कर्मचारीको संलग्नतामा कृषि विकास बैंकको २ करोड रुपैयाँ चोरी भयो



काठमाडौं । बैंकका कर्मचारीको संलग्नतामा कृषि विकास बैंकको २ करोड रुपैयाँ चोरी भएको छ । मंगलबार दिउँसो रकम चोरी भएपछि बैंक व्यवस्थापनले थाहा पायो । र, तत्कालै केन्द्रिय कार्यालयबाट ३ जनाको टोली खटायो ।

४ करोड रुपैयाँ भुक्तानी आदेश दिइएकोमध्ये २ करोड रुपैयाँ झिकिएको छ ।

घटनामा सिराहाको लाहान शाखामा कार्यरत कर्मचारीको युजनर नेम र पासवर्ड प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । लाहान शाखाबाट अनलाइन सिस्टममार्फत् भुक्तानीको अर्डर दिई विभिन्न स्थानबाट रकम निकालिएको छ ।

‘यसरी चोरी भएको रकम ७ जनाको खातामा ट्रान्सफर भएको देखिन्छ,’ बैंक स्रोतले भन्यो, ‘३ जना पक्राउ परेका छन्, प्रहरीले छानविन गरिरहेको छ ।’

पक्राउ परेकाहरुबाट केही रकम बरामद गरिएको प्रहरीले जनाएकोछ । चोरीमा संलग्नले बैंकको ब्यालेन्सिट नै तलमाथि गरेका छन् ।

‘सर्बसाधारणको रकम झिकिएको छैन, बैंकको खातामा भएको रकम झिकिएको हो,’ स्रोतले भन्यो, ‘यो घटनाले सर्वसाधारण निक्षेपकर्तालाई कुनैपनि असर गर्दैन ।’

प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजानिक गरेको छैन ।

‘प्रारम्भिक अनुसन्धान भइरहेको छ, दर्जन बढीको संलग्नता देखिन्छ, हामीले खोजी कार्य तीब्र बनाएका छौं,’ प्रहरी स्रोतले भन्यो ।


पुष्प दुलाल