१३ बाणिज्य बैंकले मनपरी कर्जा प्रबाह गरेको राष्ट्र बैकको ठहर, कारबाही प्रक्रिया अगाडि बढाइयो



काठमाडौं । १३ बाणिज्य बैंकले गरेको कर्जा लगानीप्रति शंका गर्दै नेपाल राष्ट्र बैंकले सुक्ष्म अनुगमन सुरु गरेको छ । स्थापित बैंकिङ मान्यता अनुसार कर्जा प्रबाह नगरेको हुन सक्ने देखिएपछि यस्तो अनुगमन सुरु गरिएको हो ।

राष्ट्र बैंकले समुह बनाएर सुक्ष्म अध्ययन भएको राष्ट्र बैंकको गभर्नर डा. चिरन्जीबी नेपालले जानकारी दिए । ब्यवस्थापिका संसदको लेखा समिति बैठकमा उनले यस्तो जानकारी दिएका हुन् ।

‘केही बैंकले जथाभाबी कर्जा प्रबाह गरेको संकेत मिलेपछि हामीले समुह नै बनाएर अनुगमन गर्यौं, राष्ट्र बैंकको अनुगमनले स्थापित बैंकिङ मान्यता विपरित कर्जा प्रबाह गरेको भेटियो,’ बैठकमा डा. नेपालले भने ।

यसरी नियमविपरित कर्जा प्रवाह गर्ने बैंकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए ।

यस्तै उनले अहिले बैंकिङ क्षेत्रमा तरलता अभाब रहेको भन्ने हल्लाको पछाडि सत्यता नभएको पनि बताए ।

‘यो तरलता अभावको अवस्था होइन, केहि बैंकहरुले मार्जिन लेण्डिङमा धेरै लगानी गरेकाले आएको समस्या मात्रै हो,’ उनले भने ।

माघ १३ पछि तरलताको अवस्थामा सहजता देखिएको उनको भनाइ छ । अबको केही दिनपछि नै तरलता अभाबको कुरा नसुनिने भन्दै उनले कन्द्रीय बैंकले तरलताको व्यवस्थापनका लागि १९० अर्ब लैजान भनेको तर बैंकले ३२ अर्ब मात्रै लगेकाले पनि बजारमा तरलताको अवस्था नरहेको पुष्टी हुने बताए ।

साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न २० प्रतिशत कर्जा वृद्धि आवश्यक हुने भएपनि ३० प्रतिशत कर्जा बढेपछि तरलताको अबस्था असहज भएको उनको भनाइ छ । बैंकरहरु पूँजी कर्जा निक्षेप अनुपात (सिसिडी रेसियो) घटाउन लबिङमा उत्रिएको बताउँदै तत्काललाई सिसिडी रेसियो नघटाउने पनि उनको भनाइ छ ।

‘सिसिडी रेसियो हटाउँदा जोखिम बढ्छ, बैंकहरु डुब्छन, जनताको पैसा पनि डुब्छ, त्यसकारण यो मामिलामा राष्ट्र बैंक सचेत छ’, डा. नेपालले भने । अर्थसचिब डा. शान्तराज सुबेदीले पनि तरलता अभाबको हौवा मात्रै भएको बताए ।


क्लिकमान्डु