नेपाल एयरलाइन्सको सस्तो टिकट पनि बिकेन, यात्रु नपाउँदा क्यान्सिल भयो फ्लाइट




काठमाडौं । झण्डै १२ वर्षपछि जापानको ओसाकामा उडान सुरु गरेको नेपाल एयरलाइन्सले एक सातामै नियमित उडान रद्द गरेको छ ।

सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तयारीसँगै भदौ १२ गते बिहीबारदेखि उडान सुरु गरेको नेपाल एयरलाइन्सले एक सातापछि भदौ १९ बिहीबार गतेको उडान रद्द गरेको हो ।

निगमले अब सातामा तीन दिनको उडानलाई हटाएर अब २ दिन मात्रै गर्नेछ । निगमले बिहीबारको उडानलाई हटाउँदै मंगलबार शनिबार मात्रै उडान गर्ने जानकारी दिएको छ ।

यात्रु आकर्षित गर्नका लागि एक महिनासम्म प्रमोसनल फेयर भन्दै सस्तो दरमा टिक उपलब्ध गराए पनि यात्रुलाई भने आकर्षित गर्न नसक्दा नेपाल एयरलाइन्सले चौथौ फ्लाइट नै क्यान्सिल गर्नुपर्यो ।

सुरुमा ओसाका जाने यसले गर्दा नेपाल एयरलाइन्सको आलोचना कम हुने अपेक्षा गरिए पनि कमजोर मार्केटिङ र व्यवस्थापन हुँदा आशातित प्रगति भने गर्न सकेको छैन ।

सुरुमा ओसाकामा देखावटी उडान र पछि नारितामा नियमित उडान गर्ने लक्ष्य लिएको निगमले ओसाकामा समेत राम्रोसँग उडान गर्न नसकेको स्पष्ट देखिन्छ । यसै रुटमा थाइ एयरलाइन्स, चाइना साउर्थन, मलेसियन एयरलाइन्सले भने नियमित उडान गरिरहेका छन् ।

सातामा तीन दिन उडान गर्ने गरी तालिका बनाए पनि यति छिट्टै सातामा २ वटा मात्रै उडान गर्ने योजना बनाउनु नेपाल वायू सेवा निगमको कमजोरी कतिसम्म छ भन्ने स्पष्ट दखिन्छ ।

सुरुको उद्घाटन उडानमा पनि जम्मा ७० जना यात्रु बोकेर जापान उडेको विमानले फर्कदाँ ४६ जना जति यात्रु बोकेर फर्किएको थियो । २७४ सिट क्षमता भएको विमानले पहिलो उडानमै १ करोडभन्दा बढी घाटा बेहोरेको थियो ।

एकातिर किस्ता तिर्न नसकेर घाटामा गइरहेको विमानले थप सञ्चालन खर्च समेत उठाउन नसकेपछि यतिबेला निगमको आलोचना थप चुँलिएको छ ।

निगमले जापानसँगै चीनको ग्वाञ्जाओ र बेइजिङमा पनि उडानको योजना बनाएको छ । यद्यपि, चीनले सेफ्टी अडिट गरेपछि मात्रै उडानको अनुमति दिने वा नदिने निर्णय दिनेछ ।

त्यसबाहेक साउदी अरब र दक्षिण कोरियामा पनि उडान गर्न सकिने योजना नेपाल एयरलाइन्सको छ । तर अन्य देशका तुलनामा साउदी अरबमा केही सहज भए पनि सेफ्टी अडिटमा दक्षिण कोरियाको सर्त पूरा गर्न नेपाली एयरलाइन्सलाई गाह्रो हुने निगमको बुझाइ छ । त्यसैले तत्कालै दक्षिण कोरियाका लागि निगमले कुनै योजन बनाएको छैन ।

यसअघि सन् २००७ मा काठमाडौं-चीन-ओसाका उडान बन्द भएको थियो । सन् १९९४ देखि ओसाका उडान गर्दै आएको नेपाल एयरलाइन्सले विभिन्न कमजोरी कारण तत्कालिन अवस्थामा उडान बन्द गरेको थियो ।


क्लिकमान्डु