समुद्री डाकाबाट सम्पत्ति जोगाउन यसरी सुरु भएको थियो संसारको पहिलो सेयर कारोबार



काठमाडौं । संसारकै ठूलो सेयर कारोबार हुने न्यूयोर्क, लण्डन, सांघाई र मुम्बई स्टक एक्सचेञ्जमा भएको सेयर कारोबार र त्यहाँ सेयर किनबेच गर्ने व्यक्तिहरुलाई हेर्दा लाग्छ,- संसारमा जब धनाड्यहरु बढ्दै गए, तब सेयर कारोबार सुरु भएको हुनुपर्छ ।

त्यस्तो नलागोस् पनि कसरी ? एकै जना व्यक्तिले दैनिक अर्बौ कमाउँछन्, गुमाउँछन् । दैनिक हजारौं खर्बको सेयर किनबेच हुन्छ ।

तर, सेयर कारोबारको पहिलो उद्देश्य भने पैसा कमाउने थिएन । सिर्फ समुद्री डाकाहरुबाट आफ्नो सम्पत्ति जोगाउने उद्देश्यले सेयर कारोबार थालिएको थियो ।

जब इस्ट इन्डिसहरु धनी छन् र त्यहाँ ब्यवसायका थुप्रै अवसर छन् भन्ने पत्ता लाग्यो, तब अन्वेषक र ब्यापारीहरु झुण्ड बनाई त्यतातिर लागे ।

तर, दुर्भाग्यवश त्यता गएका धेरै यात्रीहरु र जहाजहरु बाटौ मै हराए, कहिल्यै घर फर्केनन् । जहाजहरु हराए, भाग्यहरु लुटिए । र, लगानीकर्ताले यस्तो जोखिम न्युनिकरण गर्नका लागि केहि गर्नै पर्ने महशुस गरे ।

परिणाम स्वरुप, सन् १६०० मा अनौठो खालको कम्पनी खडा गरियो, जसको नाम थियो, ‘गर्भनर एण्ड कम्पनी अफ मर्चेन्टस् अफ लण्डन ट्रेडिङ विथ द इस्ट इन्डिज’ । यो नै बिख्यात इस्ट इन्डिया कम्पनी हो । र, यस कम्पनीले नै सिमित दायित्वको सुत्र सबैभन्दा पहिले प्रयोगमा ल्याएको थियो ।

बिश्वका कैयौं देशहरुले पुँजी संकलनको सबैभन्दा भरपर्दो माध्यमकोरुपमा सेयर बजारलाई लिएका हुनाले समग्र देशकै आर्थिक बृद्धि सेयर बजारमै निर्भर रहने अवस्था छ ।

लगानीकर्ताले सबै अण्डा एउटै टोकरीमा हाले जस्तो गरी इस्ट इन्डिज ट्रेडिङमा लगानी गर्नु उपयुक्त तरिका होइन भन्ने महशुस गरे । मानौं, इस्ट इन्डिजबाट समुद्रि डाँकाहरुसँग पौंठेजोरी खेल्दै जहाज फर्कने सम्भाब्यता ३३ प्रतिशत छ ।

अब सबै लगानी एउटै जहाजमा गरेर आफ्ना सबै रकम जोखिममा पार्नु भन्दा लगानीकर्ताले धेरै जहाजहरु वा कम्पनीका सेयर किनेर आफ्नो जोखिम न्यूनिकरण गर्न थाले । यदि ३ वा ४ जहाजमध्ये एउटा हरायो भने पनि लगानीकर्ताले अझै फइदा गर्न सक्ने भए ।

यो सुत्र निकै सफल भयो । एक दशक भित्रमै फ्रान्स, इङ्गल्याण्ड, बेल्जियम र नेदरल्याण्डका अन्य ब्यवसाय गर्ने कम्पनीहरुमा पनि यस्तै मोडल लागु गर्ने स्वीकृति दिइयो ।

सन् १६०२ मा एम्सर्टरड्याम स्टक एक्सचेन्जमा सूचिकृत भए पश्चात डच इस्ट इन्डिया कम्पनी आधिकारिकरुपमै संसारकै पहिलो सार्वजनिक कारोबार गर्ने कम्पनी भयो । लगानीकर्ताका नाममा सेयर र बोण्डहरु बितरण गरियो र नाफाको निश्चित प्रतिशत बाँड्न थालियो ।

इस्ट इन्डिया कम्पनीलाई संसारकै पहिलो सार्वजनिकरुपमा कारोबार भएको कम्पनीको रुपमा लिइन्छ । यस कम्पनीलाई पहिलो सार्वजनिक कारोबार भएको कम्पनीको रुपमा लिइने प्रमुख कारण एउटै थियो, जोखिम ।

सहजरुपमा नै हेरौं, एउटा कम्पनीको लागि बिश्व मानचित्रको सुदुर कुनामा जहाज खियाउँदै जानु भनेको पक्कै पनि जोखिमपूर्ण काम हो ।

