यसकारण पो उम्मेद्वारी घोषणा गर्न काठमाडौं बाहिर जाँदा रहेछन् व्यवसायीका नेता



काठमाडौं । गत फागुन २२ गते बिराटनगर पुगेर किशोर प्रधानले नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षको पदका लागि आफ्नो उम्मेद्वारी घोषणा गरे ।

जिल्ला उद्योग वाणिज्य संघ, मोरङले प्रधानको उम्मेद्वारी घोषणाका लागि कार्यक्रमको आयोजना गरेको थियो ।

प्रधानको उम्मेद्वारी घोषणासभा कार्यक्रममा करिब आधा दर्जन जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरु उपस्थित थिए ।

व्यवसाय गर्ने सवालमा प्रधानले अधिकांस समय काठमाडौंमै विताउँछन् । तर, किन उम्मेद्वारी घोषणा गर्न बिराटनर पुगे ?

प्रधानमात्रै होइन, महासंघका बरिष्ठ उपाध्यक्ष पदका लागि अर्का उम्मेद्वार शेखर गोल्छाले चैत ६ गते आइतबार बुटवलबाट आफ्नो उम्मेद्वारी घोषणा गर्दैछन् ।

गोल्छाको उम्मेद्वारी घोषणा कार्यक्रमको आयोजना बुटवल उद्योग वाणिज्य संघले गरेको हो । त्यसका लागि गोल्छाको टिमका उम्मेद्वार र समर्थक पूर्वअध्यक्ष तथा व्यवसायीहरुको जम्बो टोली बुटवल जाँदैछ ।

गोल्छाको उम्मेद्वारी घोषणासभामा समर्थन जनाउन ५० जिल्लाका जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधि आउने दाबी गरिएको छ ।

काठमाडौं बसेर व्यवसाय गर्ने प्रधान र गोल्छा किन आफ्नो उम्मेद्वारी घोषणा गर्न बिराटनगर र भैरवहा गएका होलान् ?

महासंघका अध्यक्ष पशुपति मुरारकाले क्लिकमाण्डूसँग भने- ‘महासंघको चुनाबमा जिल्ला तथा नगरको मतको वेटेज ५० प्रतिशत छ । त्यही मतलाई आकर्षित गर्न उम्मेद्वारहरु आफ्नो उम्मेद्वारी घोषणा गर्न काठमाडौं बाहिर गएका हुन् ।’

मोफसका संघहरुले आफ्नो समर्थनसहित आफ्नो जिल्ला वा क्षेत्रबाट उम्मेद्वारी घोषणा गरिदिन आग्रह गरेपछि उम्मेद्वारहरु बाध्य भएर मोफसल जानु परेको मुरारकाको भनाइ छ ।

‘चुनाबको बेला जिल्लाका साथीहरुले हाम्रो जिल्लामा आएर उम्मेद्वारी घोषणा गरिदिनुहोस्, हामी तपाईलाई खुलेआम समर्थन गर्छौं भनेपछि बाहिर गएर उम्मेद्वारी घोषणा गर्नु भनेको चुनावी शक्ति प्रदर्शन पनि हो,’ मुरारकाले भने ।

मुरारकाका अनुसार यसरी मोफसलबाट उम्मेद्वारी घोषणा गरिसकेपछि काठमाडौंमा ठूलै जमघट गरेर त्यसलाई औपचारिकता दिनेछन् ।


पुष्प दुलाल