नेपालमा एटिएम सेवा निकै महंगो हुँदैछ

क्लिकमान्डु २०७३ मंसिर ९ गते १८:३८ मा प्रकाशित

ganyandra-dhungana-1ज्ञानेन्द्र ढुङ्गाना

उपाध्यक्ष नेपाल बैंकर्स संघ तथा सीइओ एनबी बैंक

नेपालको बैंकिङ क्षेत्रले आजको दिनमा प्रविधिको प्रयोग कत्तिको गरेको छ ?

समयको गति सँगै ग्राहकको माग, बजारको आवश्यकता, नयाँ आविस्कार जस्ता कुरालाई मध्यनजर गरेर सबै बैंक प्रविधिमा आधारित नै भइसकेका छन् । जस्तो पछिल्लो समय प्रयोगमा आएको मोबाइल मनी, इन्टरनेट बैंकिङ, एटिएम, इलेक्ट्रोनिक कार्ड पेमेन्ट (प्लाष्टिक मनी) जस्ता कुराहरुमा नेपालका बैंकहरु प्रविधिमैत्री भइसकेका छन् । हामी अत्याधुनिक कोर बैंकिङ सफ्टवयर सबै बैंकहरुले प्रयोग गरिरहेका छन् ।

सामान्य नागरिकले बैंकद्धारा प्रवाहित प्रविधिको प्रयोग कसरी गर्न सक्छ र त्यसवाट कसरी फाइदा लिन सक्छ ?

प्रविधिले कारोबारलाई सहज बनाइ दियो । कारोबारमा लाग्ने समय र शुल्कलाई घटाइदियो । ग्राहकमैत्री हुनुपर्ने प्रविधिको पहिलो शर्त नै हो । छोटो समयमा, कम शुल्क तिरेर सहजै प्रयोग गर्न सकियो भने न ग्राहकले त्यस्तो प्रविधि प्रयोग गर्ने हो । प्रविधिको प्रयोग गर्ने सुविधा प्रदान गर्नुअघि कस्तो प्रविधि हामीलाई आवश्यक छ, त्यो प्रविधिको बारेमा अन्तराष्ट्रिय अभ्यास र अनुभव के कस्तो छ भन्ने अध्ययन गरिन्छ ।

आजको दिनमा ग्राहकले घरमै बसेर बैंकिङ गरिरहेको छ, बाटोमा हिड्दा हिड्दै बैंकिङ गरिरहेको छ । प्रविधि यो तहमा नपुगेको भए यो सम्भव थिएन । तपाईँ हाम्रै पालामा टोकन लिएर बैंकको काउन्टरमा डेढ दुई घण्टा लाइनमा बसेको हो । यो विर्सेका छैनौं । आज त्यस्तो छैन । सर्टेन बैंकिङ घरमै बसेर गर्न सकिन्छ । बाटोमा हिड्दै गर्दा सर्टेन बैंकिङ गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय अनुभव र प्रयोगको अवस्था तथा नेपालको नियामक निकायको भूमिका र नेपालको वास्तविक अवस्थालाई विश्लेषण गर्दा नेपालको बैंकिङ क्षेत्रले प्रयोग गरेको प्रविधिको अवस्था कस्तो हो ?

नेपाल गरिब देश हो । विकासको अवस्था कमजोर छ । शिक्षाको स्तर तलै छ । तर पनि हाम्रोस्तरमा भएका अन्य देशको तुलनामा नेपालको बैंकिङ क्षेत्रले जुन प्रगति गरेको छ, जुन स्तरको प्रविधिको प्रयोग गरेको छ, यसलाई सन्तोषजनक अवस्था मान्नु पर्छ भन्ने मलाई लाग्छ । विकसित देशको अवस्था फरक होला । विकसित र अत्याधुनिक प्रविधि प्रयोग भएका होलान् ।

