पाइलट नभए के भयो र, सफल कम्पनी चलाइरहेकै छुः अन्जन श्रेष्ठ



तपाइ त्यति चर्चामा आउनु हुन्न नि !
यो मामिलामा अलि पछाडी छु जस्तो लाग्छ । अगाडी आउन खोज्छु जस्तो लाग्दैन । पालो आइहाल्छ भन्ने किसिमले चुप लागेर बस्ने गरेको थिए । मिडियामा आउनै खोज्दिन थें । पछि नाडाको उपाध्यक्ष भएपछि आउन लागेको हो । मलाई मिडियामा नआएको भनेर साथीहरुले कहिले खुल्ने भनेर प्रश्न गरिरहेका पनि हुन्थे ।

नारायण गोपालको ‘पर्खिबसे आउला भनि मेरो उठ्ने मेरो पालो’ भन्ने गीतको आदर्श हो कि ?
म नारायण गोपालको फ्यान हूँ । तर त्यही गीत चै होइन । विद्यार्थी जीवनमा नारायण गोपालका वियोगान्त गीतहरु सुन्थे । विवाह हुनूपूर्व भाइहरु पनि अध्ययनका लागि विदेश गएका थिए । एकलो जिवन काट्न ग्राहो हुने भएकाले त्यस बखत वियोगान्त गीतहरु सुन्थे । होस्टलमा पनि उपत्यकाका साथीहरु भन्दा धेरै हाम्रो उपत्यकाका बाहिरका साथी थिए । र आईएसीमा साइन्स पढ्न भ्यालि क्यापस गएँ । र, साइन्समा आफ्नो लक्ष्य नदेखेकाले पिपुल्स कलेजमा कर्मश पढ्न गए । पहिलाको साथीहरुसँगको दोस्ती क्रमिक रुपमा टुट्न पुग्यो र आफूलाई एक्लो महशुश गर्न थाले । अनि नारायण गोपालका बियोगान्त गीतहरु साथी भए ।

हामी व्यापारी भएकोले हाम्रो मापन पैसाकै माध्यमबाट हुन्छ । हामीले आफ्नो व्यापार उद्योगबाट पैसा कमाउन सक्यौ भने सफल भनिन्छौ । नत्र असफल हुन्छौं ।

तपाईलाई सबैभन्दा धेरै मन परेको गीत ?
‘यति चोखो यति मिठो दिउला तिमलाई माया’ भन्ने नारायण गोपालको गीत मेरो प्रिय हो ।

त्यसो भए तपाईले अहिलेसम्म त्यति चोखो र मीठो माया दिन सक्नु भएको छैन ?
त्यो त दिइराखेकोछु । विश्वका प्रेमीहरुको सर्मपणमा बनेको गित हो जस्तो लाग्छ । साथीहरुको बिचमा रमाइलो गर्दा त्यो गीत गाउने गरेको छु ।

तपाईलाई पैसाको बढी माया लाग्छ कि अरुको ?
पैसालाई मायाको रुपमा लिन सकिदैन । हामी व्यापारी भएकोले हाम्रो मापन पैसाकै माध्यमबाट हुन्छ । हामीले आफ्नो व्यापार उद्योगबाट पैसा कमाउन सक्यौ भने सफल भनिन्छौ । नत्र असफल हुन्छौं । म व्यवसायिक भएको हुनेले आफ्नो व्यवसायलाई सबैभन्दा धेरै माया गर्छु ।

तपाई डेमोक्रयाट कि ननडेमोक्रयाट ?
म डेमोक्रयाट हुँ ।

कति वर्ष हुनु भयो ?
अहिले ४५ वर्ष भएँ ।

त्यत्रो उमेर गएको देखिनु हुन्न, कसरी मेन्टेन गरिराख्नु भएको छ ?
पहिला स्वास्थ्यप्रति त्यति सजग थिइन । तर अहिले भएको जस्तो लाग्छ ।