सामान्यतः संसारकै पहिलो सेयरबजार बेल्जियमसँग जोडिने गर्छ । नेदरल्याण्डको ब्रुजस, फ्ल्यान्डर्स, झेन्ट र रोर्टड्याम सहरहरुको पनि १४औं र १५औं शताब्दी तिरै आफ्नै ‘सेयरबजार’ थिए ।

तर, एन्टर्वपमा संसारकै पहिलो सेयरबजार रहेको कुरा सामान्यतः स्वीकार गरिन्छ । एन्टर्वप बेल्जियमको ब्यवसायीक केन्द्र थियो । साथै, प्रभावशाली परिवार भान डर बिउर्रजको घर पनि थियो । परिणाम स्वरुप पुराना सेयरबजारहरुलाई बिउर्रजन पनि भन्ने गरिन्थ्यो ।

यी सबै पुराना सेयरबजारहरुमा एउटा कुराको भने अभाव थियोः सेयरको । पुर्वाधार र संरचनाहरु अहिलेका सेयरबजार जस्ता भए पनि त्यहाँ कुनै कम्पनीका सेयर कारोबार हुँदैनथ्यो । त्यो बजारमा सरकारको, ब्यवसायहरुको र ब्यक्तिगत ऋणको कामकाज चल्थ्यो । प्रणाली र संस्था अहिलेको बजार जस्तै थियो । तर कारोबार हुने सम्पत्ती भने फरक थियो ।

संसकारका ठूला सेयर कारोबार

सेयर बजार अहिले बिश्व अर्थतन्त्रको अभिन्न अंग भएको छ । बिश्वका कैयौं देशहरुले पुँजी संकलनको सबैभन्दा भरपर्दो माध्यमकोरुपमा सेयर बजारलाई लिएका हुनाले समग्र देशकै आर्थिक बृद्धि सेयर बजारमै निर्भर रहने अवस्था समेत छ । बिकासोन्मुख देशहरुमा पनि सेयरबजारको बहुआयामिक भुमिका बढ्दो क्रममा छ ।

सामान्य मानिसको जिवनमा पनि सेयर बजारले महत्वपूर्ण हिस्सा ओगट्न थालेको छ । बजार बढ्दा मानिसहरु उत्साहित हुने, चिया पसल, घर परिवारलगायत ठाउँमा बजारकै कुरा गर्ने, अनि बजार घट्दा झोक्राएर बस्ने हामीले देखे भोगेकै कुरा हुन् ।

संचार माध्यमहरुमा पनि सेयर बजारका खबरहरुलाई महत्वपूर्ण स्थान दिने गरेको पाइन्छ । अझ कति संचारमाध्यमहरु त सेयरबजार लक्षित समाचारहरुका लागि मात्र पनि खुलेका छन् ।

तर, बिश्व इतिहासको पाना पल्टाउने हो भने सेयरबजार तुलनात्मक रुपमा नयाँ अवधारणा हो । यस बजारको बिश्व अर्थतन्त्रमा सँधै यति ठूलो भूमिका थिएन । आज हामी यहाँ सेयर बजारको इतिहासमा आँखा डुलाउने र कसरी यो बजार अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बन्न गयो भन्ने चर्चा गर्दैछौं ।

पुराना सेयर तथा कमोडिटी बजार

सन् १५०० सयसम्म सेयरबजारको कुनै अस्तित्व नै थिएन तर, सेयरबजार जस्तै केहि बजारहरु भने चलनमा थिए ।
उदाहरणको लागि, सन् ११०० मा फ्रान्समा एक खाले ब्यवस्था थियो, जहाँ राजाका सहयोगीहरुले बैंकहरुका लागि कृषि ऋणको ब्यवस्थापन गर्ने काम गर्थे । यसैलाई दलालीको पहिलो उदाहरणको रुपमा लिइन्छ । किनभने ती मानिसहरुले ऋणको कारोबार गर्ने गर्दथे । अर्थात्, एउटाको ऋण अर्कोलाई बेच्न सहजकर्ताको भूमिका खेल्ने आदि काम गर्दथे ।

पछि, १३ औं शताब्दीदेखि भेनिसका ब्यापारीहरुले सरकारी ऋणपत्रको कारोबार शुरु गरे । त्यस लगत्तै छिमेकी इटालियन शहरहरु पिसा, भेरोना, गेनोवा, फ्लोरेन्सका बैंकरहरुले पनि सरकारी ऋणपत्रको कारोबार शुरु गरे ।

कफि पसलमा सेयर कारोबार

ट्रेडिङ फ्लोरमा कराएर कारोबार गर्नु अघि लगानीकर्ता कफि पसलमा गएर सेयर कारोबार गर्थे । पुराना सेयर प्रमाणपत्रहरु हातले कागजको टुक्रामा लेखेरे बनाइन्थ्यो ।