आजको दिनमा ग्राहकले घरमै बसेर बैंकिङ गरिरहेको छ, बाटोमा हिड्दा हिड्दै बैंकिङ गरिरहेको छ । प्रविधि यो तहमा नपुगेको भए यो सम्भव थिएन ।

तर हाम्रो जस्तै अवस्था भएका देशसँग तुलना गर्दा हाम्रो बैंकिङ निकै विकसित भएको मैले देखेको छु । यसको साथसाथै हाम्रो नियामक निकाय नेपाल राष्ट्र बैंक दक्षिण एशिया क्षेत्रमा नै निकै राम्रो र प्रभावशाली छ । दक्षिण एशियाका केन्द्रीय बैंकसँग तुलना गर्दा नेपाल राष्ट्र बैंक अगाडि छ जस्तो मलाई लाग्छ । जस्तो हामी बासल २ आउने वित्तिकै लागू गर्छौ । बासल ३ आउने वित्तिकै लागू गर्छौ।

आइएफआरएस भारत, बंगलादेश पाकिस्तान जस्ता देशमा लागू भएको छैन । हामीले लागू गरिसक्यौं । यो हिसाबले हेर्दा बैंकिङ क्षेत्र पारदर्शी पनि छ । विकसित पनि छ । र, प्रविधिको प्रयोगलाई पनि साथै लगेको छ । नियामक निकाय बलियो र सहयोगी भएको कारणले यो क्षेत्रले चाँढै नै यति धेरै प्रगति गर्न सकेको हो भन्ने लाग्छ ।

एनबी बैंकको ५५ अर्ब रुपैयाँ जतिको ब्यालेन्सशिट छ, यो साइजको बैंकले प्रविधिमा कति खर्च गर्छ ?

यसमा फिक्ड र भेरियबल कस्टको कुरा आउँछ । यो आकारको ब्यालेन्सशिट भएको बैंकले प्रविधिमा २५ करोड रुपैयाँ जति फिक्स्ड कस्टमा खर्च गर्नुपर्छ । र, बार्षिक १० देखि १२ करोड रुपैयाँ जति भेरियबल कस्टमा खर्च हुन्छ । विभिन्न प्रविधिसँगै विभिन्न प्रकारका जोखिमहरु आउछन् । त्यस्ता जोखिम कम गर्न पनि खर्च गर्नुपर्ने हुन्छ ।

ganyandra-dhunganaप्रविधिमा गरिएको सो मात्राको लगानीले ब्यालेन्सिटको आधार बनाउन कतिको योगदान गरिरहेको छ ?

प्रविधिमा गरिएको लगानी दीर्घकालीन प्रकृतिको हुन्छ । यो बर्ष गरिएको लगानीको प्रतिफल यसै बर्ष खोजियो भने त्यो कम देखिन सक्छ । यो लगानी ५ देखि १० बर्षको लागि हो । प्रविधिमा गरिएको लगानीले कम्तिमा पनि १० गुणा बढी प्रतिफल दिन्छ । यसको तत्कालिन र प्रत्येक्ष फाइदा पनि हुन्छ । एउटा त कम खर्चिलो हुन्छ । मासबेसमा जान सकिन्छ । कारोबार सहज हुन्छ । ग्राहकलाई सुविधा पुग्छ । र, यसको साथै ह्याकिङ र चोरीजस्ता जोखिम कम गरेपछि यसबाट अप्रत्यक्ष फाइदा पनि हुन्छ । प्रत्येक्ष र अप्रत्यक्ष फाइदाको कारणले प्रविधिमा गरिएको लगानीको राम्रो प्रतिफल प्राप्त हुन्छ । फेरि खर्च बढी हुन्छ भन्दै प्रविधिको प्रयोग गरिएन भने भोलिका दिनमा आउने जोखिम झन डरलाग्दो हुन्छ ।

नेपालको बैंकहरुले कुन सफ्टवयर बढी प्रयोग गर्ने गरेका छन् ?

