रोल्पामा कृषिबाट मनग्य आम्दानी, २८ वटा कृषक पाठशाला सञ्चालनमा



रोल्पा । लिवाङ–६ का रुपलाल ओली  काँक्रो, गोलभेँडा, फर्सी, च्याउलगायत बेमौसमी तरकारीखेती गरेर एउटा याममा तीन लाख रुपैयाँसम्म आम्दानी गर्छन् । उनले वार्षिक १६ रुपैयाँ तिरेर भाडामा जग्गा लिई व्यवसाय गर्दै आएका छन्।

जिल्लास्थित एक गैरसरकारी संस्थामा कार्यालय सहयोगीका रुपमा समेत काम गर्दै आएका ओली बिहान बेलुका तरकारी खेती गर्नमै व्यस्त रहन्छन् । जागिरलाई अस्थायी र कृषिलाई स्थायी पेसा मान्दै आएका उनी कृषिबाट मनग्य आम्दानी गरिरहेका छन् ।

यस्तै धवाङ– ३ का ऋषिराम रोका लिवाङमा अलैँचीखेती गर्छन् । उनले अलैँचीखेतीबाट वार्षिक १४ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन् । विगतमा राजनीति प्यारो लागे पनि अहिले कृषि पेसा प्यारो लाग्ने गरेको उनी बताउँछन् ।

गत वर्षसम्म जग्गा भाडामा लिई नर्सरी स्थापना गर्नुभएका रोकाले अहिले आफैँ जग्गा खरिद गरी व्यवसाय गरिरहेका छन् । उनले देवदार, श्रीखण्ड, खोटे सल्ला, सागुन, सुगन्ध कोकिला, टिमुर, अलैँची, किबी, राई खनियोलगायत प्रजातिको नर्सरी स्थापना गरेका छन् । रोल्पा, सल्यान, प्यूठान, दैलेखलगायत जिल्लाबाट समेत बिरुवाको माग आउने गरेको उनले बताए।

जिल्ला कृषि विकास कार्यालयले रोकालाई अलैँची नर्सरीका लागि अनुदान उपलब्ध गराएको हो । उत्पादित बिरुवा कार्यालयले नै खरिद गर्ने गरेको उनी बताउँछन् ।

यस्तै लिवाङमा रहेको सिर्जनशील कृषि महिला सहकारी संस्थाले यस वर्ष मकैको बीउ बिक्री गरेर एक लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ । बीउ उत्पादनबाट प्राप्त आम्दानीले सहकारीमा आबद्ध सदस्यलाई आर्थिक रुपमा सबल बनाउन मद्दत पुगेको  सिर्जनशील कृषि महिला सहकारी संस्थाका अध्यक्ष हिरा घले बताउँछिन् ।

जिल्लाका अन्य कृषि सहकारीले समेत बीउ उत्पादन गर्दैआएका छन् । यस वर्ष खाद्य सुरक्षा परियोजनाको सहयोगमा जिल्लाका गैरीगाउँ, घर्तीगाउँ, जंकोट, जैमाकसला, वडाचौर, मिझिङ, जुगार, लिबाङलगायतका ठाउँमा २८ वटा कृषक पाठशाला सञ्चालन गरेको छ ।

कृषकलाई प्राविधिक सीप हस्तान्तरण गर्ने, समूहलाई सशक्तीकरण गर्ने र कृषकको जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यका साथ कृषक पाठशाला सञ्चालन गरेको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए। अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण कृषक पाठशालामा महिलाको सहभागिता अत्यधिक रहेने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको करिब चार हजार ८९० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । सो क्षेत्रफलका लागि २४५ मेट्रिक टन बीउ आवश्यक पर्छ । जिल्लामा ४० मेट्रिक टन धान उत्पादन हुन्छ ।

यसैगरी १२ हजार ६६० हेक्टरमा उत्पादन गरिने मकैका लागि २५४ मेट्रिक टन बीउ आवश्यक पर्छ । जिल्लामा २९ मेट्रिक टन मकै उत्पादन हुन्छ । यस्तै आठ हजार ५७० हेक्टर क्षेत्रफलमा लगाइने गहुँका लागि एक हजार २८ मेट्रिक टन बीउ आवश्यक पर्छ । करिब २७ मेट्रिक टन गहुँ उत्पादन हुन्छ ।