बिदेशको कमाइ यता लगानी पो गर्ने कि ! बैदेशिक रोजगार बचतपत्रमा १० प्रतिशत ब्याज




काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा गएका व्यक्तिलाई लक्षित गर्दै ५० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्र ल्याउने भएको छ । सरकारले बचतपत्र ल्याउने निर्णय गरेपछि राष्ट्र बैंकले माघ १७ देखि फागुन १७ सम्म बचतपत्रको बिक्री खुल्ला हुनेगरी तालिका सार्वजनिक गरेको छ ।

यसको सावा भुक्तानी २०७८ सालमा हुनेछ भने ब्याज भुक्तानी हरेक ६ महिनामा हुनेछ ।

०६६ सालदेखि बैदेशिक रोजगारीमा गएका व्यक्तिलाई लक्षित गर्दै सरकारले बैदेशिक रोजगार बचतपत्र ल्याउने गरेको भए पनि यसको बिक्री खासै हुन सकेको छैन । यद्यपि बिक्रीको अनुपात भने बढ्दै गएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो पटकको बचतपत्रममा बार्षिक १० प्रतिशत ब्याज दिने ब्यवस्था गरिएको छ । बैदेशिक रोजगारीमा गएका व्यक्तिलाई सुरक्षित लगानीको रुपमा रहने तथा ब्याजदर पनि आकर्षक रहेको हुँदा बचतपत्र उपयोगी हुने देखिन्छ । बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ ।

राष्ट्र बैंकले वर्षभरी नै बैदेशिक रोजगारीको बचतपत्र बिक्री गर्ने प्रस्ताव गरेको थियो । अहिलेका योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ राष्ट्र बैंकमा ऋण व्यवस्थापन विभाग प्रमुख हुँदा वर्षभरी बचतपत्र बिक्री गर्ने प्रस्ताव गरेको थियो ।

बजेटमा अपुग स्रोतका रुपमा रहने आन्तरिक ऋणको एउटा हिस्सा बैदेशिक रोजगार बचतपत्र हो । कुल आन्तरिक ऋणमा २ प्रतिशतभन्दा पनि कम हिस्सा बैदेशिक रोजगार बचतपत्रको हुने हुँदा न्यूनतमपनि हरेक तीन महिनामा बचतपत्र बिक्री गर्नुपर्ने प्रस्ताव केन्द्रीय बैंकको थियो ।

बैदेशिक रोजगार बचतपत्र बैदेशिक रोजगारीमा गएका व्यक्ति तथा रोजगारीबाट फर्केको चार महिना नपुगेका व्यक्ति तथा आफन्तले खरिद गर्न सक्नेछन् । यसमा न्यूनतम ५ हजार रुपैयाँसम्म आवेदन दिन सकिने छ ।

बचतपत्र बिक्रीका लागि देशभित्र १२ संस्था ऐजेन्ट तोकिएका छन् भने विदेशमा पनि नेपालीहरु बैदेशिक रोजगारीमा गएका स्थानमा ऐजेन्ट तोकिएका छन् ।


क्लिकमान्डु