इलाममा कृषि मेला सुरू



इलाम । किसानले उत्पादन गरेका कृषि उत्पादनको प्रदर्शन गर्ने उद्देश्यले इलाम सदरमुकाममा तीन दिने कृषि प्रदर्शनी मेला आइतबारदेखि सुरू भएको छ ।

जिल्ला कृषि विकास कार्यालयको आयोजनामा सुरू भएको प्रदर्शनीमा आठ वटा समूहमा १७० जना किसानले कृषि उत्पादन राखेका छन् ।

खाद्यान्न बालीमा धान,मकै,गहुँ, कोदो, जौँ, फापरलगायतका उत्पादन राखिएको छ । त्यस्तै दलहन तथा तेलहनतर्फ भटमास,मुसुरो, चना,बोडीलगायतका उत्पादन छन् ।

नगदेबालीमा अलैँची अदुवा, जुट,उखुलगायतका उत्पादन छन् । लहरेबालीमा फर्सी, काक्रो, घिरौँला, स्कुस लौका, काउली समूहमा काउली, ब्रोकाउली, बन्दा र अन्य तरकारी बालीमा भने मुला रायोको साग, गाँजर, ब्रोकाउलीलगायतका उत्पादन छन् ।

सुन्तला जातका फलफूलमा सुन्तला जुनार, निबुवा, कागतीलगायत छन् । अन्य फलफूलमा अम्बा, केरा किबी प्रदर्शनीमा राखिएको छ । आलु तथा कन्दमुलमा आलु, ओल, पिडालु, बन आलु, ग्राउण्ड एप्पल र माछा प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा पहिलो, दोस्रो, तेस्रो र सान्तवना हुनेलाई क्रमशः रु एक हजार, ७००, ५००, ३०० र जनही प्रमाणपत्र वितरण गरिने कार्यालयले जनाएको छ । प्रदर्शनीको क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक ताराकुमार श्रेष्ठले उद्घाटन गरेका थिए। रासस


क्लिकमान्डु