनि नयाँ कम्पनीको प्रवेशको सम्भावनालाई धेरैले चासोका साथ हेरेका छन् । अहिले २६ बीमा कम्पनीहरु संचालनमा छन् । नयाँ कम्पनी आउँदा बजारमा कस्तो प्रभाव पर्ला ? अहिले संचालनमा रहेका बीमा कम्पनीहरुले समितिको यो निर्णयलाई कसरी हेरेका छन् ? बीमाको दायरा बढाउन के गर्नुपर्ला भन्ने जस्ता विषयमा नेपाल बिमक संघका अध्यक्ष तथा एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहसँग कुराकानी गरिएको थियो । यी र यस्तै समसामयिक बिषयमा शाहसँग क्लिकमाण्डूले गरेको कुराकानीको अंशः
बीमा समितिले बिमा कम्पनीको चुक्ता पुँजीमा बृद्धि गरेको छ । तोकिएको समयमा पुँजी बृद्धि गर्न सहज छ ?
बीमा कम्पनीहरु आफ्नो क्षमता बढाउनुपर्छ भन्नेमा थिए । त्यसको लागि पुँजी बृद्धिको लागि बोनस सेयर, हकप्रद तथा थप सार्वजनिक निष्कासन(एफपिओ) जारी गरेर पुँजी बढाउन थालेका थिए । निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब पुँजी पुर्याउन उपयुक्त ठानेर त्यो अनुसार अगाडि बढेका छौं । बीमा कम्पनीका प्रकाशित वित्तीय विवरण हेर्ने हो भने निर्जीवन बीमा कम्पनीमा एउटाको १ अर्ब हाराहारीमा पुगेको छ । जीवन बीमा कम्पनीमा पनि एउटा कम्पनीको पुँजी तोकेको भन्दा बढी भइसकेको छ । तोकेको समयमा चुक्ता पुँजी पुर्याउनको लागि कुनै समस्या छैन ।

बीमा समितिले यस पटक पुँजी बृद्धिको लागि सहज व्यवस्था गरेको छ । दुई वर्षको नाफाबाट बोनस दिन सकिने व्यवस्था छ । यस्तै तोकिएको समयमा चुक्ता पुँजी नपुगे समितिले म्याद थप पनि गर्ने भनेको हुँदा पुँजी बृद्धिमा समस्या छैन ।

केही वर्ष अगाडि एउटा स्कुलको बस दुर्घटना भयो । त्यसको क्षतीपूर्ति स्कूलको संचालकले तिर्नुपर्ने भयो । र, त्यो व्यक्ति व्यवसायबाट पलायन भयो । त्यसपछि मैले एउटा बीमालेख जारी गरें । र, स्कुलका बालबालिकालाई दुर्घटना बीमा हुने गरेर त्यो पोलीसी बनाएको थिए । मैले धेरैवटा स्कुलमा त्यसको प्रस्ताव पनि पठाएँ । तर बीमा कसैले गरेनन् ।

पुँजी बृद्धिपछिको चुनौति भनेको बजार यही रफ्तारमा बृद्धि हुन्छ कि हुँदैन भन्नेमा हो । त्यसको लागि नियामक निकाय, बीमा कम्पनी र सरोकारवालाहरु लाग्नुपर्छ । बीमा समितिले ल्याएको निर्देशिकामा नयाँ कम्पनीलाई अनुमति दिने कुरा छ ।

अहिलेको अवस्थामा नयाँ बीमा कम्पनी आउँदा बजारले धान्न सक्छ ?
आजको दिनमा निर्जीवन बीमा कम्पनीको व्यवसाय हेर्ने हो गत वर्ष १५ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन भएको थियो । त्यो भन्दा अघिल्लो वर्ष १२ अर्ब रुपैयाँ आर्जन भएको थियो । यो वर्ष तरलताको संकट आउनुभन्दा अगाडि व्यवसाय विस्तार भएको थियो । आर्थिक बृद्धिदर ६ प्रतिशत भन्दा बढी हुने भनिएको छ । त्यसको प्रभाव निर्जीवन बीमा कम्पनीमा परेको थियो । तर, तरलता अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह हुन छाडेपछि बीमा कम्पनीको व्यवसायमा असर परेको छ । अहिलेकै अवस्था रहे पनि २० देखि २५ प्रतिशतको ग्रोथ रहन्छ ।

जीवन बीमा कम्पनीको हकमा लामो समयसम्म लाभांश घोषणा गर्न पनि पाउनुहुन्छ । ५ वर्षसम्म बीमा कम्पनीले लाभांश घोषणा गर्न नपाइने अवस्था छ । निर्जीवन बीमा कम्पनीको हकमा त्यो व्यवस्था लागू हुँदैन । भोलिको दिनमा पनि नयाँ बीमा कम्पनी सहरमा मात्र केन्द्रीत भएमा अहिले कै केकलाई बाडीचुँडी खाने हो । बजारमा अस्वस्थ प्रतिस्ूपर्धा भयो भने समग्र क्षेत्रमा नराम्रो असर पर्छ । आजको दिनमा बीमाको पहुँच ८ प्रतिशत रहेको छ । त्यो बृद्धि भएमा सबैलाई धान्नपनि सक्छ । तर, बजार बढेन भने कसैलाई पनि राम्रो हुँदैन । नियामक निकाय यही विषयमा चनाखो हुनुपर्छ ।

