वैदेशिक लगानी भित्राउन पहिलो प्राथमिकता नीतिगत सुधार




काठमाडौं । वैदेशिक लगानी अकर्षित गर्न नीतिगत सुधारका साथै प्रकृयागत सुधारलाई समेत अघि बढाउने निष्कर्ष उच्च स्तरिय वैदेशिक लगानी अनुगमन तथा समन्वय समितिको गरेको छ ।

समितिका संयोजक उद्योग मन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा आईतवार उद्योग मन्त्रालयमा बसेको बैठकले वातावरण सम्वन्धी मुल्यांकलन प्रकृया प्रारम्भिक वातारणीय परिक्षण र वातावरणीय प्रभाव मूल्यांकनलाई सरलिकृत बनाउने र अन्तर मन्त्रालय बीचको समन्वयलाई प्रभावकारी रुपमा अगाडी बढाउने निष्कर्ष समेत निकालेको छ ।

बैठकमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले एक महिना अगाडी काठमाडौंमा सम्पन्न अन्तराष्ट्रिय लगानी सम्मेलनबाट अन्तराष्ट्रिय जगतमा नेपाल एफडिआई भित्र्याउन तयार छ भन्ने सन्देश गएको बताए ।

‘सम्मेलनमा र सम्मेलन पछिका दिनमा नेपालमा लगानी गर्न विदेशी लगानी कर्ताहरुको जुन किशिमको उत्साह र चासो देखिएको छ’,उनले भने, ‘त्यै अनुरुपको चासो र उत्साह नेपालका नीजि क्षेत्रमा नदेखिनु दुखद भएको र सम्मेलनमा व्यक्त प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्न सकारात्मक ढंगले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडी बढ्न तयार छ।’

बैठकमा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले वैदेशिक लगानी भित्र्याउने प्रकृयालाई सरलिकृत गरी कार्यान्वयन चरणमा लैजान उद्योग मन्त्रालयले कार्य सुरु गरिसकेको बताए ।

पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले वन र वातावरणको संरक्षण गर्दै हाम्रा नीति नियमहरुलाई लगानी मैत्री बनाउन जरुरी रहेको बताए । कतिपय परियोजनाहरु सरकारकै नीतिगत अस्पष्ठताका कारण कार्यान्वयन तहमा जान ढिलाई भईरहेको भन्दै उनले दोस्रो अन्तराष्ट्रिय विमानस्थल कुन मोडलमा बनाउने भन्नेमा अन्यौल रहेको बताए ।

वैठकमा लगानी वेर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनमा व्यक्त आशय पत्रलाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजान टिओआर बनाएर प्रोजेक्ट बैंक उप समितिले काम अगाडी बढाईसकेको बताए ।
नेपाल उद्योग वाणिज्य महासँघका अध्यक्ष पशुपति मुरारकाले काम गर्ने तरिकामा सुधार नआाए लगानी सम्मेलनमा आएको इच्छापत्र मन्त्रजपमा मात्र सिमित हुने बताए । उनले अन्तरमन्त्रालय समन्वयनमा हुनुपर्ने र उद्योगको बारेमा उद्योगमन्त्रालयबाट अनुमती लिएपछि अन्यन्त्र अनुमती नलिने व्यवस्था माग गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले समयसिमा तोकेर काम गर्नुपर्ने बताए । नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले ठूलो रकमको प्रतिबद्धता आएको हुँदा त्यसलाई भित्राउने गरेर काम गर्नुपर्ने बताए ।
उद्योग मन्त्री नवीन्द्रराज जोशीलाई आजै वन कृषि र खनिजमा आधारित उद्योगहरुको सम्भाव्यता वारे अध्ययन गर्न गठित समितिले उसको प्रारम्भिक प्रतिवेदन हस्तान्तरण गरेको छ ।

पुर्व सचिव डा स्वयम्भुमान अमात्यको सो समितिलाई वन ,कृषि र खनिजमा आधारित उद्योगको सम्भाव्यता, कच्चा पदार्थको उपलब्धता, त्यस्ता उद्योगहरु वन्द हुनाका कारण नीतिगत सुधारको अवश्यकता र उत्पादित बस्तुको बजारिकरणका लागि सरकारले गर्नुपर्ने कार्यहरुका वारेमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्ने कार्य दिशा थियो ।


क्लिकमान्डु