ठाउँठाउँमा सुरुङमार्ग, ७२ किलोमिटर लामो सहर, यस्तो बन्दैछ बाहिरी चक्रपथ




काठमाडौं । बाहिरी चक्रपथ निर्माणका लागि बाहिरी चक्रपथ निर्माण आयोजनाले ८० हजार रोपनी जग्गा अधिकरण गर्ने भएको छ । आयोजनाले बाहिरी चक्रपथ निर्माणसँगै व्यवस्थित सहर निर्माणका लागि जग्गा अधिकरण गर्न लागेको हो ।

आयोजनाले जनताको जग्गा अधिकरणबापत मुअब्जा भने दिने छैन । तर, अधिकरण गरेको जमिनलाई व्यवस्थित सहरको रुपमा विकास गरेर पुनः जनतालाई हस्तान्तरण गर्ने आयोजनाका शाखा अधिकृत धुब्र सापकोटा बताउँछन् ।

‘आयोजनाले सडक निर्माण बाहेकको प्रयोजनको लागि पनि जग्गा अधिकरण गर्नेछ, सडकआसपास बनाइने ब्यवस्थित सहर र अन्य सुबिधाजनक पूर्वाधारको लागि पनि जग्गा अधिकरण गरिन्छ,’ सापकोटाले क्लिमाडूसँग भने ।

आयोजनाले अधिकरण गरेको जमिन बापत जनतालाई मुअब्जा नदिए पनि जनता निराश हुनु पर्ने कारण छैन । हाल कायम रहेको जग्गाको मुल्यभन्दा आयोजना सम्पन्न भएमा जग्गाको मुल्यसँगै व्यवस्थित सहर पाउने छन् ।

किन आवश्यक छ बाहिरी चक्रपथ ?
काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यवस्थित सहरीकरणका कारण सहर कुरुप बन्दै गएको छ । उपत्यकालाई व्यवस्थित बनाउनका लागि बाहिरी चक्रपथ आवश्यक देखिएको आयोजनाको भनाइ छ । बाहिरी चक्रपथ निर्माण भएमा भित्री चक्रपथ र त्यसका आसपासमा बढी आश्रित जनतालाई राहत हुनेछ ।

उपत्यकाको अन्य स्थानमा सडक संजाल विस्तार गरेर व्यवस्थित सहर विकास भएमा उपत्यकाका जनताले हालका दिनमा भोग्नु परेको ट्राफिक लगायत अन्य धेरै समस्या हल हुनेछ । सुविधा खोज्दै अहिलेको चक्रपथ तथा आसपासको क्षेत्रमा केन्द्रित हुने भएकाले उपत्यका भित्र नै व्यवस्थित सहरीकरण हुन सकेको छैन ।

बाहिरी चक्रपथ निर्माण भएमा काँठ क्षेत्रमा बसोबास गरेर पनि मानिसले भित्री सहरको जस्तै सुविधा उपभोग गर्न सक्नेछन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डे यकिन विवरण नभए पनि उपत्यकामा करिब ११ लाखको हाराहारीको गाडी रहेको बताउछन् । यी सबै गाडीहरु भित्री चक्रपथ र आसपासका सडकमा गुड्ने गरेका छन् । जसले गर्दा हालको समयमा उपत्यकामा ट्राफिकको अधिक समस्या देखिने गरेको छ ।

उपत्यकाका भित्री चक्रपथ र आसपासको क्षेत्र व्यवस्थित सहर बन्न नसकेका कारण सहर कुरुप बन्नुका साथै ट्राफिक व्यवस्थापनमा पनि समस्या बढ्दै गएको छ ।

आजभन्दा एकदशक अगाडीदेखि नै काठमाडौं उपत्यका लागि व्यवस्थित बनाउन बाहिरी चक्रपथको अवधारण अगाडी सारिएको थियो ।

कसरी निर्माण हुन्छ बाहिरी चक्रपथ ?
बाहिरी चक्रपथ र व्यवस्थित सहर विकासका लागि आयोजनलाई ८० हजार रोपनी जमिन आवश्यक हुन्छ । योजनाले आवश्यक सबै जमिन स्थानीयबाट अधिकरण गरेर किनबेच बन्द गर्नेछ । सर्बसाधारणको स्वामित्वमा रहेको कूल जमिनको ९ प्रतिशत मात्रै आयोजनाले अधिकरण गर्ने तयारी थालेको सापकोटाले जानकारी दिए ।