अर्को शब्दमा भन्दा, लगानीकर्ताहरु कफि पसलमा गएर सेयर कारोबार गर्ने हुनाले कफि पसलहरु नै संसारको पहिलो सेयर बजारहरु हुन् । त्यसपछि कसैले सेयर कारोबारलाई नै केन्द्रित गरेर बजार खोल्दा कारोबार सहज हुने र ब्यस्त क्याफेको होहल्ला पनि खेप्न नपर्ने अवधारण अघि सार्यो । अहिलेका सेयरबजारहरु यहि सोचको आधुनिक र बिकसित रुप हुन् ।

पहिलो सेयर बजार बुम

ती दिनहरुमा सेयरबजारको महत्व कसैलाई पनि थाहा थिएन । मानिसहरुले यो बजार शक्तिशाली र महत्वपूर्ण भएको महशुस त गरेका थिए, तर कसैले पनि यो बजार कस्तो हुन्छ ? वा कुन अवस्थामा पुग्छ ? भनेर अनुमान गर्न सकेका थिएनन् ।

त्यसैले ती दिनहरुमा बजार निकै अब्यवस्थित तरिकाले चल्थे । बेलायतमा सेयर कारोबार कहिलेकाँही मध्यरातमा शुरु हुन्थ्यो र कुनै अनौठो ब्यवसायले आएर सेयर जारी गर्दथ्यो । धेरै जसो समयमा जहाजहरु बन्दरगाहबाट छुट्नु अघि नै कम्पनीले हजारौं पाउण्ड नाफा गरिसकेको हुन्थ्यो ।

जायज र नाजायज कम्पनी खुट्याउने कुनै नियामक निकाय थिएन । परिणाम स्वरुप यो ‘बबल’ तुरुन्तै फुट्यो । कम्पनीहरुले लाभांस बितरण गर्न बन्द गरे । र, सन् १८२५ सम्म बेलायती सरकारले कुनै पनि किसिमको सेयर जारी गर्न प्रतिबन्ध लगायो ।

पहिलो स्टक एक्सचेन्ज

सेयरमा प्रतिबन्ध लाग्नुका बाबजुद लण्डन स्टक एक्सचेन्ज आधिकारीक रुपमा सन् १८०१ मा स्थापना भयो । कम्पनीहरुलाई सन् १८२५ सम्म सेयर जारी गर्न प्रतिबन्ध लगाएका कारण ती दिनहरुमा एकदमै सिमित कारोबार । यसकारण लण्डन स्टक एक्सचेन्ज बिश्व अर्थतन्त्रको महाशक्ति बन्नबाट चुकेको थियो ।

त्यसैले, सन् १८१७ मा न्युयोर्क स्टक एक्सचेन्जको स्थापना हुनुलाई एतिहासिक घटनाको रुपमा लिइने गरेको हो ।
न्युयोर्क स्टक एक्सचेन्जले स्थापना भएको पहिलो दिनदेखि नै कारोबार गर्न शुरु गरेको थियो । कसैकसैले अमेरिकाको पहिलो सेयर बजारको रुपमा न्युयोर्क स्टक एक्सचेन्जको सट्टा फेलाडेल्फिया स्टक एक्सचेन्जलाई लिए पनि न्युयोर्क स्टक एक्सचेन्ज छिट्टै नै अमेरिकाको सबैभन्दा शक्तिशाली सेयर मार्केटको रुपमा उदाएको थियो ।

प्रतिस्पर्धा खासै नहुनु र ब्यापारिक केन्द्र न्यूर्योकमा अवस्थित हुनु नै न्युयोर्क स्टक एक्सचेन्ज छिटै उदाउनुको प्रमुख कारण थिए ।

कालान्तरमा लण्डन स्टक एक्सचेन्च युरोपको महत्वपूर्ण सेयर बजार भयो भने न्युयोर्क स्टक एक्सचेन्ज अमेरिका र बाँकी बिश्वको ।

आधुनिक सेयरबजारहरु

अहिले बिश्वका प्राय सबै देशमा सेयरबजार छन् । अधिकांश बिकसित देशहरुमा १९औं र २०औं शताब्दीमै सेयरबजारहरु खुलिसकेका थिए । उदाहरणको लागि क्यानडामा सन् १८६१ मा सेयर बजार खुलेको थियो ।

इराक जस्तो युद्धमा ध्वस्त भएको देशमा समेत हाल दुईवटा स्टक मार्केट छन् । यहाँ धेरै सार्वजनिक सुचिकृत कम्पनी त छैनन् । तर बिदेशीलाई भने लगानीका लागि अनुमति दिइएको छ । नेपालमा भने सन् १९९३ मा मात्र सेयर बजार खुलेको हो । यद्यपि कम्पनीले सार्वजनीक निष्काशन गर्ने प्रक्रिया भने त्यो भन्दा धेरै पहिले बिराटनगर जुट मिलले गरेको थियो ।


पुष्प दुलाल