कालीगण्डकी करिडोर निर्माणले जलयात्रा जोखिममा



पर्वत । कालीगण्डकी करिडोर निर्माण कार्यका कारण जलयात्रा (र्याफ्टिङ) प्रभावित बनेको छ ।

करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुङ्गा,माटो नदीमा खस्ने क्रम नरोकिएपछि जलयात्रा प्रभावित बनेको हो । नदी माथिको बागलुङ क्षेत्रबाट करिडोर निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको छ । सडक निर्माणका कारण जलयात्राका लागि कालीगण्डकी पुगेका स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् ।

करिडोर निर्माणका क्रममा नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान फुटाउँदा नदीको बीच भागसम्म नै ढुङ्गा आउने गरेको छ । यसरी ढुङ्गा आएपछि नदीमा जलयात्रा गर्न जोखिमपूर्ण रहेको नेपाल र्याफ्टिङ एसोसिएन एजेन्सी (नारा) पश्चिमाञ्चलका अध्यक्ष मीनबहादुर मगरले बताए ।

पर्वतको कुश्मा नगरपालिका– १ नयाँ पुलबाट सुरु हुने जलयात्रामा कालीगण्डकी नदीको मोदीवेणी खण्डसम्म सहज रुपमा जलयात्रा सञ्चालन हुँदैआएको छ । तर मोदीवेणीदेखि पर्वत,स्याङजा र गुल्मीको  सिमानामा पर्ने सेतीवेणीसम्मको भागमा वलयात्रा जोखिम रहेको नाराका सदस्य देव रेग्मीले बताए।

‘अघिल्लो याममा पटक/पटक अनुरोध गरेपछि ब्लास्टिङ कार्य रोकेर जलयात्रा गरेका थियौँ,’ उनले भने । अहिलेको याममा सहज रुपमा जलयात्रा सञ्चालन गर्न अन्योल भएको छ । करिडोर निर्माण गर्ने निकायले समयको व्यवस्थापन गरेर निर्माण कार्य सञ्चालन गरे मात्र यात्राको जोखिम घट्ने उनको भनाइ छ ।

चालु आवदेखि जिल्ला विकास समिति पर्वतले जलयात्रा व्यवसायमा कर प्रणाली लागू गरेपनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको कर सङ्कलन व्यवसायी राजन गुरुङले गुनासो गरे । जिविस पर्वतले ठूलो र सानो गरी ५० रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म प्रतिढुङ्गा कर सङ्कलन गर्दै आएको छ ।

याम सुरु भएसँगै कालीगण्डकीमा दिनहुँ जसो जलयात्राका लागि  पर्यटक भित्रिने गरेका छन् । पोखरामा रहेका पर्यटन व्यवसायी तथा र्याफ्टिङ एजेन्सीले पर्वतको नयाँ पुलदेखि स्याङ्जाको मिर्मी खण्डसम्म तीन दिनको जलयात्रा गराएर पर्यटकलाई मनोरञ्जन दिलाउँदै आएका छन् ।

अन्य मौसमभन्दा मार्चदेखि मे महिनासम्मको याम जलयात्राका लागि उपयुक्त मानिन्छ । जलयात्राका लागि पोखराबाट दैनिकजसो ३० जनाभन्दा बढी पर्यटक कालीगण्डकी आउने गरेका छन् ।


क्लिकमान्डु