नयाँ कम्पनीलाई लाइसेन्स दिने विषयमा संघको धारणा के हो ?
संघको आधिकारिक धारणा ल्याउनको लागि बैठक बसेको छैन । केही साथीहरु बाहिर हुनुहुन्छ । पुँजी बृद्धिको विषय सबैले स्वागत गरेको हो । यसको साथै अनिश्चिता पनि यो कतिछिटो परिवर्तन हुन्छ भन्ने हो । बजारको ग्रोथसँगै पुँजी बढेमा लगानीकर्तालाई कुनै समस्या हुँदैन । नयाँ कम्पनीलाई लाइसेन्स दिने वा नदिने भन्ने अधिकार समितिको हो । अहिलेकै बजारले यसलाई धान्न सक्दैन ।

बीमाको पहुँच बृद्धिलाई गर्नुपर्ने कसले के हो ? कसरी बढाउने पहुँच ?
बीमाको लागि पहिलो काम यसको चेतना बढाउने हो । यसमा विभिन्न संघसंस्थाले काम गरिरहेका छन् । हिजोको दिनमा वित्तीय पहुँचमा बैकिङको मात्र कुरा हुन्थ्यो । अहिले वित्तीय बजारमा बीमा सहित सेयर बजार लगायत सबैलाई समेटिएको छ । यसमा विश्व बैंक र एशियाली विकास बैंकले कामपनि गरिराखेका छन् । बीमा जोखिम हस्तान्तरण गर्ने माध्यम हो । यसको पहुँच तल्लो तहसम्म लैजानुपर्छ । लघुवित्तले यसमा कामपनि गरिराखेका छन् । नेपाल बीमक संघले लघुवित्त संघसँग सम्झौता गरेर लघु बीमाको कार्यक्रम चलाउनको अगाडि बढेको छ । यसले बीमाको चेतनामा बृद्धि हुन्छ । हामीले जीवन बीमाको हकमा पनि छुटको अनुपात बढाउन आग्रह गरेका छौं । आजको दिनमा जीवन बीमा गर्दा २० हजार करछुट पाउने व्यवस्थालार्ई १ लाख पुर्याउन भनेका छौं ।

दुई वर्ष अगाडिको भूकम्पले पनि हामीलाई देखाएको छ । पुनर्निमाणको काम ढिला भएको छ । सरकारी भवनको बीमा गर्नपनि हामीले भनेका छौं । यस्तै केही सामाजिक सुरक्षाको क्षेत्रमा आजको दिनमा सरकारले काम गरेको छ । जस्तो स्वास्थ्य बीमाको क्षेत्र एउटा छ, जहाँ काम गर्न सकिन्छ । यस्तै कृषि क्षेत्रमा पनि हामीले ठूलो मात्रामा काम गर्न सक्छौं ।

नयाँ कम्पनी नयाँ सोच सहित आएमा बीमाको बजार बढ्छ होइन ?
नयाँ कम्पनी आएर बजार बढ्छ भन्ने हाम्रो विश्वास हो । हिजोको दिनमा राष्ट्रिय बीमा संस्थान र नेपाल इन्स्योरेन्स मात्र भएको अवस्थामा बीमा काठमाडौैं उपत्यका र केही सहरमा मात्र सिमित थियो । आज प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बीमाको पहुँच ७५ जिल्लामा पुगिसकेको छ । नयाँ कम्पनी आएपछि नयाँ सोच र प्रविधि पनि आउँछ । बीमाको बजार देशको अर्थिक बृद्धि ४ देखि ५ प्रतिशतले बढ्दा बीमा बजार २० देखि २५ प्रतिशतले बढेको छ । हाम्रो स्पीड र देशको स्पीडमा फरक छ । नयाँ कम्पनी आएर दौडिए भने हामी दौडनु पर्छ ।

नयाँ कम्पनी आउने भए भन्ने तपाईलाई चिन्ता लागेको छ कि छैन ?
मैले आफ्नो लक्ष्य निर्धारण गरेको छु । बजार बढाउनको लागि दौडिएर मात्र पुग्दैन । यसको लागि दक्ष जनशक्तिदेखि प्रविधि सबै कुरा चाहिन्छ । तयारी गरेर हिड्दा लक्ष्यमा पुगिन्छ । अहिले सबैजसो बीमा कम्पनीले २० प्रतिशतको हाराहारीमा प्रतिफल दिएका छन् । हामीले अहिलेसम्म सबैको विश्वास जितेका छौ । मेरो चिन्ताको विषय यो विश्वास कायम गर्न सक्छौ कि सक्दैनौ भन्नेमा हो । विश्वास कायम गर्न नसकेमा यसमा बितृष्णा आउन सक्छ । हामी सबैको साझा दायित्व बीमाको पहुँच बढाउँ भन्ने हो ।

