सुरुङमार्गः समृद्धिको कोशेढुङ्गा
काठमाडौं । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ ।
सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले सो संरचना इतिहासमा पहिलो बन्ने भएको छ । दुई सुरुङ र एउटा ‘फ्लाई ओभर’ बन्ने उक्त सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभइ नेपालकै समृद्धिमा विशेष योगदान गर्नसक्ने देखिएको छ ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा सुरुङमार्गको लगानी आगामी सात वर्षमा उठ्ने उल्लेख छ ।
नेपालको पहिलो आधुनिक सुरुङमार्ग र पहिलो ‘फ्लाई ओभर’ लाई काठमाडौँ प्रवेशमार्गमा हुने सवारी जाम हटाउने समाधानका रुपमा हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेसँगै यसको निर्माण अघि बढेको छ । प्राविधिक दृष्टिकोणले पाँच सय मिटरभन्दा बढी लम्बाइको सुरुङमार्गलाई आधुनिक मानिन्छ । यस्ता सुरुङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको समेत व्यवस्था मिलाइन्छ ।
नेपालमा ५०० मिटरभन्दा कम लम्बाइका तीन सुरुङमार्ग भए पनि त्यसभन्दा बढी लम्बाइको यसलाई नै पहिलो सुरुङमार्ग मानिन्छ । झण्डै डेढदशक पहिले कल्पना गरिएको भए पनि आर्थिक व्यवस्थापनलगायतका कारणले सुरुङमार्ग निर्माणको योजना बन्न सकेको थिएन । जाइकाले आर्थिक र प्राविधिक सहयोग गर्ने भएसँगै सरकारसँग गत महिना निर्माण सम्झौता भएको थियो । गत महिना सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता गरिएको थियो ।
सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिक रुपमा हुने जाम हट्ने सडक विभाग, विकास समन्वय कार्यन्वयन महाशाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । सो स्थानमा सयौँको सङ्ख्यामा सवारीसाधन र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।
‘त्यस सडकका हिसाबले सुरुङमार्गभन्दा उपयुक्त अरु समाधान देखिएको छैन,’ उनले भने ।
बयालिस महिनाको अवधिमा निर्माण सम्पन्न गर्न पर्याप्त समय भएको विभागले बताउँदै आएको छ । कम्पनीका प्रतिनिधि अहिले आवश्यक सामग्री ल्याउन जापान गएका र उताबाट फर्किएलगतै आगामी साताबाट काम शुरु गरिने उनले बताए । निर्माण कम्पनीलाई आवश्यक उपकरणको व्यवस्थापन गर्न झण्डै छ महिना लाग्छ ।
‘यो अवधि पनि यही ४२ महिनाभित्रै पर्छ,’ उनले भने ।
आयोजना अन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङको निर्माण हुनेछन् । दुई ‘फ्लाई ओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो । अन्तरराष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ ।
तीन लेन नपुगेपनि मुख्य सुरुङमार्गमा ३ सवारीसाधन सहजै आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक टर्नेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशका द्वार बन्नेछन् । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने प्रमुख थापाले बताए । कमजोर ढुङ्गा माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने प्रमुख थापाले बताए ।
सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका कक्ष हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेशी नगरपालिकालाई नै हस्तान्तरण गरिनेछ ।
‘केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्न सक्नेछ,’ उनले भने ।
निर्माणमा जनशक्ति, उपकरणसँगै सहायक ठेक्कामा नेपाली ठेकेदार संलग्न हुने बताइएको छ । कम्पनीले ठूला र जटिल उपकरण जापानबाटै ल्याउने तथा सम्भव भएसम्मका उपकरण यहीँको प्रयोग गर्ने बताएको प्रमुख थापाले बताए ।
पेटी ठेक्कामार्फत साना–साना कामका लागि नेपाली कम्पनीलाई जिम्मेवारी दिइने उनले जानकारी दिए। हाजमालगायतका अधिकांश जापानी निर्माण कम्पनीले नेपालमा सम्पन्न गरेका वा अहिले काम भइरहेका आयोजनामा समस्या नपाइएको प्रमुख थापाले बताए । सोही कम्पनीले यसअघि पोखरामा खानेपानी आयोजना, विसं २०७२ को भूकम्पपछि सिन्धुलीलगायतका जिल्लामा विभिन्न निर्माणका काम गरेको थियो ।
अहिलेसम्म निर्माणका क्रममा ढिलाइ वा निर्माणमा त्रुटि नपाइएको थापाले बताउनुभयो । जाइकाको ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु गरिएको थियो । यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।
प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । करीब ६अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने प्रमुख थापाले जानकारी दिए । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।
धादिङको धुनिबेँशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि शुरु गरिनेछ । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुनलागेको हो । सुरुङमार्गका गत लागि असोज ६ गते जापानस्थित हाजमा आङ्दो कर्पोरेशनसँग सम्झौता भएको थियो ।