रानी पोखरी माझको बालगोपालेश्वरको पुननिर्माण एक महिनामा सुरु




काठमाडौं । पुरात्व विभागल रानीपोखरीको बीच मागमा रहेको बालगोपालेश्वर मन्दिरको पुननिर्माण प्रक्रियामा एक महिना भित्र सुरु हुने भएको छ ।

बालगोपालेश्वर मन्दिरको पुननिर्माण एक महिना भित्रै सुरु गर्ने गरी पुरात्व विभागले टेण्डर आवहान गरेको छ ।

बालगोपालेश्वर मन्दिरको पुननिर्माणका लागि टेण्डर आव्हान गरिसकेको पुरात्व विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पद घिमिरेले जानकारी दिए ।

‘पुर्ननिर्माणका लागि टेण्डर आव्हान गरिसकिएको छ, अबको एक महिना भित्रमा पुननिर्माण अगाडी बढ्छ,’ घिमिरेले क्लिमाण्डूसँग भने ।

विभागले भ्याट बाहेक १ करोड २७ लाख रुपैयाँमा निर्माण गर्ने लक्ष्य लिएको छ । टेण्डर प्राप्त गर्ने कम्पनीले निर्माण सुरु गरेको डेढ वर्ष भित्रमा पुननिर्माण सम्पन्न गर्ने विभागले जानकारी दिएको छ ।
यस अघि पुरात्वले रानीपोखरीको पुननिर्माणको सम्पूर्ण जिम्मा काठमाडौं महानगरलाई दिएको थियो । महानगरले मन्दिर पुननिर्माणको काम नियम विपरीत रहेको भन्दै गत भदौदेखि रोक लगाएको थियो ।

‘रानीपोखरीको पुननिर्माणको सम्पूर्ण जिम्मा महानगरलाई दिएका थियौं, पुरतात्विक महत्व बोकेको रानीपोखरीलाई महानगरले पर्यटकीय स्थलको रुपमा निर्माण गर्न खोजेकाले हामीले रोकेका हौं,’ घिमिरिले भने ।

पुरात्व विभागले बालगोपालेश्वर मन्दिरको मात्रै पुननिर्माण गर्ने हो । रानीपोखरीको अन्य भाग महानगरले नै बनाउने घिमिरेले प्रष्ट पारे ।

०७२ बैशाखको भुकम्पका कारण पोखरीको बिच भागमा रहेको बालगोपालेश्वर मन्दिर र पोखरी वरपर रहेका भौतिक संरचनामा क्षति पुगेको थियो ।

‘पुरातात्विक महत्व बोकेको मन्दिरमा महानगरले आफ्नै ढंगले कंक्रिटको पिल्लर निर्माण गरेको थियो, पुरात्विक महत्व बोकेको संरचनाको पुननिर्माणका लागि संरचनामा प्रयोग भएको पुरानै सामाग्रीको प्रयोग नगरी नयाँ सामाग्री प्रयोग भएकोले रोकिएको थियो,’ घिमिरेले भने ।

ती संरचनामा दक्षिणअप्पा (मल्ल कालिन बुट्टेदार इट्टा)को प्रयोग गर्नु पर्ने उनले बताए ।

दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरू सहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा १६ हाते गणेशसहितका मूर्ति छन् ।

प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन ‘विष्णुतीर्थ’ निर्माण गराएको इतिहासमा उल्लेख छ । पोखरी निर्माणका क्रममा गोसाइँकुण्डदेखि नेपालका विभिन्न भागका नदी, जलाशयका पानी पनि राखिएको थियो ।