भनेपछि संख्याभन्दा बजारको पहुँच बढाउँ भन्न खोज्नु भएको हो ?
बीमा कम्पनीलाई अनुमति दिने वा नदिने भन्ने कुरा नियामक निकायको अधिकारको हो । संविधानले सबैलाई व्यवसाय गर्नको लागि अधिकार दिएको छ । नियामकले आफ्नो मापदण्ड पूरा गरेपछि कुन कम्पनीलाई लाइसेन्स दिने वा नदिने भन्ने निर्णय गर्ने हो । यो हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन । नयाँ क्षेत्रलाई पहिचान गरिएन भने व्यवसाय चल्न गह्रो हुन्छ । आजको दिनमा जसले अहिलेका कम्पनीसँग बीमा गराएका छन् तिनीहरु नयाँ आएपछि त्यसमा जान्छन् भन्ने ग्यारेन्टी हुँदैन । नयाँ कम्पनी प्रविधि,जनशक्ति सबै हिसाबले अहिलेको भन्दा बलियो हुनुपर्छ । अहिलेका कम्पनी १० वर्षको इतिहास बोकेका छन् । १० वर्षमा गरेको यात्रा कसैले रातारात गर्छु भन्दा सफल हुन सक्दैन । हामीले यो उद्योगलाई विश्वास दिलाउने हो ।

तपाईहरुले बीमामा समेट्न नसकेका कुरा के हुन् ?
आजको दिनमा सरकारी कम्पनीको बीमा भएको छैन । हाम्रा सांस्कृतिक धरोहरको क्षेत्र होस् या बाटो वा पुल कसैको बीमा भएको छैन । २ वर्ष अगाडिको भूकम्पले हाम्रो सांस्कृतिक धरोहरको क्षती भएको छ । यसको पुनर्निमाणको लागि हामीले दातृ निकायको सहयोग माग्नु परेको अवस्था छ । सरकारले बीमा गरेको भए यसको रकम बीमा कम्पनीबाट आउने थियो । अब देशभर नगरपालिका घोषणा भएको छ । नगरपालिकाभित्र भूकम्प प्रतिरोधी भवन निर्माणसँगै यस्ता भवनको बीमा गर्न अभिप्रेरित गर्नुपर्छ । सामाजिक सुरक्षामा स्वास्थ्य बीमाको कुरा गरौं । संसारका धेरै देशमा स्वास्थ्य बीमा अनिवार्य छ । यसमा हामीले जोड्न सक्छौं ।

सरकारले दिएको मात्र व्यवसायको भरमा बीमा कम्पनी चलेका छन् । तपाईहरुले आफूले पहिचान गरेको बीमाको व्यवसाय देखिएन नि ?
बैंकले ऋण दियो, अनिवार्य बीमा गराएको हुन्छ । बैंकले बीमा कम्पनीलाई माया गरेर त्यो काम गरेको हो ? होइन । बैंकले आफ्नो जोखिम हस्तान्तरण गरेको हो । अब यातायात क्षेत्रको कुरा गरौं । केही वर्ष अगाडि सडकमा केही भएमा कति दिनसम्म राजमार्गहरु बन्द हुने अवस्था थियो । सरकारले त्यो जोखिमलाई बीमामा लग्यो । तेस्रो पक्ष बीमा गरेपछि सडकमा यस्तो अवरोध भएको छैन । केही दिन अगाडि बस दुर्घटना भयो । त्यसको पैसा बीमा कम्पनीले दिन्छ ।

अनिवार्य गरेको भन्दा अरु बीमा गर्ने भएनन् । किन तपाईहरु बजार बढाउन पुग्नु भएन ?
बीमाको बजारसम्म पुग्नको लागि विभिन्न उपायहरु हुन्छन् । चाउचाउ कम्पनीका प्रतिनिधि हाम्रो घरमा यो चाउचाउ खानुहोस् भन्दै आउँदैनन् । हामीले प्रवाह गर्ने सन्देश हो । आम संचारको माध्यमबाट यो काम भएको पनि छ । हामीले बीमा गरौं, भूकम्पको क्षतीबाट बचौं भनिरहेका छौं । घरमा पुग्दैमा बीमा हुन्छ भन्ने हुँदैन । मैले एउटा कर्मचारीलाई भैसेपाटीमा हरेक घरमा बीमा गर्नको लागि घर घरमा मार्केटिङ गर्न पठाए । तर, कोही पनि बीमा गर्नको लागि आएनन् । केही वर्ष अगाडि एउटा स्कुलको बस दुर्घटना भयो । त्यसको क्षतीपूर्ति स्कूलको संचालकले तिर्नुपर्ने भयो । र, त्यो व्यक्ति व्यवसायबाट पलायन भयो । केही बच्चाहरुको मृत्यु भयो । त्यसपछि मैले एउटा बीमालेख जारी गरें । र, स्कुलका बालबालिकालाई दुर्घटना बीमा हुने गरेर त्यो पोलीसी बनाएको थिए । मैले धेरैवटा स्कुलमा त्यसको प्रस्ताव पनि पठाएँ । तर बीमा कसैले गरेनन् ।