कस्तो हुन्छ बाहिरी चक्रपथ ?
७२ किलोमिटर लम्बाइको चक्रपथको चौडाइ ५० मिटरको हुनेछ । यसबाहेक सडक केन्द्रबाट दायाँ २ सय ५० मिटर र सोही परिमाणमा बायातर्फको जमिन अधिकरण गरिनेछ । सडक बाहेकको दायाँ २५० मिटर र बायाँ २५० मिटरमा ब्यवस्थित सहरको लागि आवश्यक भौतिक पूर्वाधार तयार पारिनेछ ।

सो स्थानमा ब्यवस्थित सहरका लागि आवश्यक सडक संजाल, ढल निकास, खुला क्षेत्र जस्ता भौतिक पूर्वाधारको बिकास गर्ने आयोजनाले जानकारी दिएको छ ।

बाहिरी चक्रपथको लम्बाई काठमाडौंमा ३५ किलोमिटर, भक्तपुरमा २१ किलोमिटर र ललितपुरमा १६ किलोमिटर पर्ने गरी प्रस्ताव गरिएको छ ।

कसरी निर्माण गरिन्छ ?
आयोजनाले बाहिरी चक्रपथलाई १० खण्डमा विभाजन गरि निर्माण गर्ने योजना बनाएको छ । पाइलट प्रोजेक्टको रुपमा चोभार–गाम्चा–सतुंगल खण्ड पहिलो चरणमा निर्माण हुनेछ । चोभार–गाम्चा–सतुंगल खण्डले आयोजनाको ६.६ किलोमिटर हिस्सा ओगट्छ । सो खण्ड निर्माणका लागि आयोजनाले ८ हजार ५ सय रोपनी जग्गा अधिकरण गर्नुपर्ने हुन्छ ।

सो खण्डको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) तयार पारेर आयोजनाले सहरी विकास मन्त्रालय पठाइसकेको छ । मन्त्रालयबाट डिपिआर स्वीकृत हुने वित्तिकै निर्माण सुरु गरिने सापकोटा बताउँछन् ।

कसरी विभाजन गरिएको छ, खण्ड ?
चोभार–सतुंगल
सतुंगल–पैयाटार
पैंयाटार–टोखा
टोखा–गोकर्णेश्वर
गोकर्णेश्वर–थली, डाँची
थली, डाँची–भाते ढिकुरो
भाते ढिकुरो–राधेराधे
राधेराधे–लुभु,
लुभु–हरिसिद्धि
हरिसिद्धि–चोभार

अहिलेसम्मको प्रगति
आयोजनाका अनुसार भाते ढिकुरो–राधेराधे सडक खण्ड अरनिको राजमार्ग (कोटेश्वर–सुर्यविनाय) लाई ओभर ल्याप गर्नु पर्ने भएकाले सो क्षेत्रमा डिपिआर आवश्यक छैन । सो खण्डमा पहिलेदेखि नै ६ लेनको सडक निर्माण भइसकेको छ ।

टोखा–गोकर्णेश्वर बाहेक अन्य स्थलको डिपिआर तयार भईसकेको छ । सो खण्डमा पहाड पर्ने भएकाले आयोजना सुरुङमार्ग निर्माण गरेर अगाडी बढ्ने तयारीमा छ ।

कति लाग्छ ? कसले दिन्छ पैसा ?
बाहिरी चक्रपथ निर्माणको लागि ६ अर्ब ३६ करोड रुपैंया लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । बाहिरी चक्रपथ चीन सरकारकोे आर्थिक सहयोगमा बन्न लागेको हो ।

चक्रपथ बनेपछिको फाइदा
चक्रपथ उपत्यकाको काँठ क्षेत्र केन्द्रित हुनेछ । राजधानी नजिकै बस्ती भए पनि काँठ क्षेत्र विकास हुनुपर्ने गतिमा विकास हुन सकेको छैन । चक्रपथ निर्माण पछि त्यो भेगमा बसोबास गर्ने जनताले यातायातको सहज उपयोग गर्न सक्नेछन् । व्यवस्थित सहरका लागि आवश्यक पूर्वाधार निर्माण हुनेछ । पुर्वाधार निर्माण भएपछि त्यो क्षेत्रमा व्यवस्थित बस्ती बस्नेछ ।

बाहिरी चक्रपथले देशका अन्य भागबाट उपत्यका छिर्ने प्रमुख नाका छुने हुँदा यातायात सहज हुने आयोजनाको दाबी छ ।

तीब्र जनसंख्या वृद्धि, अव्यवस्थित शहरीकर, साँघुरो बस्ती, भित्री चक्रपथमा केन्द्रित सुविधा आदि कारणले पनि बाहिरी चक्रपथ अति आवश्यक देखिएको सापकोटा बताउछन् ।


क्लिकमान्डु