क्लब जानु हुन्छ ?
क्लब जान्न । तर दैनिक १ घण्टा मर्निङवाक र हल्का योगा गर्छु । र, फ्रेस भए पछि मात्र काममा लाग्छु । फ्रेस हुनुपूर्व फोन पनि चलाउदिन ।

तपाईले बोकेको पहिलो फोन र मोडल नम्बर ?
मोडेल याद छैन, नोकिया हो ।

सधै टिका लगाउनु हुन्छ ?
अलिक धार्मिक छु । शक्ति र आशिषको रुपमा टीका लगाएको हो । म आफूलाई हिन्दु भएकोमा गर्व गर्छु ।

पूजा आफै गर्नु हुन्छ ?
मर्निङवाकबाट सुरु हुने मेरो बिहानीसत्र दैनिक आधा घण्टाको पूजा नसकिकन म फोन पनि उठाउदिन ।

कसले लगाइदिन्छ टिका ?
आफै लगाउछु ।

‘यति चोखो यति मिठो दिउला तिमलाई माया’ भन्ने नारायण गोपालको गीत मेरो प्रिय हो ।

तपाईलाई लाग्दैन त्यो एक डेढ घण्टा व्यापारमा दिएको भए धेरै अगाडी पुग्थे भन्ने ?

लाग्दैन । योगाको समय बढाउने पक्षमा छु । नियमित पौने ५ बजे उठिसक्छु । समय खेर फाल्दिनँ ।

गल्फ खेल्ने इच्छा लागेन ?
पहिला खेल्थे, अहिले ब्रेक भएको छ ।

प्रेम प्रस्ताब कतिवटा जति आए ?
कति आए यादै छैन ।

पहिलो डेटिङको स्पट याद छ ?
बालाजुको २२ धारा ।

४५ वर्षको बीचमा तपाईले लक्ष्मी ग्रुपका कस्तो खालको परिवर्तन देख्नु भएको छ ?
हामी संयुत परिवार हौं । यो व्यापार मेरो ठूलो बुवाले बाहिर बिस्तार गर्नु भयो र बुवाले समाल्नु भयो ।

यो व्यापार कसरी सुरु भयो ?
यो परिस्थितिले जन्माएको हो । हाम्रो परिवार ठूलो र घर एकदमै सानो थियो । भान्सामा भात खाएपछि सूत्ने ठाउँको कमि भएकाले लिपेको सुकेपछि सुत्नुपथ्र्यो । २/३ वटा कोठा थिए । त्यो हाम्रो परिवारलाई पुग्दैन थियो । बुवा पाल्पामा सरकारी जागिरे हुनुहन्थ्यो । घरमा बुढी हजुरआमा एक्लै हुनुहन्थ्यो । बुवा काम छोडेर घरमा बस्नु भयो । केही काम गर्नु पर्छ भनेर पोखराको घर बेचेर नेपालगञ्जमा बस्ने सोच बनाउनु भयो । मामाले धेरै उब्जाउ योग्य जमिन नेपालगञ्जमा रहेको बताए पछि बुवा त्यता जाने इच्छा देखाउनु भएको थियो । त्यो समय ठूलो बुवा बुटबलमा हुनुहन्थ्यो । उहाँलाई पोखराको घर बेच्ने इच्छा थिएन । साथीभाइहरुसँग सल्लाह गर्नु भएछ । त्यो समयमा हामी पुष्टकारी बनाएर बेच्ने गथ्यौं । ठूलो बुवाको साथीहरुमध्ये एकजना भारतीय हुनुहुन्थ्यो । उनले बनारसमा मिठाइ बनाउन मिल्ने मेसिन आएको छ भने । र, केही गर्ने हो भने घरमै बसौं भन्ने कुरा भयो । हाम्रो परिवार यसरी ब्यापारमा आएको हो ।

कति पुँजीबाट सुरु भएको थियो ?
हामीसँग ४ सय रुपैयाँ थियो । र २ हजार ऋण लिएर २४ सयबाट व्यापार सुरु गरेको हो ।

