कम्युनिष्ट पार्टीका संस्थापक महासचिब पुष्पलालका छोरा भन्छन्ः मलाई राजनीति गर्ने मन छैन



राजनीति गरिरहनु भएको छ ?
छैन ।

किन ?
किन गर्ने ?

तपाईले सबैभन्दा नजिकबाट चिनेको राजनीति नै होइन ?
राजनीति घरैमा थियो । त्यो कुरा त सही हो । सायद नजिकबाट हेरेको भएर राजनीति नगरेको पो हो कि अझ भनौ, धेरै नजिकबाट देखेर नगरेको पो हो कि । मैले राजनीति किन गरिनँ, मलाई थाहा छैन । अब त्यसको विश्लेषण गर्ने इच्छा पनि छैन । अब ६० को हुन लागिसकियो । अब त्यता गइएनँ । त्यसै पनि नेपालमा राजनीतिक कार्यकर्ता बेसी छन् । म थपिएर झन राम्रो होला र ?

यो पुष्पलालको छोरा हो, यसले केही न केही राम्रो गर्ला भनेर मलाई पनि भोट देलान् । मैले पनि चुनाब जितौंला । तर पुष्पलालको छोरा भएकै कारणले मैले राम्रो नै गर्छु भन्ने ग्यारेन्टी हुन्न ।

तपाईको बुवा र आमालाई आदर्श मानेर उहाँहरुको पदचाप पछ्याउनेको संख्या धेरै ठूलो छ, तर तपाई नै राजनीतिभन्दा बाहिर ?
म राजनीतिभन्दा बाहिर छैन । उहाँहरुको आदर्शलाई ब्यवसायमा ल्याएको छु । सर्बप्रथमतः मैले मेरो आचरणलाई । मैले गरेको ब्यवसायमा मेरो बुवाले गर्नुहुने कुराहरु, जुन उहाँले समानताको कुरा गर्नुहुन्थ्यो, मजदुर र मालिकबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा गर्नुहुन्थ्यो, त्यो सबै लागू गरेको छु । मैले सकेसम्म भेदभाब हुन नदिने प्रयेत्न गरेको छु । मैले गरेको ब्यबसायमा संलग्न मेरा सबै मित्रहरु सन्तुष्ट हुनुहुन्छ क्यारे सायद ।

म गर्बका साथ भन्छु कि मैले गरेका उद्योग ब्यवसायमा आन्तरिक कारणले एक सेकेन्ड पनि बन्द हड्ताल भएको छैन । म यो क्षेत्रमा लागेको २६÷२७ बर्ष भयो । बुवाआमाबाट सिकेको कुरालाई सायद मैले ब्यवहारमा लागू गर्न सकेँ । यसैकारण यति राम्रो भयो । यसकारण म राजनीतिभन्दा बाहिर छु भनेर तपाइहरुले भन्न सक्नुहुन्न । राजनीति भनेको भाषण गर्दै हिड्नु मात्रै होइन ।

बाबुआमाको विरासतमा राजनीति गर्ने सन्तति पनि छन् नि ?
राजनीति भन्ने कुरा विरासतमा हुदैन । कमिसनखोरको छोराछोरी कमिसनखोर नै हुनुपर्ने ? डाँकाको छोराछोरी डाँका नै हुनुपर्ने ? विरासत भनेको के ? राजनीति भनेको भित्रबाट आउने कुरा हो । यो देखाएर गर्ने कुरा पनि होइन । राजनीति भन्ने कुरा पनि कही विरासतमा हुन्छ ? हाम्रो दक्षिण एशियामा मात्रै छ यो विरासत भन्ने कुरा । विरासतले राजनीति आउदैन ।

अमेरिकामा बाबुछोरा राजनीतिमा छन् । हिलारी क्लिन्टनको कुरा पनि गर्नुहोला । तर उहाँहरु आफैमा एउटा हस्ती हो । त्यसैले भयो । राजनीतिमा विरासत भनेको मलाई गलत हो भन्ने लाग्छ । उमेरदेखि नै राजनीति गरेको छ, उसलाई त्यसप्रति लगाब छ भने ठीक छ । ५०/६० बर्षको उमेरसम्म आफू मनपरी काम गर्दै हिड्ने । त्यसपछि राजनीतिमा आएर म मेरा बाउको घिउ खान्छु भन्ने गतल कुरा हो । के गर्ने ? त्यस्तैलाई भोट दिएर जिताइ पनि दिन्छन् । जनताको भोट उसले पाएकै हुन्छ । नेपालमा यसको मोह नै छ । यो पुष्पलालको छोरा हो, यसले केही न केही राम्रो गर्ला भनेर मलाई पनि भोट देलान् । मैले पनि चुनाब जितौंला । तर पुष्पलालको छोरा भएकै कारणले मैले राम्रो नै गर्छु भन्ने ग्यारेन्टी हुन्न ।