नेपालका बैंकहरुले विषेश गरी ३ ओटा सफ्टवयरको प्रयोग बढी गरेको देखिन्छ । सवैभन्दा बढी फिनाकल प्रयोग भएको छ । त्यसपछि पुमरी र त्यसपछि टेमनस र टी २४ पनि प्रयोग भएको छ ।

बैंकले प्रयोग गर्ने कोर बैंकिङ सफ्टवयर र ग्राहकलाई अतिरिक्त सुविधा दिने सहायक सफ्टवयरमध्ये बढी ध्यान कुन सफ्टवयरमा दिनु पर्ने रहेछ ?

कोर बैंकिङ सफ्टवयर भनेको मान्छेको मुटु जस्तै हो । यसले बैंकलाई काम गर्न सजिलो पार्नुको साथै ग्राहकलाई पनि सहज बनाइरहेको हुन्छ । त्यसका विभिन्न मोडुल र क्यारेक्टरिस्ट हुन्छ । जस्तो ग्यारेन्टी मोडुल होला, एलसी होला, डिपोजिट होला, पेमेन्ट एण्ड सेटलमेन्ट होला । यसले पनि ग्राहकलाई सजिलो बनाइ रहेको हुन्छ ।

तर सवै कुरा कोर बैंकिङ सफ्टवयरले काम गर्दैन । जस्तो मोवाइल बैंकिङ सफ्टवयर कोर बैंकिङ सफ्टवयरमा नहुन पनि सक्छ । त्यस्तो अवस्थामा कोर बैंकिङ सफ्टवयरसँग कम्प्याटिबल मोवाइल बैंकिङको सफ्टवयर प्रयोग गर्ने हो । यसको अर्थ ग्राहकलाई सुविधा दिनको लागि प्रयोग हुने सफ्टवयरमा पनि लगानी गर्नैपर्छ भन्ने हो । मुख्य रुपमा भने कोर बैंकिङ सफ्टवयरमा नै केन्द्रित हुनुपर्छ ।

अहिले एटिएम नगद झिक्ने प्रयोजनमा मात्रै प्रयोग भएको छ, नगद जम्मा गर्न प्रयोग गराउन मिल्दैन ?

अहिलेसम्म हामीले नगद झिक्न, ब्यालेन्स थाहा पाउन र मिनि ब्यालेन्ससिट झिक्ने जस्ता सिमित कार्यको लागि मात्रै एटिएम प्रयोग गरिरहेका छौं । नगद जम्मा गर्न प्रयोग हुने एटिएम पनि हुन्छन् । यसअघि कुनै एउटा बैंकले (सायद एभरेष्ट बैंकले) नगद जम्मा गर्न पनि मिल्ने एटिएम ल्याएको थियो । त्यसको प्रयोग त्यति भएन भन्ने मैले सुनको छु ।

विभिन्न देशहरु क्यासलेस सोसाइटीको अवधारणामा गइसकेका छन्, हामी पनि त्यो बाटोमा जानको लागि बैंकिङ क्षेत्रले के कस्तो नयाँ प्रविधि अंगाल्नु पर्छ ?

यो काम तत्काल होला भन्ने होइन । क्यासलेस सोसाइटीमा जाने तर्फ काम नभएका पनि होइनन् । डेविट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, इन्टर बैंक कारोवार, इलेक्ट्रोनिक्स चेक क्लियरिङ जस्ता कार्यहरु हामीले गरिरहेका छौं । राष्ट्र बैंकले पेमेन्ट एण्ड सेटलमेन्ट विभाग नै खडा गरेर आरटिजिएसमा जाने लगायतका कामहरु गरिरहेको छ । यो काम जनस्तरसम्म पुर्याउनको लागि सर्वसाधारणको कन्फिडेन्स लेबल पनि बढ्नु पर्यो । र, प्रविधिको प्रयोग गर्दा आइपर्ने जोखिम न्यूनिकरणका उपाय र प्रविधिको पनि विकास हुनुपर्यो ।

