बैंकको खुद नाफाः साढे २ बर्षमा प्रभुले छलाङ मार्यो, चार्टर्ड खस्कियो (कुन बैंकको नाफा कति)



काठमाडौं । नेपालमा हाल संचालनमा रहेका २८ वटा बाणिज्य बैंकमध्ये २५ वटाले अर्ध बार्षिक बित्तीय बिवरण सार्वजनिक गरिसकेका छन् ।

नेपालको एकमात्र पूँजी बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यी बाणिज्य बैंकहरुको बजार पूँजीकरण र संख्या दुवैका हिसाबले ठूलो हिस्सा छ । यसैकारण सेयर बजारका लगानीकर्तालाई यी बैंकहरुको बित्तीय बिवरणका बारे निकै चासो रहने गर्छ ।

कुनै पनि कम्पनीको बित्तीय बिवरण हेर्दा लगानीकर्ताको सबैभन्दा पहिले आँखा जाने सूचक भनेको खुद नाफामा हो । लगानीकर्ताले पाउनसक्ने लाभांससँग नजिकको सम्बन्ध भएका कारण खुद नाफाप्रति बिशेष चासो हुनु स्वभाबिक हो ।

तर, कहिलेकाँही तत्कालीन समयको खुद नाफाले मात्र सही सूचना नदिन पनि सक्छ । सोही क्षेत्रका अन्य कम्पनीहरुले कस्तो प्रगति गरेका छन्, कम्पनी स्वंयमले पनि समय अनुसार कस्तो प्रगति गर्दै गइरहेको छ, र कम्पनीले आफुलाई प्रतिस्पर्धी अन्य कम्पनीका दाँजोमा आफूलाई कहाँ उभ्याएको छ भन्ने जस्ता कुराको पनि ख्याल गर्नुपर्ने हुन्छ ।

अहिले सेयरबजार तिब्र गतिमा ओरालो लागिरहेको छ । कतिपय लगानीकर्ता घटेको बजारमा राम्रा सेयर उठाउने तरखरमा छन् होला । लगानीकर्तालाई सहज होस भनेर बाणिज्य बैंकहरुलाई खुद नाफाका आधारमा श्रेणीबद्ध बनाएर राखिएको छ । यसले लगानीकर्तालाई बाणिज्य बैंकहरु खुद नाफाका हिसाबले ०६९ सालमा कुन हैसियतमा थिए र ०७३ को पुससम्म आइपुग्दा कुन हैसियतमा छन् भनेर बुझ्न मद्दत पुग्छ ।

यसमा लगानीकर्ताले २.५ बर्ष अगाडि नाफाका हिसाबले कसले राम्रो गर्दै अरु भन्दा अगाडि आयो र को तल तिर खस्कियो भनेर बुझ्न मद्दत पुग्छ ।

उदाहरणको लागि ०७१ को असारमा धेरै नाफा कमाउने बैंकहरुको सूचीमा ७ औं नम्बरमा रहेको नेपाल बैंक ०७३ को पुसमा आइपुग्दा पहिलो नम्बरमा उक्लिएको छ । ०७१ को असारमा १ अर्ब २३ करोड खुद नाफा कमाएको बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नै १ अर्ब ८९ करोड खुद नाफा कमाएको छ ।

त्यस्तै, कृषि बिकास बैक भने ५ औं नम्बरबाट ७ औं नम्बरमा झरेको छ ।

नबिल, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट र हिमालयन बैंकको श्रेणी खासै तल माथी भएको छैन । तर, प्रभुले बैंकले भने २९ औं स्थानबाट चौथो स्थानमा उक्लिएर छलाङ मारेको छ । ०७१ को असारमा २४ करोड घाटामा रहेको प्रभुले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नै १ अर्ब ११ करोड खुद नाफा कमाएको छ ।


त्यस्तै नेपाल बङगलादेश बैंक र लक्ष्मी बैंक झरेका छन् भने एनएमबी र सिद्धार्थ उक्लिएका छन् ।बिदेशी ब्राण्ड स्ट्यान्डर्ड चार्टडको स्थान खस्किएको छ । ०६९ मा खुद नाफाका हिसाबले छैटौं स्थानमा रहेको चार्टड ०७३ को पुसमा आइपुग्दा १० औं स्थानमा झरेको छ ।

लगानीकर्ताले लगानी गर्नु अघि आफूले लगानी गर्ने कम्पनीको तत्कालीन अवस्थाका अलावा केहि एतिहासिक तथ्यको ख्याल राख्नु पर्छ । किनभने कुनै समय राम्रा रहेका कम्पनी अहिले नराम्रो भैसकेका हुन सक्छन् भने पहिले नराम्रा कम्पनीले अहिले उल्लेख्य सुधार गरिसकेको हुनसक्छ ।

स्मरण रहोस्, यहाँ बैंकहरुलाई खुद नाफाका आधारमा मात्र श्रेणीबद्ध गरिएको छ । लगानी गर्नु अघि लगानीकर्ताले खुद नाफाका अलावा अन्य धेरै बित्तीय सूचकको पनि ख्याल राख्नु पर्छ ।


क्लिकमान्डु