नेपाल बैंकले माग्यो सीईओ, तलब मासिक ३ लाख



काठमाडौं । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि विज्ञापन खुलाएको छ । लामो समयदेखि रिक्त उक्त पदपूर्तीका लागि बैंकले बुधबार विज्ञापन प्रकाशित गरेको हो ।

विज्ञापनमा २१ दिनभित्र बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा रहेको कम्पनीको सचिवालयमा आवेदन दिन सकिने जानकारी दिएको छ । प्रमुख कार्यकारी अधिकृतको तलब ३ लाख रुपैयाँ र कार्यसम्पादनमा आधारित प्रोत्साहन रकम तथा अन्य सुविधा प्रदान गरिने उल्लेख छ ।

जसमा न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन, बैकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अनतराष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तमिा १० वर्षको कार्य अनुभव गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

कार्यकारी प्रमुखको नियुक्तीको सम्बन्धमा बैंकले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्ने समेत उल्लेख गरिएको छ ।

आवेदकले आफू कुनै पनि राजनीति दलको सदस्य नभएको, बैंकसँगको ठेक्कापट्टा वा कुनै चल/अचल सम्पत्तिको सम्बन्धि कारोकारमा आफै वा आफ्नो परिवारको कुनै सदस्यको संलग्नता नभएको वा सो संस्थासँग निजी स्वार्थ नभएको हुनुपर्ने उल्लेख गरिएको छ ।

साथै, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको, टाट नपल्टेको वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको एवम दामासाहीमा नपरेको, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको वा त्यसतो सूचिबाट फुकुवा भएको तीन वर्ष पुगेको हुनुपर्ने उल्लेख छ ।

साथै, आवेदकले व्यवसायिक योजना ५ हजार शब्दमा नबढाइ उल्लेख गर्नुपर्नेछ ।


क्लिकमान्डु