बैंकबाट ऋण लिनेलाई खुसीको खबर, ब्याजदर घट्यो



काठमाडौं । तपाईं बैंकबाट ऋण लिने तयारीमा हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । ऋणको ब्याजदर घटेको छ । बैंकहरुको आधार दर घटेसँगै ऋणको ब्याजदर पनि घटेको हो ।

बैंकहरुमा तरलता अभावको समस्या कायमै भएपनि ब्याजदर भने ०.५ प्रतिशतले घटेको हो । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको भदौमा बैंकहरुको आधार ब्याजदर (बेस रेट) गत आर्थिक वर्षको भदौको भन्दा ०.५ प्रतिशतले घटेर ९.५३ प्रतिशतमा झरेको छ । गत अर्थिक वर्षको भदौ महिनामा बैंकहरुको बेस रेट १०.०३ प्रतिशत थियो ।

बेस रेट घटेसँगै बैंकहरुको औषत ऋणको ब्याजदर गत वर्षको भदौमा १२.३१ प्रतिशत रहेकोमा यो भदौमा घटेर ११.९७ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षकै साउन महिनामा ऋणको औषत ब्याजदर १२.०८ प्रतिशत थियो । साउन महिनाको तुलनामा भदौ महिनामा ०.११ प्रतिशतले घटेको हो ।

ट्रेजरी बिलको ब्याजदर पनि घटेको छ । २०७५ भदौमा ९१-दिने ट्रेजरी विल्सको भारित औषत ब्याजदर २.७४ प्रतिशत रहेकोमा २०७६ भदौमा २.७३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औषत ब्याजदर २०७५ भदौको १.६८ प्रतिशतको तुलनामा २०७६ भदौमा १.६९ प्रतिशत कायम भएको छ ।

बैंकहरुले निक्षेपमा तिर्ने ब्याज दर भने बढेको छ। गत वर्षको भदौसम्म निक्षेपको औषत ब्याज ६.३ प्रतिशत थियो भने यो भदौमा बढेर बढेर ६.८ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । निक्षेपको ब्याजदर बढ्दा आम निक्षेपकर्तालाई फाइदा भएको छ भने कर्जाको ब्याजदर बढ्दा बैंकबाट कर्जा लिनेहरुलाई पनि फाइदा भएको छ ।

तर, अझै पनि बैंकहरु तरलता अभावको मारमा रहेकाले सहजै कर्जा पाउन भने मुस्किल छ ।


पुष्प दुलाल