तपाई अहिले राजनीतिमा जानुभयो भने उमेशलाल भएर जाने कि पुष्पलालको छोरा भएर ?
म त उमेशलाल भएरै जान्छु ।

समाजले त्यसरी तपाईलाई चिन्छ होला ? स्वीकार गर्ला ?
समाजको कुरा समाजलाई गएर सोध्नुस् । मेरो परिचय दिदा मलाई कही पनि पुष्पलालको छोरा हूँ भनेर चिनाउनु छैन । यसको अर्थ म उहाँलाई सम्मान गर्दिनँ भनेर भन्न खोजेको होइन । म आफ्नो छुट्टै पहिचान र ब्यक्तित्व बनाउन चाहन्छु । उहाँहरु जस्तो ब्यक्तित्व मेरो आमाबुवा हुनुभयो, यो मेरो सौभाग्य हो । तर उहाँहरुको नाम बेचेर खाने मेरो इच्छा छैन ।

तपाई काँग्रेस कि कम्युनिष्ट ?
मान्छे पनि कही काँग्रेस र कम्युनिष्ट हुन्छ ? कम्युनिष्ट भनेको बिचारधारा हो । काँग्रेस भनेको तपाईले ‘सोकल्ड डेमोक्रेसी’लाई भन्नुभयो होला । त्यो पनि एउटा विचारधारा हो । मुख्य भनेको ‘इकोनोमिक’ बिचारधारा हो ।

मेरो बुवाले दास क्यापिटलिजमको हिसाबले ‘कन्ट्रोल इकोनोमी’ लाएर गर्न सकिन्छ भन्नुभयो । बिपी कोइरालाले होइन फ्रि इकोनोमी नै हुनुपर्छ भन्नुभयो । अन्तर यति नै हो ।

तपाई समाजबादी कि पूँजीबादी ?
हेर्नुस्, ‘डेमोक्रेसी’ले पनि अन्तिममा गएर समाजबादकै कुरा गर्छ । हाम्रो संविधामा समाजबाद उन्मुख अर्थब्यवस्थाको कुरा गरियो । केही साथीहरुले बिरोध गरे । मैले भने कि यसको विरोध गर्नुको आवश्यकता छैन । समाजबाद भन्ने वित्तीकै उत्तरकोरिया वा क्युवा किन सोच्ने ? स्वीडेन, नर्बे, डेनमार्क किन नसोच्ने ? नेपाली काँग्रेसले पनि समाजबाद नै भन्छ । कम्युनिष्टहरुले पनि समाजबादकै कुरा गर्छन् । समाजबाद भनेको समाजमा जब असमानता बढी हुन्छ, एउटा बर्गसँग बढी सम्पत्ति हुन्छ र अर्काे बर्गसँग कम सम्पत्ति हुन्छ, त्यस्तो विभेद अन्त्य गर्ने भनेको न हो । अहिले हामी भन्छौं कि राज्यले केही पनि गर्नुहुन्न । तर मैले माथि नाम लिएको देशहरुमा राज्यले निशुल्क शिक्षा दिन्छ । उच्च कर छ । समाजबादसँग डराउनु पर्ने कारणै छैन । हामी जस्तो मुलुकमा मात्रै काँग्रेस र कम्युनिष्ट भनेर सोच्छ ।
काँग्रेसले पनि देशको विकासै गर्न खोज्या हो, तर सकेको छैन । कम्युनिष्टले पनि देशको विकासै गर्न खोज्या हो, तर सकेको छैन । भन्दाखेरी जसले आफूलाई काँग्रेस र कम्युनिष्ट भनाउछन्, देशको विकास गर्न तिनीहरु नै बाधक छन् कि जस्तो मलाई लाग्छ । देशको विकास गर्न कुनै बाद चाहिँदैन ।

