के भइरहेको छ, उद्योग वाणिज्य महासंघको चुनाव ?



काठमाडौं । नयाँ नेतृत्व चयनका लागि चैत अन्तिम साता हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनाब हुँदैछ । चुनाब नजिकिँदै गर्दा व्यवसायीका नेताहरुले धमाधम उम्मेद्वारी घोषणा गरिहेका छन् ।

बरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोर प्रधानले उम्मेद्वारी घोषणा गरिसकेका छन् । महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने भएकाले यो पटकको निर्वाचनको केन्द्रबिन्दु हो, बरिष्ठ उपाध्यक्ष पद ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधानको टिमबाट बस्तुगत तर्फको उपाध्यक्षमा शंकर प्रसाद पाण्डेले शनिबार टिम घोषणा गर्दैछन् ।

‘अहिले टिम निर्माणमा जुटेको छु, शनिबार बेलुका सबै सदस्यहरु सहितको टिम घोषणा गर्ने छु’ पाण्डेले क्लिकमाण्डूसँग भने । पाण्डेका अनुसार उनले उपाध्यक्षसहित १४ जनाको टिम घोषणा गर्दैछन् ।

बिगत ९ बर्षदेखि बस्तुगततर्फबाट निरन्तर कार्यसमिति सदस्य रहेका पाण्डेसँग बैंक, वित्तीय तथा बीमा समिति सभापति रहेर काम गरेको अनुभब छ ।

पाण्डेको चुनाबी भिडन्त उमेशलाल श्रेष्ठसँग हुनेछ । किनभने बरिष्ठ उापाध्यक्षका उम्मेद्वार गोल्छाको प्यानलबाट श्रेष्ठ बस्तुगत तर्फको उपाध्यक्षको उम्मेद्वार बन्ने पक्कापक्की छ ।

श्रेष्ठसँग महासंघको वर्तमान कार्य समितिमा उद्योग समिति सभापति भएर काम गरेको अनुभव छ ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वार गोल्छाले आइतबार बुटवलबाट उमेद्वारी घोषणा गर्दैछन् । गोल्छासँगै उनको टिमबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले उमेद्वारी घोषणा गर्ने छन् ।

सबै कुरा मिल्यो भने बस्तुगत र एसोसिएटको उपाध्यक्ष पनि घोषणा हुनसक्ने श्रेष्ठले क्लिकमाण्डूलाई जानकारी दिए ।

गोल्छाको टिमबाट एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल र बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ उमेद्वार बन्ने पक्का भइसकेको छ । त्यसैगरी, कोषध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान उमेद्वार बन्नेछन् ।

बरिष्ठ उपाध्यक्षमा सबैभन्दा पहिला किशोर प्रधानले बिराटनगरबाट उम्मेद्वारी घोषणा गरेका थिए ।


पुष्प दुलाल