सस्ता इलेक्ट्रिक स्कुटरमा बढ्यो आकर्षण, यी कम्पनीले ल्याए यस्तो अफर



काठमाडौं । राजधानीका सडकमा केही समययता ई-स्कुटर पनि देखिन थालेका छन् ।

पर्यावरणीय दृष्टि तथा तेलको विकल्पका रुपमा देखिएका ई-स्कुटरहरु दशक अगाडिदेखि राजधानी भित्रिए पनि सडकमा भने केही समययता बाक्लो उपस्थिती देखाउन थालेका छन् ।

जसको प्रभाव राजधानीमा चलिरहेको ‘नाडा अटो शो-२०१९’ मा देखिएको छ । वायु र ध्वनी प्रदूषण नहुने तथा मर्मत खर्च निकै कम लाग्ने भएकाले उपभोक्ताको रोजाइमा पर्न थालेसँगै विभिन्न कम्पनीहरुले ई–स्कुटरमा ध्यान दिएको देखिन्छ ।

तेलमा हुने मूल्यवृद्धि तथा अभावको विकल्पमा देखिएको विद्युतीय स्कुटर चार्जिङमा पनि विकास गरिसकेका छन् । कम्पनीहरुले मोबाइल फोन चार्ज गरे जस्तै गरी चार्ज गर्न मिल्ने समेत बनाइसकेका छन् ।

नाडामा विद्युतीय स्कुटर किन्नेहरुलाई विभिन्न ब्राण्डहरुले १५ हजारदेखि २० हजार रुपैयाँसम्म मूल्यमा छुट समेत दिएका छन् ।

पेट्रोलभन्दा निकै कम शुल्कमा विद्युतमा चार्ज गर्न मिल्ने भएकाले पनि विशेष गरी युवाहरुको आकर्षण यसतर्फ बढीरहेको छ । परम्परागत रुपमा हेर्दा स्कुटर महिलाले प्रयोग गर्छन भन्ने सोच थियो तर अहिले पुरुषहरु पनि स्कुटरमा उत्तिकै गुडेको देखिन्छ । विषेशतः स्कुटर प्रयोगकर्ता युवाहरु संख्या बढ्दो छ ।

नयाँ-नयाँ मोडल र आकर्षक डिजाइनमा उपलब्ध विद्युतीय स्कुटरहरु नेपाली बजारमा भित्रिएसंगै उनीहरुको यसतर्फ आकर्षण बढेको हो ।

नाडा अटो शो २०१९ लाई लक्षित गरी जिनियस ब्राण्ड, युनि ब्राण्ड, अप्रिला ब्राण्ड, सुपर सोको ब्राण्ड, मियामालगायतका ब्राण्डहरुले विभिन्न कम्पनीका विद्युतीय स्कुटर प्रदर्शनी तथा बिक्रीका लागि राखेका छन् ।

मेलामा राखिएका अधिकांश विद्युतीय स्कुटरको अवलोकनकर्ताहरु युवाहरु नै छन् । बढ्दो पेट्रोलियम पदार्थको मूल्यको कारणले गर्दा पनि विद्युतीय स्कुटरमा आकर्षण र यसको माग नेपालमा नेपालमा बढ्दो छ ।

नाडा अटोका विद्युतीय स्कुटर

नाडा अटो शो २०१९ मा सामान्य आयस्रोत भएका व्यक्तिहरुले पनि खरिद गर्न सक्ने स्कुटरहरु प्रर्दशनी तथा विक्रीमा राखिएका छन् ।

राष्ट्र बैंकले विद्युतीय सवारी खरिदमा बैंकहरुलाई ८० प्रतिशतसम्म अटो लोन प्रवाह गर्न पाउने अनुमती दिएको छ । सोही अनुसार अधिकांश बैंकहरुले पनि विद्युतीय सवारी खरिद गर्ने ग्राहकहरुलाई कर्जामा सुविधा दिइरहेका छन् ।

तर केही विद्युतीय स्कुटर बिक्री गर्ने ब्राण्डले भने शुन्य प्रतिशत ब्याजदरमा ५० प्रतिशतसम्म डाउनपेमेन्ट गरी विद्युतीय स्कुटर बिक्री गरेका छन् । शुन्य प्रतिशत ब्याजमा कर्जाको ब्यवस्था मिलाई विद्युतीय स्कुटर बिक्री गर्नेमा मियामा ब्राण्ड छ ।

यो ब्राण्डले एनआइशी एशिया बैकसँग सम्वनय गरी ग्राहकहरुलाई अटो लोनको व्यवस्था गरिदिएको हो ।

१) जिनियस ब्राण्ड

जिनियसले यस पटकको नाडामा एक्सएन १२२३ मोडेल र एलटी १५२ मोडेलका २ वटा मोडेलमा विद्युतीय स्कुटर ल्याएको छ । काठमाडौं उपत्यका तथा यसका आसपासका जिल्लाहरुको सडकलाई लक्षित गरी जिनियसले यी स्कुटरहरु नेपाल भित्राएको हो ।