बिपी कोइरालाले नेपाली काँग्रेस स्थापना गर्दा पनि समाजबादकै कुरा गर्नुभएको थियो, तपाईको बुवा पुष्पलालले कम्युनिष्ट पार्टी स्थापना गर्दा पनि समाजबादकै कुरा गर्नुभएको थियो, पुष्पलालको परिवारको सदस्य भएको नाताले तपाइलाई सोध्न मन लाग्यो कि यी दुईटा समाजबादमा के भिन्नता रहेछ ?
यी दुईटा समाजबादमा केही भिन्नतै छैन । विश्वमा एउटा ट्रेन्ड आयो । कार्लमाक्र्सले दास क्यापिटलिजम लेख्नु भयो । त्यसपछि २०औं शताब्दीको सुरुतिर लेलिनले कम्युनिजम सुरु गर्नुभयो । त्यो बेला सायद आवश्यकता थियो । किनभने त्यो बेला विश्व नै औद्योगिकरणको चरणमा थियो । अधिकांश उद्योगहरुमा शोषणको आवश्यकता थियो वा त्यसो गरिरहेका थिए । त्यो शोषण विरुद्ध सशक्त आवाजको आवश्यकता थियो । मजदुरहरुलाई गोलबद्ध गर्ने काम लेलिनले गरे । त्यो बेलाको साँचो कुरा त त्यही हो । शोषण त भएकै थियो । युनियनहरु जन्माउने काम अमेरिकामा भयो, बेलायतमा भयो । अहिलेसम्म पनि छ । समाजबाद भनेको एउटै कुरा हो । बिपीको समाजबाद राम्रो कि पुष्पलालको समाजबाद राम्रो भन्ने त प्रश्नै होइन जस्तो लाग्छ मलाई । समाजबाद समाजबाद भन्ने गरिन्छ । मैले बुझेको समाजबाद भनेको समानबाद हो । बिपी र पुष्पलाल दुबैको चाहना थियो कि ठूलो र सानो, धनी र गरिबबीचको अन्तर कम होस् ।

मेरो बुवाले दास क्यापिटलिजमको हिसाबले ‘कन्ट्रोल इकोनोमी’ लाएर गर्न सकिन्छ भन्नुभयो । बिपी कोइरालाले होइन फ्रि इकोनोमी नै हुनुपर्छ भन्नुभयो । अन्तर यति नै हो । खाली बाटो मात्रै फरक हो । घुमाउरो बाटो र सोझो बाटो हो । अन्त्यमा दुबैको उद्देश्य एउटै थियो होला । मलाई त्यस्तै लाग्छ ।

ट्रेडयुनियन भनेको राजनीतिक पार्टीका डण्डामात्रै हो । सबै पार्टीको छ ।

कुन घुमाउरो र कुन सोझो बाटो थियो होला ?
(लामो हाँसो) मलाई थाहा छैन । अहिलेको मेरो मान्यता के छ भने कन्ट्रोल इकोनोमी सम्भब छैन । किन भने कन्ट्रोल इकोनोमीमा एउटा ब्यक्तिको इच्छा र चाहना केही पनि हुदैन । ब्यक्तिको इच्छा र चाहना परिपूर्ति गर्न आवश्यक छ । यो म अहिले २१ औं शताब्दीको सुरुतिर भन्दैछु । २० औं शताब्दीको सुरुतिर सायद यो आवश्यक थियो होला । त्यो बेला परिबेश अर्कै थियो होला ।

कुनै पनि कुरा समय सापेक्ष हुन्छ । १९७० मा जे कुरा सही हो, २०१८ मा त्यो कुरा सही हुन जरुरी छैन । हामी यो कुराको तुलना गर्न सक्दैनौं । मलाई त्यस्तो लाग्छ ।

बिपी कोइराला तपाईको बुवालाई भेट्न आउनुहुन्थ्यो ?
यहाँ त मलाई थाहा छैन । बनारसमा उहाँ आउनुहुन्थ्यो । मेरो बुवा पनि उहाँलाई भेट्न जानुहुन्थ्यो । उहाँहरुको भेटघाट भइरहन्थ्यो ।

के कुरा गर्नुहुन्थ्यो, तपाईलाई केही याद छ ?
बुवासँग बिपीको घरमा एकचोटी गएको मलाई याद छ । तर त्यो बेला म निकै सानो थिएँ ।

उहाँहरुले गरेको केही कुरा याद छ ?
उहाँहरुको कुरा हुँदा कोही पनि त्यहाँ बस्दैनथ्यो । त्यहाँ भएका मानिसहरु पनि बाहिर निस्कन्थे । मेरो आमा पनि बाहिर निस्कनु हुन्थ्यो ।

आमाले तपाईलाई राजनीतिमा आउनु पर्छ भन्नुभएन ?
कहिल्यै पनि भन्नु भएन । जे मन लाग्छ, त्यही गर भन्नु भयो । मेरो आमा धेरै नबोल्ने मान्छे । तिमीलाई जे मन लाग्छ त्यही गर भन्नुहुन्थ्यो । तर तिमी जुन फिल्डमा छौं त्यो फिल्डमा राम्रो गर भन्नुहुन्थ्यो ।

औद्योगिक क्षेत्रले भोगेको ट्रेडयुनियन समस्या राजनीतिक विचारधारासँगै आएको कुरा होइन र ?
ट्रेडयुनियन भनेको राजनीतिक पार्टीका डण्डामात्रै हो । सबै पार्टीको छ ।

