बैंकबाट ऋण नपाएपछि घरजग्गा कारोबार ओरालो




काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको कडाईसँगै घरजग्गा कारोबार ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत अप्रत्यक्ष रुपमा घरजग्गा कारोबारमा कडाई गरेको थियो भने थप ऋण प्रवाह नगर्न सचेत बनाएको थियो ।

सरकारले माघ महिनासम्म घरजग्गा कारोबार वापत संकलन हुने रजिष्ट्रेशन दोब्बर बढी रकमले असुल गरेपनि फागुन महिनामा भने लक्ष्य अनुसारको संकलनपनि भएको छैन ।

विभागका निर्देशक शुशीलप्रसाद आचार्यका  केन्द्रीय बैंकले लिएको नीतिका कारण घरजग्गा कारोबारमा कमी आउँदा राजस्व घटेको बताउँछन । ‘फागुन महिनामा १ अर्ब ५४ करोड रुपैयाँ लक्ष्य लिइएकोमा १ अर्ब ५३ करोड रुपैयाँ मात्र संकलन भएको छ ।’ उनले भने, ‘कुल रकममा लक्ष्य भन्दा केही मात्र राजस्व संकलन भएपनि आगामी दिन अझै घट्ने छ।’

विभागका अनुसार सबैभन्दा बढी कारोबार हुने काठमाडौं उपत्यकाका मालपोतमा कारोबारमा कमी आएको छ ।

माघ महिनामा काठमाडौं डिल्ली बजार मालपोत कार्यालयमा १७ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा १२ करोड ८३ लाख रुपैयाँ सिमित भएको छ ।

यस्तै, कलंकी कार्यालयमा माघ महिनामा १३ करोड ८६ लाख रुपैयाँ राजस्व संकलनमा भएकोमा फागुनमा ११ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै माघ भक्तपुर मालपोत कार्यालयबाट १२ करोड ९३ लाख ललितपुरबाट १४ करोड ८४ करोड राजस्व संकलन भएकोमा फागुन महिनामा क्रमश १० करोड ६२ लाख र ११ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

चालु आवको पहिलो चौमासिकको तथ्यांक अनुसार घरजग्गा कारोबारबाट संकलन हुने राजस्वमा लक्ष्य भन्दा १ सय ७३ प्रतिशतले वृद्धि भएको थियो । विभागका अनुसार यस अवधिमा ३ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा ५ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।


क्लिकमान्डु