प्रचण्डले भने– प्रदेश ५ को राजधानी दाङ बन्छ

119
Shares

घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताएका छन् । उनले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पारे ।

प्रेस सङ्गठनले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गरे । अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई समेत सामान्य भएको बताए । “सरकारले लचिलो भएर मात्रै उनीहरुलाई दुई वर्ष काम गर्न दिएको हो, होइन भने पहिले नै पदमुक्त गर्न सकिन्थ्यो, सबैसँग मिलेर जाऊँ भनेर केही समय काम गर्न दिएको हो ।”

उनले उपनिर्वाचन सफल बनाउन नेता÷कार्यकर्तालाई लाग्न अनुरोध गर्न आफू यहाँ आइपुगेको बताए । “उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ”, उनले भने, “सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।”