कसलाई हिर्काउने डण्डा ?
कसैलाई पनि हिर्काउने होइन । त्यो देखाएर आफ्नो ताकत देखाउने हो । मारपिटमा हामी पर्छाैं । ट्रेडयुनियनहरुले राम्रै गरिरहेका होलान् । हामी उद्योग गर्नेहरुले राम्रो काम गर्ने हो भने ट्रेडयुनियनको आवश्यकतै पर्दैन । आजकल अधिकांश उद्योगमा समस्या छैन होला । तर सरकारले न्यूनतम ज्याला तोक्यो । साना उद्योगहरुले त्यो ज्यालादर दिन समस्या होला । उद्योगको स्तरअनुसार तलबभत्ताको ब्यवस्था गर्नुपर्छ होला ।

साम्यबादी परिवारमा हुर्केको मान्छे, धेरै पूँजीबादी कुरा गर्नुहुदो रहेछ ?
परिवार पनि साम्यवादी र समाजबादी हुन्छ र भन्या । मैले पहिला पनि भनेँ कि डाँकाको परिवारमा जन्मेको मान्छे डाँका नै हुनुपर्ने हो ? डाँकाको परिवारमा जन्मेको मान्छेले राम्रा कुरा गर्यो भने के भन्ने ? डाँकाको परिवारमा जन्मेर बुद्धको जस्तो कुरा गर्छस् भन्ने ?

आमासँग राजनीतिक विषयमा कुरा गर्नुहुन्थ्यो ?
हुन्नथ्यो ।

डराउनु हुन्थ्यो तपाई ?
सानोमा कुट्ने, पिट्ने र गाली गर्ने चै गर्नुहुन्थ्यो ।

आमा मन्त्री हुँदा भेट्न आउने भिड, त्यो खालको रवाफ देख्दा पनि राजनीति गरौं भन्ने आएन ?
मलाई त त्यो देखेर रिस मात्रै उठ्थ्यो ।

किन ?
अजिब लाग्थ्यो । किन आउनु ? आएर के हुन्छ र भन्ने लाग्थ्यो । मन्त्रीले के गर्न सक्छ र, के गर्छ र, आएर मात्रै हुन्छ र भन्ने लाग्थ्यो । पछिल्लो दुई पटक त म आमासँग नै बसिनँ । तपाई क्वाटरमा बस्न जानुस् भनेँ ।

उद्योगी ब्यवसायी साथीहरुले आमालाई भनेर यो काम मिलाइ दिनुस न भनेनन् ?
मेरो स्वभाव थाहा पाएर होला, सायद कसैले पनि भनेनन् । मेरो आमा उद्योगमन्त्री हुँदा उद्योग मन्त्रालय र उद्योग विभागमा मैले पाइला नै टेकिनँ ।

अलि धेरै इगो लिनु हुदो रहेछ ?
इगो ? इगो होइन यार । मलाई झन्झट मन पर्दैन ।

आमा नै मन्त्री भएको बेलामा पनि झन्झट हुन्छ र ? झन सजिलो हुन्छ नि ?
तपाइले सोच्ने र मैले भोगेको कुरा छुट्टै हो ।

चुनाब लड्नु भयो भने रामेछापबाट कि काठमाडौंबाट ?
म चुनाब लड्दै लड्दिनँ । एफएनसिसीआइको मात्रै चुनाब लड्ने । साँच्चै नै लड्नै पर्यो भने काठमाडौंबाट ।

कुन पार्टीबाट लड्नुहुन्छ ?
एमाले । अरु कुन पार्टी ? मलाई एमाले बाहेक कुन पार्टीले विश्वास गरेर टिकट दिन्छ र ।

सोच त पूरै पूँजीबादी छ ?
एमाले पनि त पूँजीबादी पार्टी नै हो ।

एमालेले त समाजबाद हुँदै साम्यबादसम्म जाने कुरा गर्छ नि ?
छोड्नुस् न त्यो कुरा । एमाले र काँग्रेसमा केही फरक छैन । राजनीतिक नीति लगभग एउटै छ । आर्थिक नीतिमा कुनै फरक नै छैन । मलाई काँग्रेससँग पनि आपत्ति छैन ।

राजनीति मन पर्दैन भन्नुहुन्छ, यति सुक्ष्मरुपमा विश्लेषण गर्नुभएको रहेछ त ?
मन पर्दैन भनेको बुझ्दिनँ वा जान्दिनँ भनेको होइन । मलाई राजनीतिमा छिर्ने रहर छैन पो भनेको त ।