पोखराबाट आउदा काठमाडौंमा कस्तो महसुस भयो ?
काठमाडौं मेरो अध्ययन र कर्म क्षेत्र हो । म पोखरामा ३ कक्षा पास गरेर काठमाडौंमा १ कक्षामा पढ्नका लागि आएको हुँ । बुवाले मलाई इंग्लिस पढ्न र विदेशीसँग बोल्ने हुन्छस् भनेर काठमाडौंमा पढ्नका लागि फकाउनु भएको थियो । त्यस समय हामी ५÷७ जना पोखराबाट पढ्नका लागि आएका थियौं । हामी बालुवाटारको स्कूलमा भर्ना भयौं । पूर्बयुबराज पारस शाह पनि हाम्रो क्लासमेट थिए ।

त्यो बेला त लभ लेटर लेख्ने चलन थियो, तपाइले कत्तिको लेख्नुभयो ?
लेखिएन । र, कसैले पनि मेरा लागि लेखेनन् ।

शपिङ नेपाल कि बाहिर ?
धेरै जसो नेपालमै गर्छु । विदेशमा एक हप्ता बस्नु परेमा पनि मलाई घरको यादले सताउन थाल्छ ।

घरको यादले कि मिसेजको ?
२०१४ को विश्वकप हेर्न परिवारसँगै ब्राजिल गएको थियौं । त्यस समय मैले मिसेजलाई घरको याद आईरहेको छ भने । उनले हामी सबैसँगै छौ, किन मजाक गर्नु हुन्छ भनेर झण्डै मारेको थिइन् । मलाई नेपाल छाडेर जाने कहिले भावना आएन । त्यसैले अध्ययनका लागि अवसर पाउँदा पनि बाहिर गइन ।

मेरो विचारमा म खानाको शोखिन छु । खानाको टेष्ट पारखी हुँ । शनिबार घरमा खान खाइदैन । बाहिर श्रीमतीको ड्राइभरको भूमिकामा हुन्छु ।

मासिक तलब कति हो ?
मलाई पुग्ने छ । (लामो हाँसो) म अलि कम खर्चालु छु ।

कपडा कुन ब्राण्डको लगाउनु हुन्छ ?
त्यस्तो छैन । म ब्रान्डमा विश्वास गर्दिन ।

खानामा कस्तो हुनुहुन्छ ?
खानामा चै अलि चुजि छु । मलाई खाजा खाँदा जहाँ मिठो लाग्छ त्यहाँ म बारम्बार गई रहन्छु । नयाँ ठाउँमा जान अलि लाज लाग्छ । कहिले काँही मिसेजले सधै एउटै ठाउँ कति जाने भनेर झर्को मान्ने गरेका उदाहरण पनि छन् ।

त्यो हो भने तपाईको शोख के हो ?
मेरो विचारमा म खानाको शोखिन छु । खानाको टेष्ट पारखी हुँ । शनिबार घरमा खान खाइदैन । बाहिर श्रीमतीको ड्राइभरको भूमिकामा हुन्छु । र लेजिडेको रुपमा शनिबार बिताउन मन लाग्छ ।

तपाईको जिन्दगीमा चाहेको तर हासिल भएको चिज के हो ?
मैले जीबनमा चाहेर नपाएको चिज भनेको त्यस्तो केहि छैन । व्यापारिक दृष्टिकोणबाट हेर्नु हुन्छ भने गलत कूरा कहिले पनि आटिन र कसैको विगार पनि गरेको छैन, त्यसैले भगवानले मेरा इच्छाहरु पूरा गर्देकाछन् ।

व्यवसायी नभएको भए  ?
बुवाको इच्छा अनुसार डाक्टर र मेरो इच्छा अनुसार पाइलट हुन्थे । प्लेनको पाइलट नभए पनि एउटा कम्पनीको पाइलटको रुपमा कम्पनी चलाइरहेको छु ।