सरकारले समयमै निर्णय नगर्दा विद्युतीय सवारी ल्याउने सुन्दरको योजना अन्योलमा




काठमाडौं । विद्युतीय सवारी साधन भित्र्याउने तयारीमा रहेको सुन्दर यातायात प्रालि सरकारको निर्णयको कारण अन्योलमा परेको छ ।

भदौ ९ गतेभित्रमा पहिलो चरणमा ७ वटा बस ल्याउने तयारी रहेको सुन्दर यातायात सरकारले विद्युतीय भाडा कायम नगरेको र चार्जिङ स्टेसनको अनुमति नदिएकाले समस्यामा परेको हो ।

यातायातका अध्यक्ष भेषबहादुर थापाले सरकारले यी दुई विषयमा तत्कालै टुंगोमा पुर्याएको खण्डमा आफूहरुलाई काम गर्न सहज हुने बताए ।
थापाले भने, ‘अहिले तत्काल भाडादर कायम नभएको खण्डमा अन्य गाडीले लिए बराबरको भाडानै लिने छौं ।’

सुन्दरको चार्जिङ स्टेसन सितापाइला र सुकेधारामा छ । त्यसका लागि उर्जा मन्त्रालयले स्वीकृती दिनुुपर्ने छ ।

अहिलेसम्म अनुमति नपाएको कारण सञ्चानलनमा ल्याउन समस्या परेको अध्यक्ष थापाको भनाइ छ । यसका लागि उर्जामन्त्रीसँग पटक–पटक कुरा गरेको थापाले बताए ।

उनले भने, ‘मन्त्रालयबाट अनुमति नपाएसम्म भत्केकोपुलमा रहेको आफ्नै स्टेसनमा चार्ज गर्नेछौ ।’

सरकारले विद्युतीय सवारी भाडा निर्धारण गर्न संयोजक गठन गरेको र त्यो समितिले नियमावली बनाउने र त्यहीअनुसार भाडा कायम हुने थापाले बताए । सम्भवतः एक सातामा यो निर्णयमा हुने उनको विश्वास छ ।

उनका अनुसार पहिलो चरणमा ७ वटा गाडी सञ्चालनमा ल्याउने र ती गाडी सञ्चालनमा ल्याएको एक महिनाभित्रमा ११ वटा थप्ने कम्पनीको योजना छ ।

त्यस्तै, चालु आवमा २५ वटा गाडी ल्याउने तयारी रहेका उनले बताए ।

थापाका अनुसार ती गाडीमध्ये १८ वटा उपत्यकाभित्र सञ्चालनमा आउने छन् भने बाँकी बस प्रदेश नम्बर १ मा चल्नेछन् ।

सुन्दर यातायातका सवारी चल्नका लागि यातायात व्यवस्था विभागले पहिलो चरणमा केही रुटहरु समेत दिएको थापाले बताए ।

जसमा रिङरोड, नारायणथान–चक्रपथ हुँदै भैसेपाटी पुग्ने छ । अर्को गाडी गोंगबुबाट छुटेर भक्तपुरको सल्लाघारी पुगेर सोही रुट हुँदै फर्कने छ ।

यस्तै अर्को गाडी ढुंगेअड्डाबाट सुरु भएर अत्तर खेलमा रहेको नेपाल मेडिकल अस्पताल पुग्ने र सोही रुट हुँदै फर्कने छ ।

त्यहाँको पार्किङका लागि अस्पतालले व्यवस्था मिलाइसकेको थापाले बताए ।

थापाले विभिन्न स्कुलले अहिले ५० वटा गाडीको लागि अर्डर दिएको समेत बताए ।

उनका अनुसार राजधानीका २१ वटा स्कुलले ५० वटा बसका लागि २५ प्रतिशत अग्रिम भुक्तानी समेत गरिसकेका छन् ।

४० जनाको सिट क्षमता उक्त गाडी मूल्य १ करोड ६२ लाख रुपैयाँ लाग्नेछ । उक्त रकमका गाडी खरिद गर्दा १० लाख रुपैयाँ पर्ने विद्युत चार्जिङ मेसिन निशुल्क पाइने अध्यक्ष थापाले बताए । उक्त गाडीमा फुल चार्ज गरेपछि २६८ किलोमिटर गुडने बताइएको छ ।


क्लिकमान्डु