नीतिगत निर्णय गर्न नसक्ने अबस्थामा राष्ट्र बैंक, अर्थमन्त्रालय भन्छः हुँदैछ




काठमाडौं । नेपाल राष्ट्र बैंक नीतिगत निर्णय गर्न नसक्ने अबस्थामा पुगेको छ । सरकारले नियुक्त गरेका बाह्य संचालक बिना संचालक समिति बैठक बस्न नसक्ने कानुनी ब्यवस्थाको कारण यस्तो समस्या आएको हो ।

कम्तिमा पनि १ जना बाह्य संचालक उपस्थित नभएको अबस्थामा संचालक समितिको बैठक बस्न नसक्ने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डित बताउछन् ।

‘एक जना पनि बाह्य संचालक उपस्थित नभएको अबस्थामा संचालक समितिको बैठक बस्न कानुनी रुपमा मिल्दैन, बैठक नबस्दा संचालक समितिबाट स्वीकृत हुनुपर्ने कतिपय विषय प्रभावित हुन्छन्,’ गभर्नर कार्यालयका निर्देशक समेत रहेका पण्डितले क्लिकमाण्डूसँग भने ।

अहिले राष्ट्र बैंकमा पदेन संचालक मात्रै छन् । गभर्नर अध्यक्ष रहने संचालक समितिमा अर्थमन्त्रालयका सचिब तथा डेपुटी गभर्नरद्धय पदेन संचालक रहने कानुनी ब्यवस्था छ ।

संचालकद्वय डा रामहरि अर्याल र श्रीराम पौडेलको कार्यकाल गत मंगलबारदेखि सकिएको हो । अर्का संचालक बिकेमान सिंहले सर्बोच्च अदालतको आदेशको कारण संचालक पदमा काम गर्न पाउँदैनन् ।

राजनीतिक तहमा सहमति गरेर संचालक नियुक्तिको प्रक्रिया अगाडि बढाउन पहल भइरहेको अर्थसचिब डा. शान्तराज सुबेदीको भनाइ छ ।

‘विज्ञ संचालक तत्काल नियुक्त नगर्दा समस्या पर्छ, राजनीतिक तहमा सहमति गरेर चाँढै नै संचालक नियुक्ति गर्ने गृहकार्य भइरहेको छ,’ डा. सुबेदीले क्लिकमाण्डूसँग भने ।

आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने हुदैछ । सो निर्वाचनको आचारसंहिता लागेको कारण राष्ट्र बैंक संचालक नियुक्तिको लागि सरकारले निर्वाचन आयोगसँग सहमति लिनुपर्ने हुन्छ ।

आयोगले शैद्धान्तिक सहमति नदिने भएकोले नियुक्त गरिने ब्यक्ति तय गरेर सहमति माग्ने प्रक्रिया अगाडि बढाइने डा. सुबेदीले जानकारी दिए ।


क्लिकमान्डु