दशैंका लागि हवाई उडान ५० प्रतिशत थपियो, यात्रुलाई भयो सहज



काठमाडौं । दशैं मान्न राजधानीबाट बाहिरी जिल्लामा जाने यात्रुहरुको चाप अत्यधिक भएसँगै वायुसेवा कम्पनीहरुले उडान संख्या थप गरेका छन् ।

वायूसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलले हवाई यात्रा गर्ने यात्रुको संख्या बढी भएपछि उडान संख्या थप गरिएको हो ।

उनले क्लिकमाण्डूसँग भने, ‘यात्रुको चापलाई ध्यानमा राख्दै सुरुमा २० र पछि ३० प्रतिशत गरी ५० प्रतिशत उडान थप गरिसकेका छौं, यसले यात्रुलाई सहज भएको छ ।’

उनका अनुसार आवश्यक परेको खण्डमा विमानस्थल कार्यालयमा निवेदन दिएर थप उडान गर्न समेत सकिने जानकारी दिए ।

कँडेलका अनुसार दशैंलाई लक्षित गरी आपतकालिन अवस्थामा समेत उद्दारका लागि हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको छ ।

राजधानीबाट दशैं मनाउने विभिन्न जिल्लामा बाहिरिने संख्या बढेको छ । घटस्थापनायता हालसम्म १४ लाख मानिसहरु राजधानी छाडेर बाहिरी जिल्ला पुगिसकेका छन् ।

कँडेलका अनुसार अहिले बाहिरबाट राजधानी आउने अकुपेन्सी औसतमा १० प्रतिशत छ भने राजधानीबाट बाहिरिँदा अकुपेन्सी शतप्रतिशत छ ।

केही वर्षयता हवाई मार्ग भइ बाहिरिने यात्रुहरुको संख्या निकै बढेको छ । सडक मार्गमा अत्यधिक जाम र सुरक्षाका दृष्टिले पनि हवाई यात्रा गर्ने यात्रुहरु बढेका छन् ।

राजधानीबाट बाहिरिने मुख्य सडक नाका नागढुंगा–नौबिसे सडक खण्डमा बाटो मर्मत भइरहेको तथा अत्यधिक सवारीको चापले जाम हुँदा यात्रुले हैरानी बेहोर्दै आएका छन् ।


क्लिकमान्डु