नेपालका एटिएम सुरक्षित छैनन् भन्ने मान्न म तयार छैन । जति पनि गलत काम भए त्यो हामीले प्रयोग गरेको सुरक्षा विधि र प्रविधिले नै समातेको हो ।

पहिलो कुरा त नेपालमा पेमेन्ट गेटवे नै राम्रो छैन । कार्डबेस्ट कारोवार गर्दा हामी अहिले पनि सिमित कारोबार मात्रै गरिरहेका छौं । यी कुराहरु समयक्रममा विकास हुदै जाने कुराहरु हुन् । नयाँ पुस्ताले प्लाष्टिक मनीको प्रयोगलाई बढावा दिइरहेको छ । यो पुस्ताको विकासले पनि प्रविधि प्रयोगलाई सहज र स्वीकार्य बनाउँछ । विकसित देशहरुमा हेर्नु भयो भने पनि ६५ बर्षभन्दा माथिका नागरिकले नगद कारोबार गर्न नै रुचाउँछन् । तर त्यो भन्दा कम उमेरको मानिसले नगद बोक्नु पनि जोखिम हो भन्ठान्छ र नगद कारोवार गर्दैन । यो कुरा देशको नीतिले पनि निर्धारण गर्छ होला । अबको हाम्रो गन्तब्य क्यासलेस सोसाइटी तर्फकै हो भन्नेमा अब शंका बाँकी छैन ।

नेपालका एटिएमको सुरक्षाको बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि बेला बेलामा प्रश्न उठाउने गरेको छ, अवस्था यस्तै हो ?

प्रहरीले शंका गर्ने गरेको छ भन्ने तर्कसँग म सहमत छैन । नेपालका एटिएम अत्यन्तै सुरक्षित छन् । अहिले केही घटना भए भन्दैमा यस्तो दोस लगाउन मिल्दैन । यत्रो बर्षसम्म केही भएको थिएन । जसले गलत काम गरेका थिए, उनीहरु पक्राउ पनि परे । पैसा लिएर भागिहालेको, बैंक नै डुबाइहालेको अवस्था होइन । अन्तराष्ट्रिय बजारमा पनि यस्ता सानातिना कुराहरु भइरहन्छन् । प्रविधि प्रयोग भइसकेपछि सानातिना जोखिमहरु त्यो प्रविधिसँगै आउछन् । हामीले त्यसको सुरक्षाका विधिहरु अपनाउने हो ।

तर साच्चै भन्ने हो भने नेपालमा एटिएम सेवा निकै महंगो हुदै गएको छ । सिसी टिभी राख्नै पर्यो, सुरक्षा गार्ड चाहिहाल्यो । सुरक्षा प्रबन्ध गर्नै पर्यो । जति खर्च गरिएको छ, त्यसको अनुपातमा भएको कारोवारले बैंकलाई खासै फाइदा भएको छैन । नेपालका एटिएम सुरक्षित छैनन् भन्ने मान्न म तयार छैन । जति पनि गलत काम भए त्यो हामीले प्रयोग गरेको सुरक्षा विधि र प्रविधिले नै समातेको हो । विदेशमा त एटिएम मेसिन नै चोरेर लाने गरेका उदाहरण पनि छन् ।

gyanandra-dhungana-2विदेशको अर्को उदाहरण पनि म दिन्छु । भिडभाड हुने डिपार्टमेन्ट स्टोरमा सपिङ गरियो । अनि भुक्तानी गर्नको लागि त्यहाँ राखिएको एटिएममा कार्ड राखियो । कार्ड आएन । अनि कार्ड होल्डर बैंकमा गुनासो गर्न गयो । अनि बैंकले भन्छ कि त्यहाँ त हाम्रो एटिएम नै छैन । यो सव ठगहरुले गरेको हुन्छ । अनि उसले ग्राहकको कार्डवाट डाटा चोरी गरेर खातावालाको पैसा समेत चोर्न भ्याइसकेको हुन्छ । दुनियामा यस्तो पनि हुन्छ ।