एक्सएन १२२३ मोडेलको मूल्य १ लाख ८९ हजार रुपैयाँ र एलटी १५२ मोडेलका स्कुटरको १ लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको छ । यी दुबै स्कुटर एक पटक पूरा चार्ज गरेपछि ८० किलोमिटरसम्म गुड्छ । स्कुटर फूल चार्ज गर्न ४ देखि ५ घण्टा लाग्छ । एक पटक फूल चार्ज गर्दा २ युनिट विद्युत खपत हुन्छ ।

स्कुटरको ब्याट्रीको आयु भने ५ वर्ष रहेको कम्पनीले बताएको छ । कम्पनीले स्कुटरको पाट्र्स तथा ब्याट्रीमा भने २ वर्षको वारेन्टी दिएको छ । डाउनपेमेन्टमा यी स्कुटर खरिद गर्ने चाहने ग्राहकहरुका लागि जिनियस ब्राण्ड नविल बैंक, सिभिल बैंक र माछापुच्छ्रे बैंकसँग फाइनान्सको सुविधाहरुमा सहकार्य गरेको छ ।

२) सुपर सोको ब्राण्ड


नाडा अटो शोका अवलोकनकर्ताहरुलाई सुपर सोको ब्राण्डले ल्याएको सियू प्लस, सियूएक्स र सियूएक्स डुकाटी एडिसन स्कुटरले आर्कषित गरेको छ ।

सुपर सोको ब्राण्डले ल्याएका स्कुटरहरुमा क्रमश  २ लाख २ हजार रुपैयाँ, २ लाख ९८ हजार रुपैयाँ र ३ लाख ४८ हजार रुपैयाँ मूल्य तोेकेको छ । यी विद्युतीय स्कुटरका ब्याट्रीमा २ वर्षका वारेन्टी कम्पनीले दिएको छ ।

उपत्यकाभित्रका सडकहरुलाई लक्षित गरिएका स्कुटरहरु सामान्यतयाः अन्य विद्युतीय सामान चार्ज गरे झैं गरी चार्ज गर्न सकिने बताइएको छ । यी स्कुटरहरुले ५ देखि ६ घण्टामा १० युनिट खपत गरी फूल चार्ज हुन्छ भने एकपटकको फूल चार्जले ७५ किलोमिटरसम्म कुदाउन सकिन्छ ।

डाउनपेमेन्टमा स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई एनएमबि बैंक र नविल बैंकमा अटो लोनको व्यवस्था सुपर सोको ब्राण्डले नै गरेको छ ।

३) मियामा ब्राण्ड


मियामा ब्राण्डले जापनिज कम्पनीले उत्पादन गरेको एलवाई १, जेवाई १, एसडी १, सिजेवाई १ र टिएन ६ मोडेलका विद्युतीय स्कुटरहरु नाडा अटो शोमा राखेको छ ।

यी विद्युतीय स्कुटरको मूल्य क्रमश : १ लाख ६५ हजार रुपैयाँ, १ लाख ६८ हजार रुपैयाँ र १ लाख ४९ हजार रुपैयाँ राखेको छ । यी स्कुटरहरुका ब्याट्रीलाई ४ देखि ६ घण्टमा शुन्य प्रतिशत चार्जबाट १०० प्रतिशत चार्ज गर्न सकिने र एकपटक फूल् चार्ज भइसकेपछि ८० किलोमिटरसम्म कुदाउन सकिने मियामाले जनाएको छ । उक्त स्कुटरहरुको ब्याट्रीमा १ बर्षको ग्यारेन्टी र मोटरमा २ वर्षको वारेन्टी कम्पनीले दिएको छ ।

४) निउ ब्राण्ड


निउले नाडा अटो शोमा चाइनिज कम्पनीका एन सिरिजको विद्युतीय स्कुटर बिक्री तथा प्रर्दशनमा राखेको छ । उक्त स्कुटर २ लाख ५४ हजार रुपैयाँ मूल्य तोकिएको छ । स्कुटर ४ देखि ६ घण्टा ३ युनिट विद्युत खपत गरी पूल चार्ज हुन्छ ।

एकपटकको चार्जले ८० किलोमिटर र १२.५ डिग्रीको उचाइसम्म कुदाउन सकिने निउ ब्राण्डका प्रतिनिधिहरुले बताए । सो स्कुटरको ब्याट्री र मोटरमा नै २ वर्षको वारेन्टी कम्पनीले दिएको छ ।

डाउनपेमेन्टमा स्कुटर खरिद गर्ने ग्राहकहरुको सहुलियतका लागि निउ ब्राण्डले हिमालयन, मेघा, नविल, माछापुच्छ्र्रे, सेञ्चुरी र ग्लोवल आइएमई बैंकमा अटो लोनको व्यवस्था गरिदिएको छ ।


क्लिकमान्डु