होटल र रेष्टुराँमा ओइरिए चिनियाँ लगानीकर्ता, ३ महिनामै साढे ५ अर्ब लगानी गर्ने प्रतिवद्धता



काठमाडौं । पर्यटन वर्षको पूर्वसन्ध्यामा चिनियाँ लगानीकर्ताहरु नेपालमा होटल तथा रेष्टुराँमा आकर्षित भएका छन् । चालु आर्थिक वर्षको ३ महिनामा चीनबाट मात्रै ३६ वटा होटल तथा रेष्टुराँमा साढे ५ अर्ब रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार गत साउन १ गतेदेखि कात्तिक ४ गतेसम्म चिनियाँ लगानीकर्ताहरुले ५ अर्ब ६२ करोड रुपैयाँ लगानीको प्रतिबद्धता जनाएका छन् ।

चिनियाँ लगानीकर्ताबाट चालु आवको ३ महिनामा सबै क्षेत्रमा गरी कुल १० अर्ब ३४ करोड ९० लाख रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । जसमध्ये सबैभन्दा ५४ प्रतिशत लगानी पर्यटन क्षेत्रमा भएको छ । पर्यटन क्षेत्रमा पनि होटल र रेष्टुराँ छन् ।

३६ वटामध्ये एउटा होटलमा मात्रै नेपाली लगानीकर्ता साझेदार छन् । जसको १० प्रतिशत मात्रै लगानी हुनेछ । भने बाँकी सबै ३६ वटा होटल तथा रेष्टुराँमा शतप्रतिशत चिनियाँ लगानी हुनेछ । ३६ वटा होटल तथा रेष्टुराँबाट १ हजार ४९८ जनाले रोजगार पाउनेछन् ।

३ महिनामा आएको प्रतिबद्धता अनुसार सबैभन्दा ठूलो चिनियाँ लगानीमा काठमाडौंमा मार्गरेट होटल एन्ड रेष्टुराँ सञ्चालनमा आउनेछ । जसमा चिनियाँ पक्षको ३० करोड रुपैयाँ लगानी हुनेछ । होटलमा ४८ वटा बेड हुनेछन भने रेष्टुराँमा ६० जना बस्ने क्षमताको हुनेछ ।

चिनियाँ लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँदेखि ३० करोड रुपैयाँसम्म लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालमा वर्षेनी चिनियाँ पर्यटकको संख्या बढ्दै जाँदा चाइनिज रेष्टुराँ खुल्ने क्रम समेत बढेको छ । जसमा नेपाली लगानीकर्तासँगै पछिल्लो समयमा चिनियाँ लगानीकर्ता समेत रेष्टुराँमा आकर्षित भएका छन् ।

सन् २०१८ को तथ्यांक अनुसार नेपालमा झण्डै २ लाख ४० हजार चिनियाँ पर्यटक भ्रमणमा आएका थिए ।

यो संख्या वर्षेनी बढ्दो क्रममा छ । गत महिना चिनियाँ राष्ट्रपति सी जिनफिङको ऐतिहासिक राजकीय भ्रमणपछि चिनियाँ पर्यटक अझ बढ्ने अनुमान गरिएको छ ।

विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणपछि चिनियाँमा राम्रो सन्देश गएकाले चिनियाँ पर्यटक समेत बढ्ने आँकलन गरिएको छ ।

त्यस्तै, गत कात्तिक १० गतेदेखि नेपालबाट हिमालयन एयरलाइन्स र मंसिरबाट नेपाल वायू सेवा निगमले चीनमा सिधा उडान गर्ने भएकाले पनि चिनियाँ पर्यटक उल्लेख्यरुपमा वृद्धि हुने अनुमान गरिएको छ ।

यसअघि ५ वटा चिनियाँ विमान कम्पनीहरुले मात्रै नेपालमा एकोहोरो उडान गर्दै आएका थिए । नेपाली विमान कम्पनीले समेत चीनमा उडान गर्न थालेसँगै चिनियाँ पर्यटक बढ्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।


पुष्प दुलाल