यस्तै इन्टरनेट बैंकिङको कारोवारमा पनि हुने गरेका छन् । चोरहरुले बैंकको नक्कली वेबसाइट नै बनाउछन् । तपाइ त्यसको साइडमा जानु हुन्छ । आफ्नो पिन राख्नु हुन्छ । कारोबार गर्नुहुन्छ । तर कुनै कारण देखाएर कारोवार असफल भएको देखाउछ । तपाइ पछि गरौला भनेर अर्को काममा लाग्नुहुन्छ । त्यो बेलासम्ममा चोरले तपाइको खाताबाट पैसा चोरिसकेको हुन्छ । यस्ता घटना पनि हुने गरेका छन् ।

यस्ता विषयमा ग्राहकपनि सचेत हुनुपर्छ । अहिले हाम्रा एटिएमबाट पैसा चोरिएको सानो क्यामेरा राखेर पिन नम्बर चोरी गरेर भएको न हो । एटिएममा अर्को कुनै शंकास्पद बस्तु देख्ने वित्तिकै ग्राहक सचेत भएको भए यस्तो अवस्था आउने थिएन । यस्तै कार्ड राख्ने ठाउमा अर्को कालो प्लाष्टिक राखेर फोटो खिचेर लाने गरेका छन् । यो कुरा ग्राहकले राम्ररी हेरेको भए यस्तो हुने थिएन ।

यसबाट बैंक, ग्राहक र नियामक सबैले पाठ सिकेका छन् । मैले भन्ने गरेको छु कि प्रत्येक दिन बैंकको मान्छेले एटिएम पुगेर निरिक्षण गरेकै हुनुपर्छ । यसमा मिडियाको पनि कमजोरी मैले देखेको छु । ठूलो कारोवार भएर ग्राहकले पैसा गुमाएको अवस्था अझै छैन । मिडियाले बढी अतिरन्जना गरे ।

एटिएम काउन्टर भित्र छिरेर कसले के काम गरिरहेको छ भन्ने मनिटरिङ कसरी हुन्छ ?

त्यहाँ राखिएको सिसी टिभीको माध्यमले हामीले नियालिरहेका हुन्छौं । यसको ब्याकअप त्यही हुन्छ । त्यसको लिंकेज केन्द्रीय कार्यालयको प्रणालीमा हुन्छ । सुरक्षाका सामान्य विधि ग्राहक आफैले पनि अपनाउन सक्छन् । जस्तो पासवर्ड हान्ने बेलामा आफ्नै हातले माथिवाट ढाक्ने र बुथवित्र वा मेसिनमा कुनै शंकास्पद बस्तु छ छैन भनेर नियालेर कारोवार सुरु गर्ने हो भने सुरक्षित कारोवार हुन्छ ।

हामीले अहिलेसम्म भोगेको एटिएम जोखिम मात्रै भयो, यो बाहेकका प्रविधिसँग सम्बन्धित के कस्ता जोखिम हुन सक्छन् ?

धेरै छन् । जस्तो सर्वरमै ह्याक गरिदिने जस्तो कार्य पनि हुन्छ । केही समय अघि बंगलादेशको केन्द्रीय बैंकवाट यसैगरी रकम चोरी भएको थियो । इन्टरनेट बैंकिङ कारोवारमा ह्याक गरेर डाटा चोरी हुन्छ । स्वीफ्टमै जोखिम हुन सक्छ । यस्ता धेरै प्रकारका जोखिम हुन्छन् । बैंकिङ सजिलो छैन । तर पनि ती जोखिम कम गर्ने र सुरक्षा प्रबन्ध बढाउदै जाने हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स