बीमा समूहले गर्दा नेप्सेमा उछाल, ५ प्रतिशत बजार बढ्दा कारोबार बन्द



काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी बृद्धि गर्ने निर्णय गरेपछि साताको कारोबारको पहिलो दिन नेप्सेमा उछाल आएको छ । शुक्रबार बीमा समितिले जीवन बीमा कम्पनीको २ अर्ब र र्निजीवन बीमा कम्पनीको १ अर्ब न्युनतम पूँजी पु¥याउनुपर्ने निर्णय सार्वजनिक गरको थियो ।

आइतबार बीमा उप—सुचक ९.३४ प्रतिशत, अर्थात ७३३.३७ अंकले बढेको छ ।

आइतबार बीमा कम्पनीहरुको सेयरमा खरिदकर्ताको निकै चाप थियो । सिद्धार्थ इन्स्योरेन्सको सेयरमा हजारौं कित्ताको खरिद अर्डर थियो भने सेयर बेच्ने बजार पसेनन् ।

पहिलो सर्किट ब्रेक लागेर आधा घण्टाका लागि कारोबार रोकिएकोमा त्यसपछि फेरि बजार खुल्दा पाँच प्रतिशतले बजार बढेको थियो । त्यसपछि भने आजका लागि कारोबार बन्द भयो । चार घण्टाको कारोबार समय भए पनि आज सर्किट ब्रेकका कारण २ घण्टामात्र कारोबार भएको बजार ७९.४७ अंकले बढेर १६६७.११ अंकमा बन्द भयो ।

आइतबार १३२ कम्पनीको १६ लाख ४५ हजार १ सय ४९ कित्ता सेयर कारोबार भयो । २ घण्टामात्र कारोबार भएका कारण कारोबार रकम भने ९४ करोड ३७ लाख ५९ हजार ४ सय २९ रुपैंयाँ भन्दा बढ्न सकेन ।

खासै उतरचढाव नभएको र निरन्तर बढेको बजारमा सबै उप—सुचकहरु बढे । सबैभन्दा बढि उछाल आएको बीमा समूह ७३३.३७ अंकले बढ्यो । यस्तै, बैंकिङ ७०.६, होटेल ८७.१३, बिकास बैंक ८८.२९, जलबिद्युत ६८.९१, बित्त १६.७५, उत्पादन ३१.०९ र अन्य समूह ७.८१ अंकले बढेका छन् ।

आइतबार सबैभन्दा बढि कारोबार नेशनल लाइफ इन्स्योरेन्सको भयो । पुस मसान्तसम्म १ अर्ब ३२ करोड चुक्ता पूँजी भएको कम्पनीको १४ करोड २६ लाख रुपैंयाँको कारोबार भएको छ । दोस्रोमा, शिखर इन्स्योरेन्सको ७ करोड ७० लाख रुपैंयाँको कारोबार भएको छ । पुस मसान्तसम्म शिखरको ८१ करोड ७६ लाख रुपैंयाँ चुक्ता पूँजी छ । तेस्रो सबैभन्दा बढि कारोबार हुनेमा नेपाल बैंक रहेको छ । बैंकको ५ करोड २७ लाख रुपैंयाँको कारोबार भयो । यसैगरी एनसिसि बैंक र नेपाल लाइफ इन्स्योरेन्सको क्रमशः ५ करोड १५ लाख र ४ करोड ७५ लाख रुपैंयाँको कारोबार भयो ।

आज ३८ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढिले कमाए । प्राय सबै बीमा कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । १० प्रतिशतले बढ्दा पनि बिक्रेताको भने चरम अभाव देखिएको छ । बीमा कम्पनीका अलावा हाम्रो बिकास बैंक, लक्ष्मी लघुवित्त, नेपाल ग्रामीण विकास बैंक लगायत कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

सर्किट लागेर बन्द भएको बजारमा पनि सेती फाइनान्सका लगानीकर्ताले ३.७० प्रतिशतले गुमाएका छन् । यस्तै ग्लोबल आइएमइ संयुक्त स्किमको सेयर मुल्य १.९६, काबेली बिकास बैंकको १.८४ र रिडि हाइड्रोको १.६७ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु